चल्न योग्य भयो कृषि औजार कारखाना, तर बजेट दिँदैन सरकार
तंग्रिएको कृषि औजार कारखानामा मर्मत खर्च धान्नै मुस्किल
सम्झौतामा कारखाना मर्मतसम्भार गरी केन्द्रले एक वर्षभित्र सञ्चालनमा ल्याउने र १० वर्षसम्म सञ्चालनको जिम्मा केन्द्रलाई नै दिने उल्लेख छ।
वीरगन्ज : २०२४ साल फागुन २८ देखि वीरगन्जमा कृषि औजार कारखानाले उत्पादन नै सुरु गरेको थियो। रूसको आर्थिक सहयोगमा स्थापना भएको उक्त कारखानामा प्राविधिक र कर्मचारी गरी त्यसबखत नै ३ सय २५ जना कार्यरत थिए। सयभन्दा बढी प्रकारका कृषि औजार र कृषि यन्त्र उत्पादन गर्ने उक्त कारखानामा बजार मूल्यभन्दा आधा मूल्यमा किसानले औजार पाउँथे। बिग्रिए कारखानाले निःशुल्क मर्मत गरिदिने सुविधा नै थियो।
तर, अकस्मात कारखाना घाटामा गएको भन्दै २०५९ चैत ४ मा बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले बन्द नै गर्ने निर्णय गरेको थियो। मजदुरलाई उपदान दिएर घर पठाउँदै कारखाना बन्द गरियो। किसान बजारमा बढी मूल्यमा औजार किन्न बाध्य भए।
सरकार फेरिए, नयाँ योजना ल्याउने लहर पनि चले। यसै क्रममा पुनः चालू आर्थिक वर्ष २०७९/०८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखानाहरू सञ्चालन गरिने सरकारले घोषणा गर्यो। यो उद्योग पनि चल्ने आशा सबैमा पलायो। गत ३१ भदौको मन्त्रिपरिषद्को निर्णयअनुसार गत असोज ११ गते अर्थ मन्त्रालय र महावीर पुन नेतृत्वको आविष्कार केन्द्रबीचको कारखाना सञ्चालन गर्ने सम्झौता भयो।
सम्झौतामा कारखाना मर्मतसम्भार गरी केन्द्रले एक वर्षभित्र सञ्चालनमा ल्याउने र १० वर्षसम्म सञ्चालनको जिम्मा केन्द्रलाई नै दिने उल्लेख छ। कारखानाको मर्मतसम्भार लगायतमा लाग्ने खर्चको रकम नेपाल सरकारले उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख भयो। सम्झौताअनुसार पुनको टोली खटियो। एक वर्षको सट्टा पाँच महिनामा नै परीक्षण उत्पादन गर्न सफल पनि भए। तर, सरकारले एक रुपैयाँ पनि बजेट दिएको छैन।
सम्झौताबमोजिम सञ्चालनको जिम्म लिएका पुन भन्छन्, ‘हामीले सम्झौतामा तोकिएको एक वर्षभन्दा छिटो अर्थात् पाँच महिनामा नै परीक्षण उत्पादन गर्न सफल भयौं। तर, एक रुपैयाँ पनि नपाउँदा खर्च धान्नै मुस्किल छ। मेसिनको पार्टपुर्जा किन्न गाह्रो छ।’
बन्द कारखाना पुनः सञ्चालनका लागि विस्तृत सर्भे गर्दाकै बखत केन्द्रले कारखाना मर्मत गरेर सञ्चालनमा ल्याउनका लागि तत्कालका लागि करिब २५ करोड रुपैयाँ आवश्यक रहेको व्यहोरा सरकारलाई बुझाइसकेको थियो। तर, अर्थ मन्त्रालयबाट अहिलेसम्म एक रुपैयाँ पनि बजेट निकासा नभएको केन्द्रका अध्यक्ष पुन दाबी गर्छन्।
भन्छन्, ‘कारखानामा सरसफाइ, मर्मतसम्भारलगायतका काममा चाहिने औजार, पार्टपुर्जा र सामानहरू किन्दा अहिलेसम्म राष्ट्रिय आविष्कार केन्द्रको २५ लाख रुपैयाँ जति खर्च भइसकेको छ। नेपाल सरकारले सहयोग गर्ने भनेको एक पैसा पनि आएको छैन। नेपाल सरकारबाट कहिले सहयोग आउला भनेर बाटो हेर्दैछौं।’
पुनका अनुसार, कारखानामा काम थालेदेखि अहिलेसम्म केन्द्र आफैंले २५ लाख रुपैयाँ खर्च गरिसकेको छ। पुन भन्छन्, ‘कारखानाको सर्भे गर्दा नै तत्कालका लागि २५ करोड रकम चाहिन्छ भनेर केन्द्रले अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको थियो। तर, आजसम्म सरकारबाट एक रुपैयाँ पनि बजेट केन्द्रले पाएका छैन।
सरकारबाट बजेट नआउँदा कृषि औजार कारखानाको थप मर्मतमा समस्या भएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन बताउँछन्। तर, जस्तै समस्या आए पनि काम भने नरोक्ने उनी बताउँछन्। भन्छन्, ‘सरकारले दिँदै दिएन भने पनि हामी हात बाँधेर बस्दैनांै। केन्द्र आफैंले अन्तबाट पैसा खोजेर पनि कामलाई निरन्तरता दिन्छ। कुनै पनि हालतमा हामी यो काराखाना पूर्ण रूपमा चलाएरै छाड्छौ। यो आँट हामीसँग छ।’
पुनका अनुसार नेपाल विद्युत् प्राधिकरणलाई कारखानाको नाममा ७२ लाख रुपैयाँ विद्युत्को बक्यौता शुल्क तिर्न बाँकी रहेकोले कारखानामा प्राधिकरणले विद्युत् आपूर्ति काटिएको दिएको थियो। तर, केन्द्रले काम थालेपछि केन्द्रकै विशेष अनुरोधमा प्राधिकरणले कारखानामा ६५ केभीएको अस्थायी विद्युत् लाइन जडान गरिदिएको छ। तर, यो पनि अस्थायी मात्र भएकाले भोलिका दिनमा प्राधिकरणले विद्युत् आपूर्ति रोकिदिएमा त्यसले काममा थप समस्या निम्तिने पुन बताउँछन्। भन्छन्, ‘सरकारसँग माग गरिएको रकम पाउन सकियो भने कामहरू अझ द्रूत गतिमा बढाउन सहज हुन्थ्यो।’
बजेट नहुँदा ठूला मेसिन मर्मतमा समस्या
कारखानामा काम थालेको पाँच महिना बित्न लाग्दासमेत सरकारले बजेट नदिँदा त्यसले काममा केही हदसम्म असर परेको केन्द्रका इन्जिनियर प्रज्वल कोजू पनि बताउँछन्। सम्झौतालगत्तै केन्द्रले कारखानाको अवस्थाबारे सर्भे गरेर मर्मतसम्भारमा लाग्ने खर्च विवरणसहितको प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाए पनि अहिलेसम्म मन्त्रालयबाट कुनै बजेट नआएको कोजू बताउँछन्। उनका अनुसार अर्थ मन्त्रालयमा केन्द्रले बुुझाएको सर्भे प्रतिवेदनमा कारखानामा रहेका मेसिन र उपकरणहरूको अवस्था, त्यसको मर्मतसम्भारमा लाग्ने खर्च र थप्नुपर्ने नयाँ मेसिनहरूको विवरण उल्लेख छ।
हामीले सम्झौतामा तोकिएको एक वर्षभन्दा छिटो अर्थात् पाँच महिनामा नै परीक्षण उत्पादन गर्न सफल भयौं। तर, एक रुपैयाँ पनि नपाउँदा खर्च धान्नै मुस्किल छ। मेसिनको पार्टपुर्जा किन्न गाह्रो छ।
महावीर पुन, संस्थापक, राष्ट्रिय आविष्कार केन्द्र
कोजू भन्छन्, ‘चार महिना पहिले मन्त्रालयमा प्रतिवेदन बुझाएर हामी १०/१५ दिनसम्म काठमाडौंमै बसेर कुर्यौंं। तर, मन्त्रालयबाट कुनै जवाफ नआएपछि कारखानामा फर्र्किएर हामीले आफ्नो काम थालिहाल्यौं। उनका अनुसार, हाल ३ जना इन्जिनियर, ४ जना सबओेभरसियर र ४ जना प्राविधिक गरी ११ जनाकोे टोली कारखानामा कार्यरत छन्। हामीले कसैले पनि तलब सुविधा लिँदैनौं, स्वयम्सेवीका रूपमा खटिरहेका छौं,’ उनी भन्छन्, ‘हामी सबै यही भित्रको पुरानो कोठामा बस्छौं। जे जस्तो पाइन्छ मीठो मसिनो खाना आफैं पकाएर खान्छौं। यो सब खर्च केन्द्र आफैंले गरिरहेको छ।’
मर्मत भइरहेको वीरगन्जको कृषि औजार कारखाना । र, मेसिनको मर्मत गर्दै आविष्कार केन्द्रका प्राविधिक। तस्बिर : क्रान्ति शाह
सरकारबाट बजेट नपाउँदा भने मेसिनहरूको मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन समस्या परिरहेको कोजू बताउँछन्। उनी भन्छन्, ‘जुन मेसिन बिग्रिएका छन् ती केही गरेर चलाउन सक्ने अवस्थाका छन् भने हामी मर्मत गरेर चलाइरहेका छौ। तर जुन मर्मत गर्दा त्यसमा नयाँ पार्टपुर्जा फेर्नु पर्नेछ भने पैसाको कमीले किनेर ती पार्टपुर्जा ल्याउन सकेका छैनौं। त्यस्तो अवस्थाका मेसिनहरू पनि यहाँ थुप्रै छन्।’
सरकारबाट बजेट नपाउँदा जनशक्ति पनि थप्न नसकिएको गुनासो कोजूको छ। ‘११ जनाको टिमले मात्र पुग्दैन। जनशक्ति थप्नै पर्छ। तर, बजेट छैन। अर्को कुरा जसोतसो गरेर केन्द्र आफैंले नै बजेटको जोहो गरेर जनशक्ति थपिहाल्यो भने पनि मेसिनहरूमा रिप्लेसमेन्ट गर्नुपर्ने पार्टपुर्जाहरू भएन भने जनशक्ति थप्नुको अर्थ पनि रहँदैन,’ उनले समस्या सुनाए। उनी अघि थप्छन्, ‘कुनैकुनै यस्ता मेसिन छन् जुन खोलियो भने एउटैमा २/३ लाख मूल्य पर्ने नयाँ पार्टपुर्जा पनि चाहिन्छ। ती नखोली बसेका छौं।’
उत्पादन हुन थाले औजार
आविष्कार केन्द्रका अध्यक्ष पुनका अनुसार केन्द्रका प्राविधिकहरूको टोलीले पहिलो चरणमा कारखानाको सरसफाइ र कारखानामा रहेका उपकरण र मेसिनहरूको जाँच गरेको थियो। त्यसपछि कारखानाको विस्तृत सर्भे गरी अधिकांश मेसिन र उपकरणहरूको मर्मतसम्भार पनि केन्द्रले गरिसकेको छ। अहिले कारखानामा रहेका साना र ठूला गरी ९० प्रतिशत मेसिनहरू मर्मतसम्भारको काम सकेर चल्न थालिसकेको र केही कृषि औजारको परीक्षण उत्पादनको काम पनि सुरु गरिसकेको अध्यक्ष पुन बताउँछन्।
पुनका अनुसार, कारखानामा अहिले कृषि कर्ममा प्रयोग गरिने बेल्चा, हँसिया, कुटो, गैंती, बन्चरो गरी ५/६ प्रकारका औजारको परीक्षण उत्पादन भइरहेको छ। अब ट्याक्टरमा जडान गरिने फलामे फालीको पनि परीक्षण उत्पादन गर्ने तयारी भइरहेको उनी बताउँछन्।
केन्द्रका इन्जिनियर प्रज्वल कोजू पनि कारखानाको मेकानिकल सेक्सनमा रहेका साना र ठूला गरी ५४ वटा मेसिनमध्ये ५० बटा मेसिन मर्मतसम्भार गरी औजार उत्पादन गर्न योग्य बनाइसकेको बताउँछन्। अब चार वटा मेसिनमात्र मर्मतसम्भार हुन नसकेको कोजू बताउँछन्। उनका अनुसार, एउटा सेयरिङ मेसिन, दुई वटा ग्रेन्डिङ मेसिन र एउटा ठूलो पावर ह्याब्मर मसिनमात्र मर्मत हुन बाँकी छ। भन्छन्, ‘ती चार वटामध्ये कुनै चाहिँ त्यतिबेला नै नचलेर थन्किएका, कुनै चाहिँ नियोजित रूपमै बिगारेर राखिएका मेसिन पनि रहेछन्।’
हाल कारखानामा रहेका पुराना डाई प्रयोग गरेर दुई मिलिंग, दुई लेथ मेसिन, चार वटा डाई प्रेसर, दुई वटा आयल फर्नेस, एउटा कोइला फर्नेस र दुई वटा ह्यामर मेसिन मर्मत गरेर ५/६ प्रकारका कृषि औजारहरू परीक्षण उत्पादन गरिहेको कोजू पनि बताउँछन्। भन्छन्, ‘अब ढलोट, काठका बिटका लागि फर्निचर, औजार कटिङ, पेन्टिङ, उत्पादित औजारलाई सारो बनाउने हिटरलगायतका सेक्सनका कामहरू पनि सुरु गर्ने तयारीमा छौं।’
कोजूका अनुसार कारखानामा कृषि औजारबाहेक विद्युत्का पोल, ट्यांकर, सामान ओसार्ने ट्रलीलगायतका ११ प्रकारका अन्य सामान उत्पादन गर्ने ठूला प्रकृतिका मेसिनहरू पनि छन्। अहिले मर्मत गरेर चल्न सक्ने अवस्थामा पुगेका मेसिनहरूलाई पूर्ण क्षमतामा चलाउनका लागि आवश्यक कामहरू गरिरहेको कोजू बताउँछन्।
कारखानामा पहिलेदेखि नै कार्यरत सुरक्षा गार्डहरूका अनुसार कारखाना चलेका बेला एक सयभन्दा बढी प्रकारका कृषि औजार र कृषि यन्त्रहरू उत्पादन हुने गरेका थिए। अहिले कारखानामा भने ५०/६० प्रकारका औजार र यन्त्र बनाउने डाईहरू भेटिएको कोजू बताउँछन्। ‘कारखानामा रहेका डाईहरू ४०/५० वर्षपहिले चलेको प्रविधिमा आधारित छन्। तर, अहिले बजारको माग फरक छ। त्यसका कारण मेसिनहरूको पूर्ण रूपमा मर्मतसम्भारको काम सकिसकेपछि हामी आफैं बजारको सर्भे गरेर के, कस्ता औजार र यन्त्रको माग बजारमा छ त्यो बुझ्छौं। अनि त्यहीअनुसारको उत्पादन गर्छौं।’
औजार खोज्दै आउन थाले किसान
पाँच दशक पुरानो इतिहास बोकेको कृषि औजार कारखाना बन्द भएको दुई दशकपछि चल्ने तयारी भइरहेको देख्दा त्यहाँ कार्यरत पुराना कर्मचारीहरू खुुसी छन्। कारखानामा झन्डै ३९ वर्षदेखि कार्यरत हालका सुरक्षा इन्चार्ज मनोहरप्रसाद गुप्ता २० वर्षदेखि बन्द रहेर जीर्ण भइसकेको कारखाना फेरि चल्ने तयारी भइरहेको देख्दा खुसी लागेको बताउँछन्।
२०४० सालमा प्रशासन शाखाको सेवामा प्रवेश गरी कारखानामा जागिर सुरु गरेका गौतम हाल सुरक्षा गार्ड इन्चार्जका रूपमा कारखानामै कार्यरत छन्। गौतम भन्छन्, ‘यो कारखाना कृषि प्रधान देश नेपालको एउटा धरोधर नै हो। तर, विविध कारणले २० वर्षदेखि बन्द थियो। अहिले फेरि चल्ने तयारी भइरहेको छ। र, मलाई पूरा भरोसा छ यो कारखाना अब पक्का चल्छ।’
कारखाना बन्द भएको लामो समय बित्दासमेत देशका विभिन्न जिल्लाबाट कृषक र व्यापारीहरू कृषि यन्त्र र औजार खरिदका लागि कारखानामा आएर फर्किने गरेको उनी बताउँछन्। भन्छन्, ‘पोहोर सालको असार–साउनमा पनि बैतडी, हुम्ला र जुम्लाबाट केही मानिस थ्रेसर र कल्टिभेटर खोज्दै कारखानामा आएका थिए। तर, बन्द भएको थाहा पाएपछि निराश भएर फर्किएका थिए।’
अहिले फेरि कारखाना सञ्चालनको तयारी भइरहेको खबर पाएर दिनहुँ विभिन्न स्थानबाट किसान र व्यापारीहरू कृषि औजार र कृषि यन्त्रका लागि कारखानामा आइरहेको पनि उनी बताउँछन्। कारखाना चलेको बेलाको सुखद क्षण स्मरण गर्दै गौतम भन्छन्, ‘कारखाना चलेका बेला किसानलाई धेरै राहत थियो। किनकि यहाँ उत्पादित कृषि यन्त्र र औजारहरू बजारको भन्दा आधा मूल्यमा किसानले पाउथे। ५० प्रतिशत अनुदान सरकारले दिन्थ्यो।’