शिवको पूजा गर्नु, उनको नाम जप्नु, उनको गुण र रूप चित्रमा प्रवृत्ता गराउनु चिन्तन हो, मनन् हो। उनै महेश्वरको कृपा दृष्टिले जीवले शिवत्तव प्राप्ति गर्छ।
पशुपति क्षेत्रमा अपार भीड लाग्ने हिन्दूधर्मीको विशेष पर्व हो महाशिवरात्रि। जीवन सधैं शिवमय नै हुनुपर्छ। महादेव जो अजन्मा र स्वयं प्राकाट्य भएका हुन्। शिव पुराणमा श्रीशिवबारे विस्तृत चर्चा छ। अन्य पुराणभन्दा शिवपुराण उत्कृष्ट गतिदाता हो। जीवमात्रको उपकारक, त्रिविध तापनाशक, तुलनारहित अतुलनीय छ यो ! सत्पुरुषलाई यसले कल्याण दिन्छ, वेदान्त र विज्ञानमय छ यो पुराण ! तत्त्वमय छ र निष्काम भावयुक्त छ।
ईष्र्यारहित बनाउँछ व्यक्तिलाई यसले ! शिव तत्त्व, शिव मर्म, शिव धर्म, प्रणव मन्त्रको संकलन हो यो। धर्म, अर्थ, काम, मोक्षको साधन हो। जो आदरपूर्वक पढ्छ जो आदरपूर्वक सुन्छ, ऊ परमगतिमा प्राप्त हुन्छ। शिवपुराण भक्ति, ज्ञान र वैराग्यको त्रिवेणी हो। ऋषि महर्षिहरूको प्रश्नमा सुतजी शिवतत्त्व सुनाउनु हुन्छ।
सम्पूर्ण रोग र शोकबाट टाढा राख्ने शिवमहिमा, शिवपुराण, सद्वस्तु हो, सद्गति दिने सर्वस्व नै हो। एकपटक ऋषि, महर्षि, पथप्रदर्शक मिलेर ब्रह्माजी सामु गए। सबैले मिलेर प्रार्थना गर्दै भने–हे ब्रह्मा हजुर सर्वज्ञ हुनुहुन्छ। जगत्को धारणा र पोषण गर्नुहुन्छ। परात्पर पुराणपुरुष के हो ? को हो ? कस्तो होला ? ब्रह्माजी भन्नुहुन्छ– जसबाट ब्रह्मा, विष्णु, रुद्र, इन्द्र प्रकट भए, सम्पूर्ण ब्रह्माण्डको रचना भयो। सम्पूर्ण प्राणी सृष्टि भए, त्यस्ता देव, आदिदेव, परमदेव महादेव सर्वज्ञ हुनुहुन्छ, सर्वोत्कृष्ट हुनुहुन्छ। भक्तिबाट साक्षात्कार र एकाकार गर्न सकिन्छ। रुद्र, हरि, हर र अन्य देवेश्वर जसलाई भक्तिभावले जसको दर्शन गर्न चाहनुहुन्छ। शिवसँग प्रीति राख्नाले व्यक्ति भवबन्धनबाट छुट्छ। देवताका कृपाप्रसाद प्राप्त भएपछि यस्तो परमभक्ति भक्तलाई प्राप्त हुन्छ। जसरी एउटा बीजबाट अंकुर पैदा हुन्छ। अंकुरबाट बीज पैदा हुन्छ ठीक त्यस्तै देवताका प्रसादले भक्ति प्राप्त हुन्छ र भक्तिले देवता प्राप्त हुन्छ। भगवान् शिव यज्ञपुरुष हुनुहुन्छ। यज्ञपुरुषको कृपाबाट साध्य र साधनको ज्ञान हुन्छ।
शिवतत्त्वबाट शिवपद प्राप्ति गर्नु मानिसको साध्य हो। उहाँको सेवा गर्नु साधन हो, साधनाद्वारा साधकले साध्य प्राप्ति गर्न सक्छ। अनुष्ठानको फल व्यक्तिले शिव पादमा अर्पण गर्नुपर्ने हुन्छ, समर्पण गर्नुपर्ने हुन्छ। परमेश्वर पद प्राप्तिको सरल मार्ग यही नै हो। यस्तो कर्मबाट सालोक्य मुक्ति प्राप्ति हुन्छ। भक्तिका साधन धेरै छन्। मूलरूपमा भक्तिको साधन हो।
प्रत्यक्ष देख्ने काम आँखाबाट हुन्छ, देखेपछि प्रमाण हुन्छ। भरपर्दो र विश्वसनीय त्यही हुन्छ। बाह्य आँखाभन्दा पनि दिव्य आँखाले यथार्थ भेटिन्छ, देखिन्छ। मानिस बुझेर, देखेर त्यसको प्राप्तितर्फ उन्मुख हुन्छ। पैलो साधन श्रवण नै हो, नवधा भक्तिमा प्रवेश गर्दा सुरुमा श्रवणमै जानुपर्ने हुन्छ। गुरु मुखबाट तत्त्वज्ञान श्रवण गरिन्छ। श्रवणपछि व्यक्ति साधनतिर उन्मुख हुन्छ, चिन्तन र मनन हुन सक्छ। विस्तारै व्यक्तिलाई यसपछि शिवको संयोग हुन जान्छ, लौकिक आनन्ददेखि माथि उठेर अलौकिक आनन्दको अनुभूति गर्न थाल्छ व्यक्ति !
शिवको पूजा गर्नु, उनको नाम जप्नु, उनको गुण, रूप चित्रमा प्रवृत्त गराउनु चिन्तन हो। मनन् हो। महेश्वरको कृपा दृष्टिले जीवले शिवत्व प्राप्ति गर्छ। शिव प्राप्ति जीवको उद्देश्य हो, आकांक्षा वा साध्य हो। सत्यवस्तुको चिन्तन गर्नुपर्छ। सत्य वस्तु भनेको शिव हो। जोसँग साक्षात्कार गर्न सकेमा सर्वकल्याण हुन्छ। सर्वकल्याणका लागि भक्ति साधना श्रवण, कीर्तन र मनन् जरुरी छ। शिवशंकरको बारेमा श्रवण, कीर्तन र मनन् गर्नाले महत्तम साधना सिद्धि हुन्छ। भगवान् शिवका आज्ञाले सनतकुमारलाई नन्दीश्वरले शक्ति दिनुभयो। मुक्तिको उपाय भक्ति हो भक्तिको स्वरूप श्रवण हो, कीर्तन हो र मनन् हो।
श्रवण, कीर्तन र मनन् गर्न नसक्नेका लागि अर्को उपाय छ, भगवान्को साकार विग्रहको साधना गर्ने अर्थात् पूजा गर्ने, शिव लिंग स्थापना गर्ने, मूर्तिको नित्य पूजा गर्ने, नित्य पूजा गर्नाले संसार सागरबाट पार हुन सकिन्छ। गच्छेअनुसार धनराशि शिव मूर्तिमा सुम्पिनु पर्ने हुन्छ, अर्पण गर्नुपर्ने हुन्छ। शिवलिंग एवं शिव मूर्तिको पूजा गर्नुपर्ने हुन्छ। भक्ति भावले मण्डप निर्माण गर्ने, तीर्थ स्थापना, मठ निर्माण, क्षेत्र स्थापना, उत्सवको आयोजना गर्नुपर्ने हुन्छ। वस्त्र, गन्ध फूल, दीप, नैवेद्य समर्पित गर्नुपर्ने हुन्छ। छत्र, ध्वजा, व्यञ्जन, चामर, सम्पूर्ण साधनले राजोपचारले पूजा गर्नुपर्ने हुन्छ। प्रदक्षिणा, नमस्कार, यथाशक्ति जप गर्नुपर्ने हुन्छ। आवागमनदेखि विसर्जनसम्म प्रतिदिन भक्तिभावले गर्नुपर्ने हुन्छ। यसरी अनुष्ठान पूजा गर्नाले श्रवण, कीर्तन, मनन् गर्न नसक्नेहरूलाई पनि सोको फल प्राप्ति हुन्छ। धेरै ऋषि, महर्षि, ब्रह्मज्ञानी शिवजीको पूजा आराधना गरेर भवबन्धनबाट छुटेका छन्।
सबै देवताको मूर्तिमा पूजा हुन्छ। शिवजीको मूर्ति वा लिंग दुवैमा हुन्छ। शिवलाई सगुण साकाररूप र निर्गुण निराकार रूपबाट चिन्तन गर्न सकिन्छ ! निराकार भएकाले शिवजीको शिवलिंगमा पूजा हुन्छ। शिवलिंग शिवको निराकार स्वरूप हो। शिवको साकार स्वरूप उनको स्वरूप मूर्ति हो। शिवलिंग स्वयंब्रह्म स्वरूप हो । स्वयं प्राकाट्य यस्तो शिवलिंग हाम्रो देश नेपालमा मात्रै छ। पशुपतिनाथ सधैं खुल्ला छ।