शिवलिंगमाथि पवित्र जल, बेलपत्र, धतुरो, चन्दन, पञ्चामृत, फलफूल र विभिन्न किसिमको मिठाई अर्पण कर शिवआराधना गर्ने गरिन्छ।
सम्पूर्ण मिथिलामा महाशिवरात्रिको पर्व बडो धूमधामसित मनाउने शदियौं पुरानो परम्परा अद्यापि जीवन्त छ। मिथिला क्षेत्रको गाउँगाउँमा एउटा न एउटा शिवालय मन्दिरको अवस्थितिले यो अवगत गराउँछ कि मिथिलामा शैव धर्मको प्रचलन आदिकालदेखि अद्यपर्यन्त रहेछ। यहाँ तीनवटा धर्मको प्रधानता रहेछ यथा वैष्णव धर्म, शैव धर्म र साक्त धर्म। वैष्णव धर्मको प्रधानता सर्वोपरि छ। त्यसपरान्त शैव धर्मको स्थान आउँछ। देवहरूको देव महादेव मिथिलाञ्चलको सबैभन्दा महत्त्वपूर्ण देवको रूपमा पूजित र सम्मानित शदियौंदेखि रहेका छन्।
मिथिलाको प्राचीन राजधानी जनकपुरमा जानकी मन्दिर र राममन्दिरको अतिरिक्त शिव मन्दिर पनि छ। जहाँ महाशिवरात्रिको मांगलिक अवसरमा शिवभक्तको घुइँचो हेर्न लायकको हुन्छ। मिथिलाको चतुर्दिक दिशामा एउटा त एउटा शिव मन्दिरको अवस्थितिले गर्दा यो विदित हुन्छ कि मिथिलावासी कति शिवभक्त छन्। शिवका अनेक लोकप्रिय तथा जनप्रिय नाम रहेछन्, यथा–शिव, महेश, महादेव, रुद्र, नटराज, शिवशंकर, किराँतार्जुन र नीलकण्ठ। शिवको शिरमा चन्द्रमा र जटामा गंगा प्रतिष्ठित छन् तथा ललाटमा तेस्रो नेत्र। उनको हातमा त्रिशूल, डमरु र गलामा सर्पहरूको माला सुशोभित छ।
यसबाहेक पनि उनी विश्वनाथ, अमरनाथ, वैद्यनाथ, केदारनाथ, र कैलाशनाथ आदि विभिन्न रूपमा पूजित हुँदै आएका छन्। उनी सद्, चित, आनन्दस्वरूप शिव सबै प्राणीको कल्याण गर्दै आएका छन्। सम्पूर्ण ब्रह्माण्डको रक्षा गर्ने भगवान् शिव ब्रह्माण्डका ३३ करोड देवतामाझ सर्वोपरि स्थान सुरक्षित छ। उनलाई आशुतोष पनि भनिन्छ, जसको शाब्दिक अर्थ हुन्छ– शीघ्र सन्तुष्ट र प्रसन्न हुने देवता। सम्पूर्ण मिथिला क्षेत्र नै चतुर्दिक शिवको उपस्थिति र अवस्थितिले गर्दा सुरक्षित र संरक्षित मानिन्छ जस्तो यसको उत्तरमा क्षीरेश्वर महादेव, दक्षिणमा जलेश्वर थान, उत्तरपूर्वमा मिथिलेश्वर र पश्चिममा कुपेश्वर। यी पवित्र स्थानमा शिवरात्रिको अवसरमा तीर्थयात्रीको जमघट हेर्न लायक हुन्छ। यस शुभ पर्वलाई महाशिवरात्रि पनि भनिन्छ।
शिवको मन्दिरमा दैनिक पूजाआजा विधिपूर्वक गर्ने परम्परा सदियौंदेखि अद्यपर्यन्त हुँदै आएको पाइन्छ। महाशिवरात्रिको मांगलिक अवसरमा विशेषरूपमा पूजाआजा गर्ने गरिन्छ। विशेषतः शिवलिंगको स्थापना प्रत्येक शिवालयमा भएकाले ‘ॐ नमो शिवाय’ को मूलमन्त्रको जप गर्दै परोपकारी मंगलकारी, सृष्टिका निर्माता, पालनकर्ता र साथै संहारकर्ता भगवान् शिवको पूजाआजा श्रद्धाभक्तिपूर्वक गर्ने गरिन्छ। सम्पूर्ण मधेस प्रदेशमा शिवको पूजाआजा भक्तिपूर्वक अद्यापि गरिन्छ। नेपालको अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिसकेको छ। मधेस प्रदेश अहिले पनि व्यावहारिक रूपमा पनि धर्म प्रधान प्रदेश रहेछ र शैव धर्मको यहाँ बोलवाला छ। शैव धर्मावलम्बी सहिष्णु हुन्छन् र अन्य धर्मलाई पनि उत्तिकै सम्मान गर्छन्।
तसर्थ धर्मको नाउँमा कहिले पनि कुनै किसिमको दुर्भावना यिनीहरूमा देखिँदैन। नेपाल विभिन्न जाति, धर्म सम्प्रदाय, भाषा र भेष संस्कृतिको देशको भावना मधेस प्रदेशमा पनि प्रत्यक्ष रूपमा देखिन्छ। विभिन्नतामा एकता देखिन्छ। सदा शिवसित सम्बन्धित शैवधर्म आफ्नो व्यापकता र विस्तारमा सर्वधर्म समन्वयको विश्वव्यापी मान्यतालाई स्वीकार मात्र होइन, अंगीकार गरेको पाइन्छ। मिथिलाको संस्कृतिमा नै शैव धर्मको समन्वय र सामञ्जस्य पाइन्छ। तसर्थ मैथिली संस्कृति धेरै सम्पन्न र समृद्धशाली रहेको सर्वविदितै छ। शिवरात्रिको शुभ अवसरमा विशेषतः शिवलिंगको पूजाआजा गर्ने गरिन्छ किनभने यहाँ अवस्थित शिवालयहरूमा शिवप्रतिमा कम पाइन्छ तर शिवलिंग सर्वत्र सबै मन्दिरमा पाइन्छ।
शिवलिंगमाथि पवित्र जल, बेलपत्र, धतुरो, चन्दन, पञ्चामृत, फलफूल र विभिन्न किसिमको मिठाई अर्पण कर शिवआराधना गर्ने गरिन्छ। शिवको विशेषता के छ भने उनी भाङ, धतुरो र बेलपत्रबाट धेरै प्रसन्न र खुसी हुन्छन्। तसर्थ शिवको पूजा अर्चनामा शुद्ध सात्विक भावले यी पूजासामग्रीको समर्पण सर्वोत्तम फलदायी मानिन्छ। ज्योर्तिलिंगको जाज्वल्य प्रकाशबाट सम्पूर्ण मिथिलाञ्चल ज्योतित भएको पाइन्छ। ज्योर्तिलिंग शब्द ज्योति एवं लिंगको समास हो। ज्योतिको शाब्दिक अर्थ प्रकाश हुन्छ र लिंग चिह्नको रूपमा प्रयुक्त हुन्छ। लिंग शब्दको व्युत्पत्ति स्कन्दपुराणमा यस प्रकार गरिएको छ– ‘आकाश लिंग मित्याहः पृथ्वी तस्य पीठिका। लयतान् सर्व देवानां लिंग मित्युच्यते बुधै।’ आकाश, लिंग र पृथ्वी उसको पीठिकाको रूपमा पूजित छ। यो सबै देवताको अवयव हो। यसमा सबै लय प्राप्त भएकाले यसलाई लिंग भनिन्छ।
निराकार ब्रह्ममा जस्तो कुनै अवयव चिह्न हुँदैन। त्यस्तै लिंगमा पनि प्रतिमा सदृश्य अंगप्रत्यंग रहँदैन। लिंगमा मण्डलाकार स्वरूप पृथ्वी र लघुस्तूप कुनै चिह्न हुँदैन। यस अर्थ र सन्दर्भमा ज्योर्तिलिंगको नाम बिहान ब्रह्मबेलामा उठेर जसले जप्छ उसले सबै तीर्थहरूको फल प्राप्त गर्छ। कामद लिंग सबै लिंगको पूजाको फल प्राप्त गर्नेखालको मानिएको छ। शिवपुराणको ३८ अध्यायअन्तर्गत नदी, उपपुराणमा शिवजी स्वयं भन्नुहुन्छ– ‘म सर्वव्यापी हुँ’। यी ज्योर्तिलिंग निम्नबमोजिम उल्लेख भएको पाइन्छ– सर्वव्यापी भए पनि सौराष्ट्रमा सोमनाथ, कृष्णतीरस्थ श्री शैलमा मल्लिकार्जुन, उज्जयिनी नगरमा महाकाल, ओमकार र अमरेश्वर, चिताभूमिमा वैद्यनाथ, दक्षिण सेतु बन्धमा रामेश्वर, वाराणसी क्षेत्रमा विशेश्वर, गौतमी तटमा त्रम्यबकम्, हिमालयको पृष्ठमाथि केदारनाथ, दारुकावनमा मागेश, शिवालयमा धुश्मेश, डाकिनीमा भीमशंकर आदि लिंग प्रधान मानिन्छ।