जनयुद्धको राजधानी मानिने रोल्पाको सदरमुकाम लिवाङलगायत विभिन्न गाउँमा थुप्रै पटक पुगेका लेखकले त्यहाँको जनजीवन, भूगोल, स्थानीय परिवेशसँग साक्षात्कार गरेका थिए।
वास्तवमै मान्छेको जीवन एक यात्रा हो। यस्तै यात्रा गरे, क्याप्टेन रामेश्वर थापाले बारुदमाथि उडेर। उनले भोगे, देखेका र नजिकबाट छामेका दसवर्षे माओवादी सशस्त्र द्वन्द्वका सत्यकथाहरू समावेश गरेको संस्मरण र नियात्राजस्तो पनि देखिने, बेजोडको यात्रा संस्मरण हो, ‘बारुदमाथि उड्दा’ यसमा तत्कालीन माओवादी जनयुद्धकालीन समयलाई नजिकबाट नियाल्ने प्रयास गरिएको छ। भद्र र शालीन प्रकृतिका व्यक्तित्व क्या. थापा आफ्ना भोगाइ र अनुभवहरूलाई पुस्तकाकारको रूपमा बजारमा ल्याउन सफल देखिएका छन्।
क्याप्टेनमा भएको सामाजिक र राजनीतिक चेतले ओतप्रोत व्यक्तित्वका कारण जस्तोसुकै खतरा मोल्न तयार भएको कुरा छ। ‘बारुदमाथि उड्दा’मा एक गाउँले सर्वसाधारणको छोराको बाल्यकालका दुःख, पहिलोपटक काठमाडौं आउँदाको अनुभूति, न्याय सेवा क्षेत्रमा जागिरे जीवन र त्यहाँबाट युटर्न भएको जिन्दगी छन्। रूसमा गएर पाइलट तालिम लिएको विषय प्रस्तुत गरी सामान्य किसानको छोरा कसरी क्याप्टेन बन्न सफल भयो भन्ने यथार्थ सबैसामु इमानदार भएर राखेका छन्। अर्काेतिर सशस्त्र माओवादी जनयुद्धमा उनले देखे, भोगेका सांगोपांगो कुरा र त्यतिखेरका उडान भर्दा भोगेका कुराको वर्णन छ।
बहुप्रतिभाशाली, बहुआयामिक व्यक्तित्व क्याप्टेन थापा एक सफल व्यवसायी पनि हुन्। भद्र एवं शालीन प्रकृतिका क्याप्टेन संस्मरणात्मक पुस्तकमार्फत आफ्नो बाल्यकालका दुःखकष्ट र भोगाइलाई पनि सम्झेका छन्। यो कृति आत्मगत यथार्थले भरिपूर्ण देखिन्छ। बाल्यकालदेखि जागिर हुँदै क्याप्टेन बनेर आकाशमा द्वन्द्वकालीन परिवेशमा उडान भर्दाका कुरा पनि पुस्तकमा छन्। ‘बादलमाथि उड्दा’ नेपालमा तत्कालीन युगले भोगेको द्वन्द्वको यथार्थ तस्बिर हो। यसमा कुनै रुमानी सपना छैनन्, बनावटी कुरा पटक्कै छैनन्। छ त भोगाइका नमीठा पीडाहरूको प्रस्तुति। बारुद ओछ्याइएको छ जताततै। निमेष निमेषमै खतरा छ। प्रत्येक पाइलामा ज्यानको जोखिम छ। यस्तो अवस्थामा उनले दिउँसोको उज्यालो परिवेशमा मात्र हैन, चकमन्न रातमा समेत उडान भरेका छन्। झमक्क साँझमा आँखा नओभाउँदै पनि यात्रा तय गरेका छन्। थाकेका छन् तर कहिल्यै थकाइ अनुभूत गर्र्दैनन्। उनी मिसनमा छन्, उद्धार अनि राहतमा पनि।
युद्ध उम्लेको छ देशमा। सर्वसाधारणका दुःखहरू कतै नेपाली सेनाको नाउँमा त कतै माओवादी विद्रोहीको नाउँमा काउसो बनेर टाँसिएका छन्। करौंतीले रेटेजस्तै छ सर्वसाधारणलाई सास्ती। सकसपूर्ण दैनिकी सर्वसाधारणको नियति बनेको छ। मुलुकभर जताततै कोकोहोलो मच्चिएको छ। कसैको बुढेसकालको सहारा छिनिएको छ। कैयनको काख रित्तो पारिएको छ। घाइते छन् कोही। धनसम्पत्तिको नोक्सानी जोखी साध्य भए पो। पीडा र त्रासको गह्रुँगो भारी बोकेर दैनिकी काटिरहेका छन् सर्वसाधारण। आतंकले बास गरेको छ गाउँबस्तीहरूमा। सशस्त्र द्वन्द्वका घाउहरू पाकेका छन्, चर्याएका छन्। क्याप्टेन थापाले त्यसबेलाका कटु यथार्थहरूको दृश्यापान गर्न कत्ति पनि हिच्किचाएका छैनन्। भनौं, पोखिदिएका छन्, ‘बारुदमाथि उड्दा’मा छरपस्ट पारेर।
क्याप्टेन राष्ट्रिय राजनीतिका घटना परिघटना, विभिन्न दृश्य र परिदृश्यबारे चिन्ता र चासो राख्छन्। उनको ‘बारुदमाथि उड्दा’ पुस्तक रोमाञ्चक छ तर पीडामिश्रित। उनले सत्य भएर अनि इमानदार बनेर द्वन्द्वका दृश्यहरू पस्केका छन्। यस पुस्तकमा द्वन्द्वका बाछिटाहरूको भाषालाई स्पष्ट बोलिएको छ। दुःखलाई वर्तमानमा अनुभव गरिएको छ। आङ नै सिरिङ हुने घटनाहरूसँग उनको पटकपटक साक्षात्कार भएको छ। हृदयको फराकिलो आँगनमा उनले सुरक्षाकर्मी मात्र नभएर सर्वसाधारण बिरामीको पनि उद्धार गरेको लेखेका छन्। दुस्साहसपूर्ण यात्राहरूको उडान भरेका छन् उनले।
तत्कालीन सरकारले मुलुकमा लगाएको संकटकालसँगै सैन्यसँग विज्ञ पाइलटको रूपमा जोडिएका थिए क्याप्टेन। सेनाका पाइलटहरूलाई तालिम दिने, दोहोरो भिडन्तमा परेका घाइते सेना तथा प्रहरीहरूको उद्धार तथा मृतकहरू ओसार्र्नेजस्ता जिम्मेवारी उनको थियो। सेना परिचालनसँगै तत्कालीन प्रधानसेनापति प्यारजंग थापाले विशेष अनुरोध गरेपछि उनले २०५८ मंसिरदेखि सेनाको हेलिकप्टर उडाउन थालेका थिए। उनले हेलिकप्टरको क्षमताभन्दा बढी नै पनि सेना हालेर लान्थे। खारा आक्रमण २०६१ सालसम्मकै ठूलो माओवादी आक्रमण मानिन्छ। त्यतिबेला दुवै पक्षबीच युद्ध चलिरहेको थियो तर उनले खतरा मोलेर खाराको आकाशमा उडेका थिए। जनयुद्धको राजधानी मानिने रोल्पाको सदरमुकाम लिवाङलगायत विभिन्न गाउँमा थुप्रै पटक पुगेका लेखकले त्यहाँको जनजीवन, भूगोल, स्थानीय परिवेशसँग साक्षात्कार गरेका थिए। उनी सुन्दर रमणीय बस्ती जुम्लाको रारालिही जहाँबाट सिजा र तिला खोला बग्छन् र माथितिर सुन्दर हिमाली शृंखलाले मन नै आल्हादित बनाउँछ। त्यहाँ पनि पुगेका छन्, क्याप्टेन थापा। त्यहाँको सुन्दरता भिडन्तले सन्नाटा छाउँदा उनी दुःखित छन्।
खतरा र जोखिम मोलेर नेपाली सुरक्षाकर्मीको उद्धारमा अहोरात्र खटिएका क्याप्टेनले रामेछापको बेथान, रुकुमको खारा, तकसेरा, सिन्धुलीको भिमान, तनहुँको कालिकाटार, रोल्पा घर्तीगाउँ, कालीकोट, जाजरकोटको पाँचकटिया दुनै डोल्पा, अछाम, जुम्लाको रारालिही, नौमुले दैलेख, सुर्खेत, प्यूठान, कालीकोट आदि स्थानमा भएका सशस्त्र द्वन्द्वको अवस्था सचित्र वर्णन गरिएका छन्। उनले गरेका उद्धारको रोचक र आङ्गै सिरिङ हुने सबै घटना पुस्तकमा छन्। उद्धारका क्रममा उनी आफैं पनि दुर्घटनामा परे। आफ्नो उडान करियरमा हालसम्म झन्डै १० हजार घण्टा आकाशमा उडेका क्याप्टेन थापाले ती स्थानमा छटपटाइरहेका घाइतेहरूका चित्कार र छटपटी नजिकबाट देखे, भोगे र लेखे पनि। घाइतेहरूको जोखिमपूर्ण उद्धार गरेका सन्दर्भ मननीय छन्। पुस्तकमा सुन्दर मंगलसेनलगायत विभिन्न सहर युद्धपछिको भग्नावशेषमा परिणत भएको स्थितिको चित्रण छ। ठाउँठाउँमा बिछ्याइएको एम्बुस र त्यसमा परेर क्षत्विक्षत भएका मानव शरीरको कारुणिक र बीभत्स दृश्य पनि छ।
संस्मरणात्मक पुस्तकमा २०५८ साउन ८ गते माओवादीको तर्फबाट युद्धविराम गरिएको विषयसमेत समावेश गरिएको छ। समयमा उठ्न नसक्दा
डुँङ्डुँङ्ती गन्हाएका लासहरू, घाइतेहरूका चिच्याहट, क्षत्विक्षत संरचनाहरू, थकित मानसिकता बोकेका सुरक्षाकर्मीका मलिन मुहार, भिडन्तका भयावह दृश्यलाई उनका आँखाले नजिकबाट नियालेका छन्। उनले उडाइरहेको हेलिकप्टरमा दाङको मुर्कुच्चा बजारको डाँडामा लुकेर बसेका माओवादीले गोली हान्दा तीन गोली लागेको थियो असन्तुलित हुँदै गरेको हेलिकप्टरलाई उनले सावधानीपूर्वक नजिकैको खेतमा सुरक्षित अवतरण गराएको प्रसंगलाई पनि उल्लेख गरेका छन्। उनको आत्मविश्वासले यहाँ काम गरेको देखिन्छ। त्रासपूर्ण र दुःखदायी घटना नै बढी छन् यसमा। युद्धका विभिन्न प्रसंग छन्।
थापाले कैयन बम र बारुदको कुहिरोमा परेका गाउँ र बस्तीहरू देखे। घाइतेहरूका रक्ताम्मे शरीर बोके। आगजनीमा परेका र क्षत्विक्षत भएका भौतिक संरचनाहरू नियाले। युद्धका बीभत्स तस्बिरहरू उनको मस्तिष्कमा कैद भए। युद्धका परिवेश र मनोवृत्तिहरू अनि तिनले पारेका नकारात्मक असर नजिकबाट आकलन गरे। उनको भरोसामा परेका सैन्यहरूको उद्धार गरे। उनको उडानमा यी सब कुरा उनका आँखा सामुन्ने भएका थिए। सशस्त्र द्वन्द्वले सर्वसाधारणका कोमल छातीमा बारुदी काँडा बिझेका छन्। आमाका मनहरू रोएका छन्, भक्कानिका छन्। आम भुइँमान्छेका रहर त्राहीमाम छन्, उन्मुक्त र निर्धक्क कोही छैनन्। त्रास र भयले सब टालिएका छन् मान्छेका जिन्दगी। हजारौंको मानवीय क्षति, अर्बौंको आर्थिक खति र भय एवं त्रास मिश्रित सर्वसाधारणको दैनिकी मुलुकको नियति बनेको कुराले उनको मन दुख्छ। बगरजस्तै फुङ्ग उडेका बस्ती छन्, सर्वसाधारणका पीडा, चित्कार र छटपटी देखेका छन्। अँध्यारोको धैर्यमा पनि उद्धार कार्यमा संलग्न बनेका उनी निर्धक्क एक प्रहर मीठो नीदमा निदाउन पाएनन्।
उनी यो युद्ध कहिल्यै नदोहोरियोस् भन्ने कामना गर्थे सधैंभरि। उनी आशावादी स्वभावका मान्छे। युद्धको अन्त्य अवश्यंभावी छ भनेर ठोकुवा गर्थे। यसै क्रममा भारतको दिल्लीमा २०६२ मंसिर ७ गते त्रिपक्षीय सम्झौता भयो। मुलुक संवैधानिक राजतन्त्रबाट संविधानसभा हुँदै संघीय गणतन्त्र स्थापित भयो। यी अवधिमा उनको उठबस विभिन्न राजनीतिक दलका नेतासँग भएको थियो। क्याप्टेनले नेकपा माओवादीका अध्यक्ष प्रचण्डदेखि केपी ओली, शेरबहादुर देउवा, वामदेव गौतम, रामचन्द्र पौडेल, बाबुराम भट्टराई आदि नेतालाई विभिन्न चौकी, गाउँबस्तीमा पुर्याएको अनुभव सँगालेका छन्। उनले विभिन्न नेताबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कुरासमेत स्मरण गरेका छन् पुस्तकमा। विदेशी चलखेल र संक्रमणकाल लम्बिएको कुराले चित्त दुखेको पाइन्छ।
अत्यन्तै रमाइला, अविस्मरणीय दुःख र पीडाका क्षणहरूको तात्तातो अनुभूति, द्वन्द्वका विषयवस्तु, परिवेश र घटनाक्रमको चित्रण गरिएको पुस्तक द्वन्द्वको सन्दर्भको एउटा बेजोडको तस्बिर हो। एक दशकसम्म चलेको द्वन्द्वको बारेमा लेखिएको यो कृति तत्कालीन समयको सन्दर्भ सामग्री हुन सक्ने कुरामा दुई मत छैन। यो संस्मरणात्मक पुस्तक पत्रकार राजाराम पौडेलको सम्पादनमा तयार पारिएको हो। प्रस्तुत पुस्तकले क्याप्टेन थापाको लेखनीको निब पनि तीखो छ भन्ने प्रष्ट पारेको छ।