माओवादीबाट ‘ग्रीन सिग्नल’ पाएपछि कांग्रेसमा राष्ट्रपति बन्न आकांक्षीको लर्को
महामन्त्री गगन थापाका अनुसार कांग्रेस अहिले ‘पर्ख र हेर’को अवस्थामा छ।
काठमाडौं : सत्तासीन माओवादी केन्द्रबाटै कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने तर्क आउन थालेपछि कांग्रेसभित्र राष्ट्रपतिका आकांक्षी सल्बलाउन थालेका छन। यद्यपि, पार्टीमा यसबारे औपचारिक छलफल भने भएको छैन।
महामन्त्री गगन थापाका अनुसार कांग्रेस अहिले ‘पर्ख र हेर’को अवस्थामा छ। राष्ट्रपति उम्मेदवारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतका आकांक्षी देखिएका छन्। मनोनयनको मिति नजिकिँदै जाँदा आकांक्षी उम्मेदवार बढ्दै जाने कांग्रेस नेता रामहरि खतिवडाले बताए।
खतिवडा भन्छन्, ‘संविधानको रक्षा र सुशासनका लागि पनि कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नु स्वाभाविक हो।’ यसअघि २०७४ सालमा राष्ट्रपतिमा कांग्रेसले लक्ष्मी राईलाई उम्मेदवार बनाएको थियो। यसपालि भने सभापति देउवाको वरिष्ठ नेता पौडेलप्रति सहानुभूति बढी छ।
सिटौलालाई राष्ट्रपति बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक देखिएको नेताहरू बताउँछन्। विगतमा शान्ति सम्झौता र संविधान निर्माणमा खेलेको भूमिकाका कारण प्रचण्ड सिटौलाप्रति सकारात्मक छन्।
माओवादीका एक नेताका अनुसार ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति गरौं’ भन्ने अडानमा प्रधानमन्त्री अडिग छन्। कांग्रेसले पनि प्रधानमन्त्रीमा विश्वासको मत दिएकाले राष्ट्रपति कांग्रेसले पाउनुपर्ने पक्षमा प्रचण्ड सकारात्मक छन्।
एमाले स्रोतका अनुसार पुस १० गते एमाले र माओवादीबीच ‘भद्र सहमति’ भएको थियो। जसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने र एमालेले राष्ट्रपति लिने। उक्त सहमतिबाट माओवादी पछि हट्दै गएको एमालेको बुझाइ छ। माओवादी केन्द्रका नेताहरू पनि पुरानो सहमतिभन्दा राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनुपर्ने तर्क गर्न थालेका छन्।
यसैबीच कांग्रेसले राष्ट्रपति पाए पाँचै वर्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने ‘लोभ’ देखाएको छ।कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले माओवादी पार्टीले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई स्वीकार्ने प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लगातार छलफल भए पनि ठोस सहमति बन्न सकेको छैन। त्यसैकारण भावी राष्ट्रपति कुन पार्टीको भागमा पर्ला र को–को उम्मेदवार बन्लान् भन्ने अनुमान लगाउन पनि गाह्रो छ। राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुँदैछ। १३ गते मनोनयन गर्नुपर्छ।