नेपाली सेना जनताकै सेना हो। यो सेना राष्ट्रको सम्पत्ति हो। सेनाको अभिभावक जनता हुन्। नागरिक–सेनाबीचको सम्बन्ध उच्च रहनु पर्छ।
आज हाम्रो सेना दिवस। सेना दिवस अर्थात् आर्मी डे राष्ट्रले निक्र्यौल गर्दछ। सेना दिवस मनाउने दिन छानिने आधारहरूमध्ये उपनिवेशबाट स्वतन्त्रता पाएर स्वतन्त्र सेना खडा भएको दिन, देश बचाउने र बढाउने सिलसिलामा शत्रु राष्ट्रविरुद्ध विजय प्राप्त गरेको दिन, कुनै नयाँ देशले विधिवत् सेना खडा गरेको दिन, आदि हुन्।
नेपालको परिप्रेक्ष्यमा माथिका आधारहरूबाट नभै श्री ५ महाराजाधिराज वीरन्द्रवीरविक्रम शाहको पालामा नेपालीले आफ्नो सेना दिवस मनाउने सुझाव जाहेर गर्दा मौसुफबाट जन, धन र परिश्रमको बचत हुने गरी मनाउने निर्देशन भएअनुसार नेपाली सेनाले मनाइदिँदै आएको सामाजिक चाड पर्वहरूः फूलपाती, शिवरात्रि, घोडेजात्रामध्ये शिवरात्रिका दिनमा सेना दिवस मनाउन सुरु गरेको हो। उक्त सामाजिक चाडपर्वहरूमा सेनाको ठूलो जन, धन र परिश्रम खर्च हुन्छ। सेना दिवस छुट्टै मनाउँदा अर्को ठूलो खर्च हुने भएकोले ‘एक पन्त दो काज’ गरी खर्च बचाउनको लागि आजको दिन छानिएको हो। यसमा कुनै धर्म विशेषलाई उचाल्नको लागि होइन। तर भगवान् शिवको ‘सृष्टि र संहार’ गर्ने महिमा भने पक्कै पनि सेनासँग जोडिएको छ।
अर्को महत्त्वपूर्ण पक्ष भनेको सेनाको जन्मदिन कुन हो त ? यो कुरो गैरसैनिक इतिहासकारले होइन विश्वका सैनिक मापदण्डअनुसार नेपाली सेना आफैंले निक्र्योल गर्ने हो। कि त स्थापना भएको दिन, कि त विदेशीलाई पराजित गरेको दिनलाई समाउनुपर्छ। सेनाका जन्म दिनको कुरा गर्दा वि.सं. १६१६ असोज महिनाको १५ देखि २५ गतेभित्र (एउटा दिन यकिन गरेर) राज द्रव्य शाहले सेनापति काजी भगीरथ पन्तको नेतृत्वमा लिगलिग कोट, गोर्खामा सेना खडा भएको प्रमाण छ। राजा द्रव्य शाहदेखि महाराज श्री ५ ज्ञानेन्द्रसम्म कुनै दिन र कहिले पनि त्यो राजवंशको क्रमिकता टुटेन। जब राजनैतिक क्रमिकता टुट्दैन भने त्यो राजवंशअन्तर्गत चलेका आर्थिक, धार्मिक, सामाजिक, सैनिक क्रमिकता कुनै पनि हालतमा टुट्न सक्दैन। वर्तमान सेनाको जन्मघर लिगलिग कोट नै हो। अर्को विकल्प भनेको वि.सं. १८१९ (महिना र दिन खोजेर) मा हामीले बंगाली मुसलमान फौजलाई हराएर विजय प्राप्त गरेको दिन। किनकि ती मुसलमानले पटकपटक काठमाडौं उपत्यकामा हमला गरेर लुटेर लगेका थिए भने सो लडाइँपछि ती मुसलमान कहिल्यै फर्केर आएनन्। हामीले नेपाल एकीकरणका कुनै पनि विजयका दिन लडाइँलाई सेना दिवसको रूपमा लिन सक्दैनौं। किनभने ती सबै छरिएका नेपाल र नेपाली थिए। आफू आफूमा विजय दिवस मनाउन सकिन्न। अन्यथा नेपाल एकीकरण भन्न मिल्ने छैन।
राजा द्रव्य शाहदेखि आजको दिनसम्म पनि सैनिक संगठन र संरचना पक्कै थिए। हो उसबेला स्थायी सेना थिएनन्। बडामहाराज श्री ५ पृथ्वीनारायण शाहले वि.सं. १८१९ मा कम्पनी तहका संरचना खडा गरेपछि नेपाली सेना जन्मियो भन्ने गैरसैनिक तर्कले नेपाली सेनाको इतिहासमा क्षति पुर्याउँदछ। उसो भए वि.सं. १८१९ अगाडि बंगाली सेनाविरुद्धको युद्ध, राजा राम शाहको पालामा लडेको तिब्बतको कुकुरघाटको लडाइँ, अनि पटकपटक उपत्यकाका मल्ल राजाहरूलाई गोर्खाले दिएको सैन्य सहयोग, अनि नुवाकोट, बेलकोट, नाल्दुम, चौकोट, पलाञ्चोक, जहरसिंह पौवा (साँगाचोक) आदिका एकीकरणका लडाइँका जश अब नेपाली सेनाले न लिने त ? यो सेनाको जन्मदिन कि त द्रव्य शाहले सेना स्थापना गरेको दिन कि मुगल सेनालाई मकवानपुरमा हामीले हराएकै दिनलाई सेना दिवस मानेमा अन्तर्राष्ट्रिय मूल्य मान्यता समेटिनेछ। तर यो सेना वि.सं. १६१६ मा नै खडा भई आजको दिनमा ४ सय ६३ वर्ष पुगेको भने पक्का हो।
वि.सं. १८२५ मा कान्तिपुर (नेपाल) जितेर मात्र गोर्खाली सेना नेपाली सेना भयो भनेर लेख्ने केही इतिहासकारका लेखाइ र भनाइमा समेत नेपाली सेना अल्मलिएको छ। लेखकले यो पनि दाबी गर्दछ कि गोर्खालीले नेपाल (काठमाडौं उपत्यका) जितेपछि गोर्खाली नेपाली भए भने तर्क सही होइन। काठमाडौं उपत्यका मात्र नेपाल थिएन र होइन। काठमाडौं उपत्यका लिच्छवि राजवंशदेखि आजसम्म पनि नेपालको राजधानी हो। पूर्वमा आसमको (भारतमा छ) कामक्ष कामरुद्रदेखि पश्चिममा गढवालसम्म इतिहासमा रहेको बृहत् नेपाल मानेर हामीले १९औं शताब्दीमा भएका बाइसे–चौबिसेलगायतका राज्यहरूसँग भएका लडाइँहरूलाई नेपाल एकीकरणको युद्ध मानेका हौं र सत्य पनि त्यही हो। वडामहाराजले वि.सं. १८२५ को इन्द्रजात्राको दिनमा कान्तिपुर विजय गर्नु अगाडिसम्म पनि बृहत् नेपाल र काठमाडौं उपत्यकाभित्र नेपाल भन्ने सिंगो राज्य कही थिएन। उपत्यकाभित्र भक्तपुर, पाटन र कान्तिपुर राज्यहरू थिए। गोर्खा र कान्तिपुरसहित बडामहाराजले विजय गरेका भूगोल मिलाएर नेपाललाई जमिनमा नै देखिएको वि.सं. १८२५ को इन्द्रजात्राको पछि नै हो। तसर्थ कान्तिपुर विजय गरेको दिन मात्र गोर्खाली सेना नेपाली सेना भए भन्नुमा कुनै हालतमा सत्यता छैन भने यो सेनाको जन्म वि.सं. १६१६ मा नै भएको हो।
बाइसे—चौबिसेलगायतका राज्यहरूको प्रचलनअनुसार राज्यलाई पर्दा १२ वर्षदेखि ८० वर्षसम्मका पुरुषहरू घर लौरी एक÷एक जना लडाइँ लड्न जानु पथ्र्यो। यही प्रचलनबाट खडा भएको र अहिले पनि जनताकै छोरी–छोराले भरिएको संस्था हो। नेपाली सेनाको जन्मदेखि हालसम्म पनि यो संस्थाले नेपालीको भलो हुने काम मात्र गरेको छ। संवैधानिक बन्धनबाहेक बाहिर निस्किएको छैन। यो सेनाको अभिभावक बनेर राजादेखि राष्ट्रपतिसम्म र कार्यकारिणी अधिकार बोकेका वि.सं. १६१६ का राजा द्रव्य शाहदेखि आजका प्रधानमन्त्री पुष्पकमल दाहालसम्मले नेपाली सेनालाई काम लगाएकै छन्। सेनाले खुरुखुरु काम गरिरहेकै छ। राजनैतिक र व्यक्तिगत स्वार्थबाट प्रेरित भई यो सेनालाई ‘सलामी–मलामी–गुलामी–लकिरका फकिर’जस्ता अपमानित शब्दले हिलो छ्यापे पनि देशको संविधान र सैनिक ऐनभित्र रहेर आफ्नो कर्तव्यमा खम्बा बनेर बसेको छ। आखिर नम्बरी सुनमा हिलो दलेर गाडे पनि जुगौंसम्म नम्बरी नै हुनेछ। यो जनताको सेना हो।
इतिहासको बृहत् नेपाल, जसमा झन्डै ७० जति राज्य बने। ती टुक्रेका भूगोलमा चेपे नदी पूर्व र लिगलिग कोटबाट अघि बढी राजा द्रव्य शाहले गोर्खा राज्य खडा गरे। उनकै सन्तान राजाहरूले गोर्खाबाट पूर्वमा टिष्टा नदी पुगे। त्यसपछि पश्चिममा काँगडा किल्लाबाहेकको काँगडा राज्यसम्म नेपाली सेनाले बृहत् नेपाल बनायो। यो नेपाल एकीकरण अभियान थियो। विदेशीका साथ र जातीय मातले हामी पढे लेखेका विद्वानहरूले पनि यो नेपाल एकीकरण होइन अतिक्रमण भन्न लाज मानेका छैनौं। तर हामी त्यही माटो माथि नै रमाइरहेका छौं। यो नेपाल बढाउने र बचाउने काम राजा र जनता मिली जनताकै सेनाले गरेका हुन्। वि.सं. १८१९ मा नेपालको अस्मिता माथि धावा बोल्न आएका मुगल सम्राज्यको मिर कासिम नेतृत्वका बैरीहरू, वि.सं. १८२४ मा ब्रिटिस सेनाका क्याप्टेन किनलकमा सेनाविरुद्ध, पल्लो किराँत क्षेत्रमा सिक्किमे सेनाले हमला गर्दा तीन पटकका लडाइँहरू, पञ्जाबका राजा रणजित सिंहले नेतृत्व गरेका सेनाविरुद्धका युद्धहरू यही सेनाले लड्यो।
त्यसैगरी तिब्बतसँग तीन पटक, चीनसँग एक पटक र अंग्रेजसँग दोस्रो पटक वि.सं. १८७१–७२ मा विशाल युद्धहरू लड्यो। नेपाल सरकारकै योजनामा भारतमा भएको सिपाही विद्रोह, पहिलो र दोस्रो विश्वयुद्ध, अफगानिस्तान र बजिरीस्तानका लडाइँ तथा भारत स्वतन्त्र भएपछिको हिन्दू–मुसलमानको काटामार नियन्त्रणमा पनि यो सेनाको प्रशंसनीय काम गर्यो। हाल आएर विश्व शान्ति सेनामा प्रशंसनीय काम गरी नेपालको शिर ठाडो पारेको छ। सरकारका आदेशमा देशको आन्तरिक सशस्त्र क्रान्तिहरू नियन्त्रण गर्ने काम, दैवी प्रकोपमा उद्धारको काम, कोभिड, झाडाबान्ता नियन्त्रणको काम, विकास निर्माण तथा प्रकृति संरक्षणलगायतका कामहरूमा महत्त्वपूर्ण भूमिका खेलेको प्रष्टै छ।
यो जनताकै सेना हो। यो सेना राष्ट्रको सम्पत्ति हो। सेनाको अभिभावक जनता हुन्। नागरिक–सेना सम्बन्ध उच्च रहनु पर्दछ। अन्य देशमाजस्तै सैनिक वीरहरूको सालिक गाउँगाउँमा बनाइनु पर्छ। विभिन्न सैनिक कारबाहीमा घाइते अपांग हुनु हुने वीर सिपाहीहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै देशको लागि वीरगति प्राप्त गर्ने सम्पूर्ण वीर नेपाली सैनिकप्रति हार्दिक श्रद्धाञ्जलि।