प्रथम विश्वयुद्ध समाप्तिपछि ब्रिटिस इन्डिया सरकारले अफगानस्तानविरुद्ध युद्ध गर्ने निर्णय गर्यो। फेरि पनि नेपाली सेनाको माग भयो।
आज महाशिवरात्रि। भगवान् शिवमा समर्पित यही विशेष दिनलाई नेपालमा सेना दिवसका रूपमा मनाइन्छ। राजधानीमा एकातिर आजकै दिन संसारभरबाट आएका लाखौं हिन्दू धर्मावलम्बीको उपस्थितिमा पवित्र पाशुपत क्षेत्रको रौनक उत्कर्षमा पुगेको हुन्छ भने अर्कोतिर टुँडिखेलमा आफ्नो पराक्रमका अनेकौं रंग पस्कँदै गरेको सेनाको जोश पनि उत्तिकै चुलिएको पाइन्छ। टँुडिखेल पर्खालबाहिर सर्वसाधारणदेखि मञ्चमा आसीन देशविदेशका अनेकौं विशिष्ट महानुभावको दृष्टि आकाशदेखि जमिनसम्म कौशल प्रदर्शन गर्दै गरेका सेनाका जवानहरू माथि अडिने गर्छ आजको दिन।
नेपालको सेना– एउटा यस्तो शक्ति जसले गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत नेपाल देश बनायो। वास्तवमा त्यही सेनाको निरन्तरता नै आजको नेपालको नेपाली सेना हो। अब एकपटक अभिलेखहरूमा के छ ? त्यो पनि हेरांै। अभिलेखअनुसार ईसापूर्व ३५० देखि आरम्भ भएको नेपालको इतिहाससँगसँगै नेपालमा सेनाको उपस्थिति रहँदै आएको पाइन्छ। राजा पृथ्वीनारायण शाहले ससाना टुक्रामा छरिएको देशलाई एक देश बनाउने अभियान थालनी गरे। सोही समयदेखि नै उनको सेनाले अनेकौं युद्ध लड्नुपर्ने अवस्था सिर्जना हुनु स्वाभाविकै भयो। जित्ने र हार्ने क्रम चलिरहन्थ्यो। छरिएका विभिन्न राज्यसँग मात्र नभै विदेशीहरूसँग लड्नु पर्ने अवस्थासमेत आउन थाल्यो। जुन नेपाल एकीकरणपश्चात् पनि जारी रह्यो।
वि.सं. १८१९ मा बंगालका नवाब मीर कासिमविरुद्धको युद्ध, वि.सं. १८२३ मा इस्ट इन्डिया कम्पनीका क्याप्टेन जर्ज किनलकविरुद्धको युद्ध, वि.सं. १८७० देखि १८७२ सम्म जितगढ– बुटवल, मकवानपुरगढी, हरिहरपुरगढी, नालापानी र जैथकजस्ता विभिन्न मोर्चामा अंग्रेजसँग युद्ध लड्नु परेको थियो। युद्धको शृंखला उत्तरी सिमानातर्फ पनि जारी थियो। तर यो युद्ध सिमाना रक्षा वा विस्तारका कारणले नभै व्यापारिक कारणले हुन पुगेको थियो। इतिहास भन्छ– त्यतिबेला तिब्बतमा समेत नेपालमा छापिएका चाँदीका सिक्काहरूले मौद्रिक मान्यता पाएको थियो। त्यहाँ चाँदीका सिक्काहरू मल्लकालदेखि नै आपूर्ति हुने गथ्र्यो।
शासनमा आफ्नो वंशको अन्त्य हुनअगावै मल्ल शासकहरूले मिसावट गरिएको चाँदीका सिक्का तिब्बत पठाउन थालेका थिए, यसबारेमा तिब्बतले पूर्ववत् शुद्ध चाँदीका सिक्का पठाउनुपर्ने माग राखे। यो क्रम चलिरहेकै बेला काठमाडौंमा मल्ल शासन अन्त्य भयो र यो विषय पृथ्वीनारायण शाहको जिम्मा आयो। उनले तिब्बती मागबमोजिम शुद्ध चाँदीकै सिक्का छाप्न सकिन्छ कि भन्ने प्रयास पनि गरे। तर उनको मृत्यूको कारणले यो विषय निष्कर्षविहीन भयो। त्यसपश्चात् रानी राजेन्द्रलक्ष्मीको नायबीकालमा पनि स्थिति जस्ताको त्यस्तै रह्यो फलस्वरूप वि.सं. १८४५ मा नेपाल तिब्बत युद्ध निम्तियो। नेपाल तिब्बत युद्धका कारक अरू पनि थिए। पहिलो, राजनीतिक कारणले आफ्ना १४ अनुयायीसहित नेपाल आएका श्यामर्पा लामालाई सुरक्षा दिने नेपालको निर्णय र अर्को पटकपटक ताकेता गर्दा पनि नेपाललाई कम गुणस्तरको नुन आपूर्ति हुँदै गरेको विषय। जतिबेला नेपालमा तिब्बतबाट मात्र नुन आपूर्ति हुने गथ्र्याे।
विभिन्न मोहडाबाट नेपाल र तिब्बतबीच वि.सं. १८४५, १८४८ र १९११ मा गरी तीनपटक युद्ध भएको थियो। नुन र चाँदीको सिक्काबाट आरम्भ भएको नेपाल–तिब्बत युद्धका पछिल्ला कारणहरू अन्ततः आर्थिक र भौगोलिक हुन पुगे। नेपाल एकीकरण भइरहँदा र त्यसपछि समेत नेपालले गरेको युद्धले नेपालीको बहादुरी, साहस र वीरताको छविलाई विश्वसामु उजागर गरायो। प्रायः थोरै संख्या र थोरै हतियारबाटै बहादुरीका साथ बैरीमाथि जाइलाग्ने नेपालीको रणकौशल छिमेकी मुलुक र सरकारहरूका लागि समेत प्रशंसाको विषय बन्दै गए। उपरोक्त युद्धहरूपछि नेपालले प्रत्यक्ष रूपमा आजपर्यन्त दोस्रो मुलुकसँग सैन्य युद्ध गर्नु नपरे पनि आवश्यक परेका बेला विदेशी सरकारहरूका लागि विदेशीभूमिमा सैन्य सहयोग दिँदै आएको छ :
भारतीय सिपाही विद्रोह (वि.सं. १९१३)
अंग्रेज उपनिवेशविरुद्ध भारतमा वि.सं. १८५६ देखि नै स्वतन्त्रता संघर्ष आरम्भ भएको थियो। संघर्षको लहर भारतीय फौजभित्र पनि फैलियो। फलस्वरूप भारत उत्तर प्रदेश, मेरठस्थित ब्यारेकबाट सैनिक विद्रोह आरम्भ भयो। उक्त विद्रोह दमन गर्न अंग्रेज सरकारले नेपाललाई गुहारेपछि आफ्नै नेतृत्वमा प्रधानमन्त्री तथा कमान्डर इन चिफ जंगबहादुर राणा १७ हजार सैनिकसहित खटिए।
दमनको क्रममा करिब पाँच हजार विद्रोही मारिए भने पाँच सय जति पक्राउ परे। यसबाट अंग्रेज सरकारले वि.सं. १८७२ को सुगौली सन्धिमा नेपालले गुमाएको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर क्षेत्र धन्यवादस्वरूप नेपाललाई फिर्ता गर्यो।
प्रथम विश्वयुद्ध (वि.सं. १९७०–१९७२)
जनरलहरू बबरशमशेर, तेजशमसशर र पद्म शमशेरको नेतृत्वमा नेपालले १४ हजार सैनिकसहित प्रथम विश्वयुद्धमा भाग लियो। आफ्नो पेसागत अनुशासन, निपुणता र सहनशीलताका लागि प्रथम विश्वयुद्धमा भाग लिएका नेपाली सैनिकाहरूको प्रशंसा भयो।
वजिरिस्तान युद्ध (वि.सं. १९७३)
इस्ट इन्डिया कम्पनीविरुद्ध वजिरिस्तान (हाल पाकिस्तान) का लडाकु पठानहरूले विद्रोह गरे। यो विद्रोह दमन गर्न पनि अंग्रेजले नेपाललाई गुहार्यो। यो संयुक्त सैनिक अपरेसनमा नेपाली सेना र बेलायती सेनामा कार्यरत गोरखा सैनिकहरू काँधमा काँध मिलाएर युद्धमा होमिए। यो युद्धमा क्षतिको हिस्सा नेपाली सेनाको भागमा बढी परेको थियो भने पदक तथा सम्मानहरू पनि नेपाली सेनालाई बढी हासिल भएको थियो।\
अफगान युद्ध (वि.सं. १९७५)
प्रथम विश्वयुद्ध समाप्तिपछि ब्रिटिस इन्डिया सरकारले अफगानस्तानविरुद्ध युद्ध गर्ने निर्णय गर्यो। फेरि पनि नेपाली सेनाको माग भयो। जसका लागि जनरल बबरशमशेरको नेतृत्वमा नेपाली सेना भारत पुग्दा अंग्रेज सेनाले १३ तोपको सलामी दियो।
युद्धका लागि अफगान सीमा नजिकै अबोटाबाद सहरमा नेपाली सेना एकत्र भयो। उता अफगान शासकहरूले पनि सहयोगका लागि रूसलाई गुहारेका थिए। तर सहयोग प्राप्त नहुने भएपछि बाध्य भएर अफगान सरकारले शान्ति सम्झौता गर्यो। यो युद्धका लागि तीन महिनासम्म नेपाली सेना अफगानिस्तानमा तैनाथ थियो।
दोस्रो विश्वयुद्ध (वि.सं. १९९७–२००२)
दोस्रो विश्वयुद्धमा नेपाली सेनाका १५ गणहरूले भाग लिएका थिए। यस युद्धमा जापान पनि होमिएपछि भारतीय उपमहाद्वीप क्षेत्रमा तैनाथ अंग्रेज सैनिकमाथि खतरा आइलाग्यो। अंग्रेजले भारत तथा बर्मामा नेपाली सेना सम्मिलित आफ्ना सेनाहरू तैनाथ गर्यो।
पहिलो विश्वयुद्धका लागि जाने नेपाली सैनिकहरूलाई काठमाडौंमा बिदाइ गरिँदै । तस्बिर : सुरेश पौडेल
नेपाली सेनाले बहादुरीपूर्वक लड्दै जापानी सेनालाई युद्धस्थलबाट पछि हट्न बाध्य तुल्यायो। पछि नागासाकी र हिरोसिमामा अमेरिकाले फ्याटम्यान र लिटिल ब्वाय नामक अणुबम प्रहार गरेपछि जापानी सेनाले आत्मसमर्पण गर्यो। वि.सं. २००२ को मध्यसम्ममा अधिकांश नेपाली सैनिक काठमाडौं फिर्ता भइसकेका थिए। सोही वर्षको कात्तिकमा एक भव्य समारोह आयोजना गरी विजयोत्सवसमेत मनाइएको थियो। जसमा धेरै नेपाली र अंग्रेज सैनिकहरू सम्मानित भएका थिए।
हैदराबाद कारबाही (वि.सं. २००४)
वि.सं. २००३ मा भारत स्वतन्त्र भयो। भारत छोड्दाछोड्दै पनि अंग्रेजहरूले भारतबाट मुसलमानहरूका लागि भनेर छुट्टै देश पाकिस्तान विभाजित गराइदिए। यही क्रममा भारतका विभिन्न स्थानमा हिन्दू तथा मुसलमान धर्मावलम्बीबीच दंगा फैलियो। दंगा नियन्त्रणका लागि फेरि एकपटक प्रधानमन्त्री जवाहरलाल नेहरूको अनुरोधमा नेपाली सेनाले भारतलाई सहयोग गर्ने निर्णय गर्यो।
मेजर जनरल शरदशमशेर जबराको नेतृत्वमा नेपाली सेना भारतका विभिन्न दंगाग्रस्त क्षेत्रहरूमा तैनाथ भयो। हैदराबादमा आफ्नो मुकाम बनाएको करिब आठ महिनापछि काम सम्पन्न गरेर नेपाली सेना स्वदेश फर्कियो।
राष्ट्रसंघीय शान्ति सैनिक
संयुक्त राष्ट्रसंघमार्फत संसारका अनेकांै द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ नेपाली सेना तैनाथ हुन थालेको पनि दशकौ भइसकेको छ। राष्ट्रसंघमा नेपाली सेनाको यो उपस्थिति अन्तर्राष्ट्रिय जगत्मा नेपाल र नेपालीको छवि एवं पहिचान स्थापित गर्ने एउटा मञ्च बन्दै आएको छ। शान्ति स्थापनामा खटिने नेपाली सेनाको उपस्थिति र कार्य सम्पादनको सदैव प्रशंसा हुँदै आएको छ।
खम्पा निशस्त्रीकरण
नेपाल एकीकरणको आन्तरिक युद्धमा होमिँदै अनेकौं बाह्य युद्धमा सहभागी हुँदै आएको नेपाली सेना पुनः एकपटक सशस्त्र आन्तरिक परिचालनमा खटिनु पर्यो। अर्थात् २०२६ सालतिर तिब्बती मूलका करिब ९ हजार खम्पा लडाकुहरूले नेपाल–तिब्बत सीमा पार गरी नेपाल प्रवेश गरे। त्यसपछि नेपालका उच्च हिमाली भूभागमा आफ्नो आधार शिविर खडा गरी चीन अधीनस्थ तिब्बती क्षेत्रमा विभिन्न आपराधिक कार्यहरू सञ्चालन गरेको पाइन्छ।
२०२९ सालसम्ममा विभिन्न विदेशी सहयोग प्राप्त गर्दै आएका खम्पाहरूले मुस्ताङमा आफ्नो बलियो आधार स्थापना गरिसकेका हुन्छन्। खम्पालाई उनीहरूको आपराधिक क्रियाकलाप बन्द गराउन विभिन्न कूटनीतिक प्रयास विफल गराए। त्यसपछि बाध्यतावश नेपाली सेना खम्पा निशस्त्रीकरण अभियानमा सशस्त्र रूपमा खटिनु पर्यो। फलस्वरूप २०३१ सालमा खम्पा कमान्डर वांगदीले नेपाली सेनासमक्ष आत्मसमर्पण गर्न सहमत भए। तर पछि उनी सैनिक घेरा तोडेर भागे। अन्त्यमा नेपाली सेनाको धरापमा परी दार्चुलाको टिंकर इलाकामा उनी मारिए।
वि.सं. २०५८ देखि २०६३ सम्म देशभित्रकै सशस्त्र विद्रोहविरुद्ध एकपटक फेरि आन्तरिक परिचालनमा नेपाली खटिनु परेको तथ्य सबैमा विदितै छ। सेना सधैंभरि युद्धरत मात्र रहँदैन, राष्ट्रिय अखण्डताको रक्षा मुख्य जिम्मेवारी हो। यद्यपि विभिन्न विकास निर्माण, जैविक विविधता संरक्षण, प्राकृतिक प्रकोपबाट उद्धार, वातावरण संरक्षणलगायत देशका सांस्कृतिक सम्पदा एवं परम्पराहरूको संरक्षणजस्ता विविध कार्यमा समेत नेपाली सेना संलग्न रहँदै आएको छ।
पृथ्वीनारायण शाहको पालामा नुवाकोट विजयपछि ‘गोर्खाली सेना’, चन्द्रशमशेरको पालामा ‘नेपाली सेना’, राजा महेन्द्रको पालामा ‘शाही सेना’, राजा वीरेन्द्रको पालामा ‘शाही नेपाली सेना’ र गणतन्त्र नेपालको ‘नेपाली सेना’ हामी नेपालीको साझा शक्ति हो। आफ्नो भूमि, पहिचान र स्वाभिमान जोगाउने संगठित शक्ति हो।