शिवरात्रीमा यस्तो देखियो भक्तपुरका शिवालय
भक्तपुर: महाशिवरात्रीका अवसरमा शनिबार बिहानैदेखि भक्तपुरका विभिन्न शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।
महादेवको पूजाआजा गरी धुमधामका साथ मनाइने शिवरात्रीको अवसरमा भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव, भक्तपुर नगरको दत्तात्रय, चाँगुनारायणको यातु महादेव, सुवर्णेश्वर, अनन्तलिङ्गेश्वर, आशापुरीलगायतका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको हो।
शिवरात्रीको अवसरमा डोलेश्वर महादेव मन्दिरमा भक्तजन स्वयम् मन्दिरभित्र प्रवेश गरी पूजा गर्ने व्यवस्था गरिएको थियो। अन्य दिन पुजारीमार्फत पूजा गर्ने यस मन्दिरमा वर्षको तीन दिन भक्तजन स्वयम् मन्दिरभित्र प्रवेश गरी पूजा गराउने परम्परा रहेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ।
डोलेश्वर महादेव मन्दिरमा अक्षय तृतीया, डोलेश्वरलाई केदारनाथको शिर घोषणा गरेको दिन भदौ ६ गते र शिव रात्रीको दिन भक्तजन मन्दिरभित्र प्रवेश गरी स्वयमले पूजा गर्न पाइने व्यवस्था छ।
महाशिवरात्रीका दिन सुरक्षा व्यवस्थाका लागि महानगरीय प्रहरी वृत्त जगातीबाट सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाबाट स्वयंसेवक परिचालन गरिएको समितिले जनाएको छ । महाशिवरात्री दर्शनका लागि भारतका विभिन्न स्थान तथा नेपालका विभिन्न स्थानबाट तीन सय भन्दा वढी साधुसन्त आएको बताइएको छ ।
डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव हरिशरण बस्नेतका अनुसार परम्पराअनुसार जोगी, सन्त, महन्थलाई स्वागत तथा बिदाइ समितिले गर्ने गरेको छ । समितिले साधुसन्तलाई मन्दिर परिसरमा धुनी जगाई बस्नको लागि दाउराको व्यवस्था गरेको उनले बताए ।
वार्षिक कार्यक्रम अनुसार शिवरात्रीका दिन सर्वसाधारण भक्तजनहरूका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि राती १२ बजेसम्म खुल्ला हुने जनाइयो ।
यसैरात आआफ्नो चोकहरुमा, मन्दिरहरुमा आगो बाली शिवमा समर्पित गर्ने गर्दछ र १००० पटक “शिव शिव शिव“ भनेर उच्चारण गरे भगवान शिव प्रसन्न हुन्छ भने जनविश्वास छ। आजकै रात मकै, भटमास, छुस्या (भुटेको गहुँ), हरियो लसुनको भोग गरी जागरण बस्ने समेत गर्दछ ।