सम्झौताको तीन वर्षमा पनि बनेन पुल
रौतहट: सम्झौता सकिएको तीन वर्ष बितिसक्दा पनि पुल नबनेपछि गैडाटारका बासिन्दा आन्दोलनको तयारीमा जुटेका छन्।
चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा निर्माणाधीन चाँदी पुल निर्माणमा ढिलासुस्ती भएपछि स्थानीयले सास्ती खेप्दै आएका छन्। पुल निर्माणको विषयमा यसअघि सडक डिभिजन प्रमुख र ठेकेदार राखी छलफल हुँदा भएका सम्झौताको १० प्रतिशत पनि कार्यान्वयन नभएको गुनासो छ।
डिभिजन प्रमुखको नै संलग्तामा ठेकेदारसँग अनुचित लाभलिई निर्माणमा ढिलाई गरिरहेको होकी भन्ने आशंका उत्पन्न भएको स्थानीयको भनाइ छ।
फागुन ९ गतेसम्म पुल निर्माण स्थलमा दुवै तर्फ कामदार राखी पुललाई आवश्यक पर्ने सामग्री पर्याप्त राखी निर्माण कार्य तीव्र गतिमा संचालन नभए वडा कार्यालयको नेतृत्वमा सडक डिभिजन कार्यालयबाट हुने सेवा बन्द गराई राजमार्गमा रिले अनसनमा बस्ने निर्णय भएको वडा अध्यक्ष बोधनाथ देवकोटाले बताए।
२०७३ पुसमा गैडाटार स्थित चाँदी नदी पुलको निर्माणका लागि पप्पु शिवशंकर जेभी कन्स्ट्रक्सनले २२ करोड ४४ लाख ४६ हजार २ सय ६७ रुपैयाँ ८१ पैसामा ठेक्का पाएको थियो। पुलको लम्बाइ ४६९.५० मिटर र चौडाई ७.५० मिटर रहने डिभिजन सडक कार्यालय रौतहटका प्रमुख दरोगाप्रसाद साहले जानकारी दिए। पुलमा ११ वटा स्पान रहने तथा उक्त पुल २०७६ असार मसान्त सम्ममा सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो।
तीनवर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने पुलको काम आधामात्र सकिएको छ। ठेकेदारले पुल बनाउन ढिलो गरेको भन्दै गैडाटारबासीले संघर्ष समिति बनाएर ठेकेदारलाई दवाव दिँदै आएका थिए।
वर्खाको बेला बिरामी, बालबालिका, वृद्धवृद्धा, सुत्केरी गराउन चन्द्रपुरमा रहेको स्वास्थ्य संस्थामा आउजाउ गर्न निकै सास्ति खेप्नु पर्ने स्थानीय बताउँछन्।