स्टेफनलाई पोखरा म्याराथन उपाधि
पोखरा : केन्याली धावक स्टेफन कोसगेईले १७औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन्।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको म्याराथनमा उनले निधारित ४२.१९५ किमी दूरी दुई घण्टा २० मिनेट ०७ सेकेन्डमा पूरा गर्दै पाँच लाख नगद पुरस्कार जितेका हुन्। स्टेफन १६औं संस्करणका पनि उपाधि विजेता हुन्।
दोस्रो स्थान पनि केन्याली धावकले नै हात पारे। जुलियस मोरियकीले दुई घण्टा २० मिनेट ३७ सेकेन्डमा दूरी पुरा गर्दै तीना लाख रुपैयाँ प्राप्त गरे। आर्मीका होलाल श्रेष्ठ तेस्रो भए। श्रेष्ठले दुई घण्टा २५ मिनेट १४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै दुई लाख रुपैयाँ पाए। केन्याली धावक सिमिओन किप्लाले दुई घण्टा २९ मिनेट ३५ सेकेन्डका साथ सान्त्वना पुरस्कार ३० हजार रुपैयाँ पाए।
पुलिसकी राजपुरालाई उपाधि
पोखरामा शनिबार सम्पन्न महिलातर्फको हाफ म्याराथनको उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेकी छन्। उनले निर्धारित दूरी एक घण्टा २१ मिनेट ११ सेकेन्डमा पूरा गरिन्। एपीएफकी बृन्दा श्रेष्ठ दोस्रो भइन्। उनले निर्धारित दूरी एक घण्टा २६ मिनेट २८ सेकेन्डमा पूरा गरिन। आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले निर्धारित दूरी एक घण्टा ३१ मिनेट चार सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हात पारिन्। हाफ म्याराथनका विजेताले एक लाख ५० हजार, दोस्रोले एक लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाए।
१० किलोमिटरमा रावत पहिलो
पोखरा म्याराथनअन्तर्गत १० किलोमिटर महिलातर्फको प्रतिस्पर्धामा एपीएफकी आशा रावत पहिलो भइन्। उनले निधारित दूरी ५० मिनेट १२.३ सेकेन्डमा पूरा गरिन्। यसैगरी दोस्रो स्थान नेपाल पुलिसकी धाविका बृष्मा कुमाल भइन्। उनले निधारित दूरी ५० मिनेट २९.६४ सेकेन्डमा पूरा गरिन। आर्मीकी कल्पना खड्काले निधारित दूरी ५१ मिनेट ०६.७७ सकेकेन्डमा पूरा गर्दै तेस्रो भइन्। यस विधाका शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३०, २० र १५ हजार नगद पुरस्कार पाए।
पुरुष तर्फ नेपाली सेनाका श्रेष्ठ प्रथम
पुरुषतर्फको १० किलोमिट दौडमा आर्मीका सञ्जय श्रेष्ठले निधारित दूरी ३६ मिनेट २९.९ सकेन्डमा पूरा गर्दै पहिलो भए। आर्मीकै सुवास कार्कीले निधारित दूरी ३६ मिनेट ५४.९ सेकेन्डमा पूरा गरे। यसैगरी तेस्रो भएका पाँचथरका दीपक सुहाङले निर्धारित दूरी ३७ मिनेट ००.८ सेकेन्डमा पूरा गरे।