५ वर्ष टिकेनन् कुनै पनि सरकार

प्रजातन्त्रका योद्धा जनता किन सधैं रैती ?

प्रजातन्त्रका योद्धा जनता किन सधैं रैती ?

 १९०३ बाट सुरु भएको जहानियाँ शासन २००७ सालसम्म चलेको थियो। त्यो बेला राणाहरूको पारिवारिक शासन थियो। उनीहरूले जनतालाई रैती सम्झिन्थे। शासनको समय जनता मात्र होइन राजासमेत शक्तिविहीन थिए। उनीहरू खोपीमा सीमित बनाइएका थिए। 

काठमाडौं : नेपालमा व्यवस्था परिवर्तनका लागि राजनीतिक दलकै अग्रसरतमा पटक–पटक आन्दोलन भए। प्रजातन्त्र स्थापना र राजनीति परिवर्तनका लागि भएका आन्दोलनमा सैयौंले ज्यान गुमाए। समय–समयका व्यवस्था फेरिए पनि। त्यसमध्ये २००७ सालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनको छुट्टै महत्व छ। त्यसबेलाको आन्दोलनले मुलुकमा प्रजातन्त्र स्थापना गर्‍यो। तर, के त्यसपछिका राजनीतिक नेतृत्वले लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्न सके त ? आजका राजनीतिज्ञले प्रजातन्त्रको त्यो जगलाई गणतन्त्रसम्म आइपुग्दा कति बलियो बनाए ? जनजीवनका मुद्दा कति सम्बोधन भए ? नेपालको इतिहासमा जनता ‘स्वतन्त्र’ भएको ७२ वर्षपछि पनि प्रश्न कायमै छ।

प्रजातन्त्र स्थापना भएको सात दशक बढी भएको छ। यति लामो अन्तरालमा विश्वका धेरै देशहरूले आर्थिक रूपमा कायापलट गरे। तर, नेपालमा आर्थिक विकास र समृद्धिको नारा मात्रै लागे। काम भएन। राजनीतिक परिवर्तन र संघर्षको अवस्था हेर्ने हो भने देशको विकास दु्रत गतिमा हुनुपथ्र्यो। त्यो हुन सकेन। 

जनतद्वारा जनताका लागि जनताले गर्ने शासन व्यवस्था नै प्रजातन्त्र भए पनि त्यो नारा मात्रै भएको राजनीतिक विश्लेषक नै बताउँछन्। पूर्वसभामुख दमननाथ ढुंगाना भन्छन्, ‘यो देश २००७ सालदेखि नै संक्रमणकालमा नै छ। २०७२ सालमा संविधानसभाबाट संविधान बने पनि संक्रमण हट्ला भने आशा थियो। तर, अवस्था त्यस्तो आएन।’

यो देश २००७ सालदेखि नै संक्रमणकालमा नै छ। २०७२ सालमा संविधानसभाबाट संविधान बने पछि संक्रमण हट्ला भने आशा थियो। तर, अवस्था त्यस्तो आएन।

दमननाथ ढुंगाना, पूर्वसभामुख

राजनीति परिवर्तनको इतिहास हेर्दा आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन हुनुपथ्र्याे। राजनीतिक परिवर्तन हुने। तर, त्यस उपलब्धिको रक्षा नहुने अवस्था अझै रहेको ढंगाना बताउँछन्। भन्छन्, ‘प्रजातन्त्र र राष्ट्र निर्माण सँगसँगै लैजान सक्ने राजनीतिक दल र नेतृत्वको अभावकै कारण समस्या आएको छ। राजनीतिक परिवर्तन भए पनि देश निर्माणको गति अघि नबढ्नेमा पार्टी र उसको नेतृत्व नै जिम्मेवार छ।’ 

पार्टी र उसको नेतृत्व अक्षमता कारण परिवर्तन चाहनाअनुसार कार्यान्वन हुन नसकेको ढुंगाना बताउँछन। ‘नेतृत्वले पार्टी पोस्ने काम मात्रै गर्‍यो। राजनीतिक दलको संस्थागत विकास भएन। त्यतातिर उनीहरूको ध्यान पनि गएन। कानुनको पालना भएन। पदअनुसार योग्य व्यक्ति नियुक्त भएनन्। बफादारलाई मात्रै अवसर दिने काम भयो,’ उनले भने। 

प्रजातन्त्रपछि धेरै काम भएका छन्। तर, जसरी हुनुपर्ने र जति हुनुपर्ने हो, त्यतिचाहिँ भएको छैन।
नीलाम्बर आचार्य, विश्लेषक

२०४७ सालको अन्तरिम सरकारका मन्त्रीसमेत बनेका नीलाम्बर आचार्य प्रजातन्त्रले देशको जग निर्माण भएको बताउँछन्। प्रजातन्त्रपछि नै प्रशासन, राजनीति, सामाजिक, बाह्य क्षेत्र र जगतसँग सम्बन्धको जग बसेको उनी बताउँछन्। अभिव्यक्ति, नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, बाह्य लगानी आउने काम पनि प्रजातन्त्रपछि नै भएको उनको तर्क छ। भन्छन्, ‘प्रजातन्त्रपछि धेरै काम भएका छन्। तर, पनि जसरी हुनुपर्ने र जति हुनुपर्ने त्यतिचाहिँ भएको छैन। त्योभन्दा पहिला बाह्य जगतसँग सम्बन्ध थियो तर बाह्य मुलुकसँग सम्बन्ध विस्तार पनि प्रजातन्त्र आएपछि नै भएका हुन्।’ सत्ता केन्द्रित राजनीतिकै कारण देशले सोचेजति गति लिन नसकेको उनी पनि बताउँछन्। उनका अनुसार जसरी सामाजिक र आर्थिक समृद्धि हासिल हुनुपर्ने थियो त्यो भएन। 

राजनीतिक विश्लेषक डा. लोकराज बराल यो सात दशकमा धेरै उन्नति परिवर्तन भए पनि राजनीतिक दलका कमीकमजोरीका कारण लोकतन्त्र भने बरालिरहेको बताउँछन्। उनले ठूला–ठूला परिवर्तन पनि संस्थागत गर्न दल नै चुकेको बताए। जसकारण अस्थिरतासमेत सिर्जना भएको उनको भनाइ छ।

‘दलका नेता, जो परिवर्तनका बाहक हुन्, उनीहरू नै अलि संवेदनशील भएनन्। उनीहरूले दीर्घकालीन सोच राखेनन्। आत्माकेन्द्रित भए,’ उनले भने, ‘जसले गर्दा परिवर्तन संस्थागत हुन नसकेको हो।’ डा. बराल पनि चाहेजति आर्थिक विकास हुनुमा दल नै जिम्मेवार रहेको दाबी गर्छन्। सबै पूर्णता हुन भने नसक्ने बताउँदै उनले भने, ‘प्रजातन्त्र आएपछि धेरै उन्नति भएको छ। जनताका ढोका खोलिदिएको छ। नत्र त्योभन्दा पहिला न जनता घरबाट बाहिर निस्कन सक्थे, न बोल्न नै। राजनीतिक मात्र होइन। आर्थिक, सामाजिक, शैक्षिक र भौतिक पूर्वाधारमा धेरै परिवर्तन नभएका होइन।’   

कुन समय कसरी भए परिवर्तन ?

२००७ साल : प्रजातन्त्र स्थापना 

नेपालको राजनीति वृत्तमा २००७ साल फागुन ७ को विशेष महत्व छ। यो समय राणा शासन अन्त्य भई प्रजातन्त्रको स्थापना भएको दिने हो। १९०३ बाट सुरु भएको जहानियाँ शासन २००७ सालसम्म चलेको थियो। त्यो बेला राणाहरूको पारिवारिक शासन थियो। उनीहरूले जनतालाई रैती सम्झिन्थे। शासनको समय जनता मात्र होइन राजासमेत शक्तिविहीन थिए। उनीहरू खोपीमा सीमित बनाइएका थिए। 

राजासँग मिलेर गरेको संघर्षपछि प्रजातन्त्रको उदय भो। जनताले स्वतन्त्रताको श्वास फेर्न पाए। आफूलाई लागेका कुरा खुला रूपमा बोल्न सक्ने अवस्थाको सिर्जना भायो। त्यो बेला राणा शासनद्वारा जनता प्रताडित थिए। उनीहरू खुला रूपमा बोल्न पनि सक्दैन थिए। प्रजातन्त्र आए पनि देशमा स्थिरता आउन सकेन। पटक–पटक सरकार परिवर्तन भइरहे। २०१५ सालमा मात्रै आमनिर्वाचन भयो। निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो। 

२००७ सालको क्रान्तिपछि नेपालमा राणा शासनको अन्त्य भई फागुन ७ गते प्रजातन्त्र स्थापना भएपछि सर्वप्रथम गठन भएको राणा–कांग्रेस मन्त्रिमण्डल सहितका व्यक्ति। यो मन्त्रिमण्डलको बागडोर मोहनशमशेर जबराले सम्हालेका थिए। उनले आफ्नो नेतृत्वमा १० जनाको मन्त्रिमण्डल गठन गरेका थिए। यसलाई नेपालमा प्रजातन्त्र उदय भएपछि गठन भएको पहिलो मन्त्रिमण्डल भनिन्छ।  

 

बीपी कोइरालाको नेतृत्वमा सरकार बन्यो। तर, आपसी खिचातानी र तत्कालीन राजा महेन्द्र शाहको महत्वकांक्षीले यो सरकारको आयु छोटो भयो। पूर्वसभामुख ढुंगाना २००७ देखि २०१७ सालसम्म अस्थिरतामा नै समय व्यतित भएको बताउँछन्। ‘बीपीको सरकारले गति लिन थालेको थियो। राष्ट्र निर्माणको काम पनि सुरुवात भएका थिए। तर, त्यसमा प्रहार भइहाल्यो,’ उनले भने, ‘यसरी २००७ देखि २०१७ सालसम्म अस्थिरतामा बित्यो।’ 

अपदस्थ गर्दै तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ मा पञ्चायती व्यवस्थाको प्रदुर्भाव गरे। शासनसत्ता सबै आफ्नो हातमा लिए। प्रजातन्त्रको हत्या भयो। सबै दलहरूलाई प्रतिबन्ध लगाइयो। एकदलीय निरंकुश पञ्चायती शासनको सुरुवात भयो। पञ्चायतविरुद्ध निरन्तर आन्दोलन चलिरह्यो। 

२०३६/३७ साल : जनमत संग्रह 

पञ्चायती व्यवस्थाप्रति जनता आन्दोलित हुन थाले। २०३६ सालमा ठूलो विद्यार्थी आन्दोलन भयो। जनमत संग्रह गर्न पञ्चायती शासक बाध्य भए। सुधारिएको पञ्चायती व्यवस्था कि बहुदलीय व्यवस्था भन्ने दुई विषयमा भएको जनमत सग्रह भयो। तर, व्यापक धाँधली गरी पञ्चायती व्यवस्थालाई जिताइयो। यसपछि पनि प्रजातन्त्रका लागि निरन्तर आन्दोलन भइरहे। कांग्रेस र कम्युनिस्टले पञ्चायती व्यवस्थाविरुद्ध लडेको ढुंगाना बताउँछन्। 

२०४६ साल : प्रजातन्त्रको पुनर्स्थापना 

२०४६ सालमा जनताको संघर्षबाट प्रजातन्त्र पुनस्र्थापना र बहुलदीय व्यवस्थाको स्थापना भयो। ३० वर्षे एकतान्त्रिक निरंकुश पञ्चायती शासन अन्त्य भयो। सर्वभौमसत्ता जनताको हातमा आयो। २०४७ सालमा संविधान बन्यो। २०४८ सालमा आमनिर्वाचन भयो। नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए। 

प्रजातन्त्रप्राप्तिको खुसियालीमा २०४६ चैत २७ मा इन्द्रचोकमा निस्किएको जुलुस।

२०४६ पछि मुलुकमा केही काम सुरुवात हुन थालेका थिए। तर, त्यसपछि पुन हिंसा राजनीतिको सुरुवात भयो। दलहरू पनि अस्थिर भए। नेकपा माओवादी संसदीय व्यवस्थाप्रति नै असन्तुष्टि प्रकट गर्दै सशस्त्र संघर्ष होमियो। १० वर्ष देश हिंसाको भुमरी जकडियो। यो अबधिमा १७ हजार नेपालीले ज्यान गुमाए। धेरै अझै बेपत्ता छन्। हिंसाको निहुँमा २०४६ सालको उपलब्धि पनि २०६१ माघ १९ को शाही कदमका नाममा समाप्त पार्ने काम भयो। नेता ढुंगाना हिंसाको राजनीतिले सुरुवात भएको राष्ट्र निर्माणको काम यसै रोकिएको बताउँछन्। 

२०६२/०६३ : गणतन्त्रको स्थापना 

हिंसाको निहुँमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हात लिएपछि सशस्त्र संघर्ष गरिरहेको माओवादी र शाही शासनविरुद्ध लडिरहेका राजनीतिक दल एक ठाउँमा आउनुपर्ने अवस्था भयो। भारतको दिल्लीमा १२ बुँद्धे सहमति गरी सात राजनीतिक दल र माओवादी जनआन्दोलन उत्रिए। 

२०६२ चैत २४ बाट नियमित चलेको १९ दिने जनआन्दोलनसँगै २०६३ वैशाख ११ मा लोकतन्त्र स्थापना गर्‍यो। प्रजातन्त्रलाई लोकतन्त्र भन्न थालियो। प्रजातन्त्र शब्द नै हराएर लोकतन्त्र भएको छ। माओवादीको १० वर्षे सशस्त्र संघर्षको अन्त्य भयो। युद्धको भय र त्रासमा जनता मुक्ति पाए। माओवादीले यो संघर्षलाई ‘जनयुद्ध’ भन्यो। 

२०६२÷६३ को जनआन्दोलनले मुलुकमा गणतन्त्र आयो। २०६४ सालको पहिलो संविधानसभामा १० वर्ष सशस्त्र संघर्ष गरेको माओवादी नै ठूलो पार्टी भयो र सरकार पनि बनायो। तर, उसको सरकार पनि ९ महिना पनि टिकेनन्। त्यसपछि बनेका कुनै पनि सरकारले पूर्ण अवधि शासन गर्न पाइनन्।  गणतन्त्र आएको पनि दुई दशक हुन लागिसकेको छ। संविधानसभामार्फत २०७२ साल असोज ३ मा नयाँ संविधान बनेको छ। देशमा संघीयता पनि आएको छ। अधिकारको बाँडफाँट भएको छ। संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकार छन्। जनताका छोराछोरी डा. रामवरण यादव र विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेका छन्। संविधान बनेपछि नै दुई आमनिर्वाचन पनि भइसकेका छन्।  

मंसिर ४ मा भएको आमनिर्वाचनमा आएको मिश्रित परिणामपछि तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन्। उनी पुस १० गते प्रधानमन्त्री भएका पनि दाहाल राजनीतिक जोडघटाउमा व्यस्त छन्। देश समृद्धि विकासको बाटोमा लानुभन्दा पनि राष्ट्रपति कसलाई बनाउने भन्नेमा नै उनको ध्याउन्न सरकार बनेदेखि केन्द्रित छ। २००७ पछि राजनीतिक परिवर्तनको शृंखला हेर्दा देशले आज कायापलट गरिसक्नु पर्ने हो। तर, आर्थिक विकास, समृद्धिको के कुरा लोकतन्त्र(प्रजातन्त्र) नै जोखिम पर्ने अवस्था आएको छ।  


५ वर्ष टिकेनन् कुनै पनि सरकार

२००७ सालपछि बनेका कुनै पनि सरकार पूरा अवधि टिकेका छैनन्। २००७ सालमा प्रजातन्त्र आएपछि पहिलो प्रधानमन्त्री मोहनशमशेर जबरा भए। उनको शासन पनि लामो टिकेन। 

त्यसपछि मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री बने। जनताको छोरा मध्येबाट पहिलो प्रधानमन्त्री हुने व्यक्ति कोइराला हुन्। पार्टीभित्रकै खिचातानी र विवादले कोइराला पनि छोटो समयमा सत्ताबाट बाहिरिनु पर्‍यो। त्यसपछि डा. केआइ सिंह, टंकप्रसाद आचार्य प्रधानमन्त्री बने। उनीहरूको अवधि पनि छोटो नै रह्यो।  त्यसपछि सुवर्णशमशेर राणालाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइयो। उनले २०१५ सालको आमनिर्वाचन गरे। अनि बीपी कोइराला प्रधानमन्त्री बने। राजा महेन्द्रले २०१७ सालमा कोइरालाको दुईतिहाइको सरकारलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिए। २००७ देखि २०१७ सालसम्म अस्थिर नै समय रहेको ढुंगाना बताउँछन्। 

एकतान्त्रिक पञ्चायती व्यवस्थाका बेला पनि राजाले चाहेका व्यक्ति प्रधानमन्त्री हुन्थे। उनीहरू पनि छोटोछोटो समयमा बिदा पाउँथे। पञ्चायत आएपछि पहिलो मन्त्रिपरिषद्को अध्यक्ष डा. तुलसी गिरी बने। त्यसपछि सूर्यबहादुर थापा मन्त्रिपरिषिद्कै अध्यक्ष बनाइए। २०२५ सालमा आएर मात्रै कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री बनाइयो। नागेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द, मरिचमान श्रेष्ठ प्रधानमन्त्री भए। पञ्चायतमा आलोपालो गरेर पुरानैअनुसार दोहोर्‍याइयो तर पूरा अवधि भने कसैलाई पनि बनाइए। 

२०४६ पछिको अवस्था पनि यस्तै छ। अन्तिमकालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने। त्यसपछि आमनिर्वाचनले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनायो। कांग्रेसबाट बहुमतसहित प्रधानमन्त्री बनेका कोइरालाको सरकार पनि ३ वर्षभन्दा लामो समय टिकेन। २०५१ मा मध्यवधि भयो। एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बने। उनको सरकार लोकप्रिय भए पनि ९ महिनाभन्दा बढी टिकेन। त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भए।  देउवापछि लोकेन्द्रबहादुर चन्द, सूर्यबहाुर थापा प्रधानमन्त्री बने। पुन: गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। २०५१ देखि २०५६ को अबधिमा अझ धेरै सरकार परिवर्नत भए। यो अवधिमा सुरासुन्दरी, पजेरो, सुत्केरी भत्ताजस्ता विकृति भित्रिए। 

२०५६ सालको निर्वाचन पनि कांग्रेसले बहुमत ल्यायो तर कांग्रेसबाटै प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराई छोटा अबधिमा पदच्युत गरियो। फेरि गिराजाप्रसाद कोइराला प्रधानमन्त्री बने। कोइरालापछि देउवा बने। राजा ज्ञानेन्द्रले अक्षम भन्दै देउवालाई हटाएर सत्ता आफ्नै हात लिए।  २०६२÷६३ को जनआन्दोलनपछि धेरै प्रधानमन्त्री परिवर्तन भए। पहिलो संविधानसभाबाट पुष्पकमल दाहाल प्रधानमन्त्री बने। उनको सरकार ९ महिनामा ढल्यो। त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने। निर्वाचन गराउनका लागि दलहरूले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष पनि त्यही अबधिमा बनाए। २०७० को दोस्रो संविधान सभापछि सुशील कोइराला प्रधानमन्त्री भए। 

एमाले र कांग्रेसको सहमतिमा प्रधानमन्त्री बनेका कोइरालाले संविधान जारी गरेपछि सत्ता छोड्ने पूर्वसहमति कार्यान्वयन गरेनन्। त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए। ओलीपछि दाहाल, दाहालपछि देउवा प्रधानमन्त्री भए। २०७० देखि ७४ का बीचमा ४ जना प्रधानमन्त्री भए। २०७४ सालमा आमनिर्वाचनपछि केपी ओली प्रधानमन्त्री भए। उनको सरकार साढे तीन वर्षसम्म गयो। त्यसपछि परमादेशबाट देउवा प्रधानमन्त्री भए। २०७९ को निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री भएका छन्। अब उनको यो कार्यकाल पनि कति दिन चल्छ भन्ने आंशका नै छ। 


धर्मराज थापाको कविता : धुरुधुरु नरोऊ आमा


धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला।
हृदयका तिम्रा फूल भाइ–बहिनीलाई
काख राखी आज खेल्छौं जिन्दगी फुलाई
नेपालको संसारमा शान राखी छोड्छौं
झलमल बत्ती बाली अन्धकार फाल्छौं।
धुरुधुरु नरोऊ आमा...

तिम्रो गीत गाई गाई हाँसी–हाँसी मर्छौं
यो पहरे छाती खोली फाँसी पनि चढ्छौं
झर्ने फूल यो जीवन बलि चढाइदिन्छौं
अशिक्षाको बाँध फोरी बाटो खुलाइदिन्छौ
धुरुधुरु नरोऊ आमा...

बोल्छौं हामी हिमालको चुचुरामा चढी
खोल्छौं हामी कारखाना लाखौं कुरा पढी
एउटै गीत अलापेर खेल्छौं हामी भैलो
बलैसित उघारेर हृदयको दैलो
धुरुधुरु नरोऊ आमा...

तिम्रो दूध अन्न जल बाँडीचुँडी खान्छौं
कोही काख कोही पाख हामी किन हुन्छौं
तिमीलाई घुमाएर माथि–माथि लान्छौं
निधारमा चन्द्रमाको टीका लगाइदिन्छौं
धुरुधुरु नरोऊ आमा...

झुल्के घाम रेशमको खास्टो ओढाइदिन्छौं
सात–रंगे इन्द्रेनीको हार लगाइदिन्छौं
झिलिमिली शीतबिन्दु सितारा लाइदिन्छौं
तिमीलाई संसारकी राम्री बनाइदिन्छौं
धुरुधुरु नरोऊ आमा...

बन–तरी–लम्चोकोसे गाजल लगाइदिन्छौं
तराईको नीलोरंगी सारी लगाइदिन्छौं
अधरमा हिमालको लाली लगाइदिन्छौं
कोरीबाटी नदीनाला चुल्ठी लर्काइदिन्छौं
धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.