महाशिवरात्रिमा पशुपतिमा भक्त–सागर

महाशिवरात्रिमा पशुपतिमा भक्त–सागर
फाइल तस्बिर।

काठमाडौं : पशुपतिनाथ मन्दिर क्षेत्र शनिबार बिहानैदेखि अबेर रातिसम्म भक्त सागरले भरिभराउ रह्यो। पाशुपात क्षेत्र ‘जय शम्भो, हर हर महादेव’ जस्ता धुनले गुञ्जयमान रह्यो। पशुपतिनाथ मन्दिर क्षेत्रको वातावरणले जो कोहीलाई मन्त्रमुग्ध बनाउँथ्यो। महाशिवरात्री पर्वको विशेष महत्व झल्काउँथ्यो। जहँ भक्तजन, साधुसन्त शिवरात्रीको रंगमा रंगिए। जीवनमा कम्तीमा एकपटक आराध्यदेव पशुपतिनाथको दर्शन गर्न मानिसहरू लालाहित हुन्छन्। शनिबार १२ घण्टासम्म लाम लागेर भक्तजनले पशुपतिनाथको दर्शन गरे। रंगीविरंगी फूल र बिजुली बत्तीले मन्दिरलाई बेहुलीझैं सजाइएको थियो। भक्तजनको सेवामा सबका सब तल्लीन थिए। खानेपानीदेखि भोजनसम्म खुवाउनेहरू यत्रयत्र थिए। मन्दिर क्षेत्रमा पुग्नेहरूलाई खानपान, औषधि उपचार, नाचगानको प्रबन्ध मिलाइएको थियो। 

पशुपतिनाथमा विदेशी भक्तजनको भीड

यस वर्षको शिवरात्रीमा ८ देखि १० लाख भक्तजन पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए। उनका अनुसार नेपाल, भारत, भुटान, श्रीलंकालगायत देशबाट झण्डै १५ लाख भक्तजन पाशुपत क्षेत्रमा मेला भर्न आए। पशुपतिको शिवरात्रीको अवलोकन गर्न अर्जेन्टिनी नागरिक एलेजन्द्रो स्लोबोबियानिक्सी पनि नेपाल आएको भेटियो। ‘जय शिव ! यस, गड शिव इज फादर अफ गड गणेश’ उनले भने। 

हिन्दू धर्मावलम्बीको विशेष पर्व महाशिवरात्रिमा पाशुपत क्षेत्रमा फूल र बिजुलीबत्तीको रंगीविरंगीका साथै हजारौं मानिसको भीडले मनभरि उमंग छाएकोमा खुसी व्यक्त गरे। ‘भारत १६ पटक पुगें। घुमें। उतै हुँदा नेपालको पशुपतिनाथ र महाशिवरात्रिबारे सुनेको थिएँ’, उनले भने, ‘नेपालको काठमाडौं पाँचौं पटक हो। तर, पशुपतिनाथ आएको पहिलोपटक’, उनले भने। 

पशुपतिनाथको आस्थाले भक्तजनहरूलाई सात समुद्र पारिबाट पनि शिवरात्रीमा नेपाल तानेर ल्याउँछ। भारतको मध्य प्रदेशबाट विष्णु पहिलो पटक पशुपतिनाथको दर्शन आएका थिए। उनले भने, ‘पशुपतिनाथ बाबाको दर्शन गर्नका लागि आएको हुँ। पशुपतिनाथ धेरै प्रसिद्ध मन्दिर हो भनेर सुनेको थिए। त्यसैले म पहिलो पटक नेपाल आएको हुँ।’

आराध्य देवको दर्शन गर्ने इच्छा 

पशुपतिनाथको दर्शन गर्न गौशालाबाट राति ३ बजेदेखि नै लाइन बसेको बताइन्, अनामनगरकी शुशीला भण्डारी। उनले भनिन्, ‘शिवरात्रीमा पशुपतिनाथको आस्थाले तानेर ल्याउँछ।’ परिवारको सुख, शान्ति, आरोग्यको कामना गर्दै भक्तजन पाशुपत क्षेत्रमा आउँछन्। 

त्यस्तै, थानकोटबाट आएका लक्ष्मण भण्डारीले शिवरात्रीमा एकपटक भगवान्को दर्शन गर्ने सबैको इच्छा हुने गरेको बताए। ‘वर्षमा एकपटक, नभए जीवनमा एक पटक भएपछि हिन्दू धर्मालम्बीको ठूलो मनोकामना आराध्य देव पशुपतिको दर्शन गर्ने हुन्छ। यसै मनोकांक्षाले तानेर यहाँ ल्याउँछ।’ थानकोटकै लक्ष्मी भण्डारी घरबाटै फूल, बेलपत्र, बात्ति लिएर पशुपतिमा दर्शन गर्न आएकी थिइन्।  ‘घरमै काटेको बत्तीले यहाँ आएर बाल्ने मनैबाट इच्छा हुन्छ’, उनले भनिन्।

बबरमहलबाट आएकी सीता पाण्डे प्रायः प्रत्येक शिवरात्रीमा व्रत बस्छिन्। उनले लामो लाइन छिचोल्दै शनिबार पशुपतिनाथको दर्शन गरेर घर फर्किन्। महाशिवरात्रिका अवसरमा शनिबार बिहान ३ बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको थियो।  पाशुपत क्षेत्रमा गए रातिदेखि नै शान्ति सुरक्षाको व्यवस्था कडा बनाइएको थियो।  ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको थियो। 
त्यस्तै, सीता जोशी र पदमराज जोशीलाई पशुपतिको मेला भर्न आउँदा रमाइलो भयो। इमाडोलबाट आएकी वृद्ध दम्पतीले ज्येष्ठ नागरिक कार्ड देखाएर सजिलै भगवान्को दर्शन गर्न पाएको सुनाए। ‘आहा ! निकै रमाइलो भयो। ज्येष्ठ नागरिक कार्ड देखाएर सजिलै दर्शन गर्न पाइयो’, ती दम्पतीले एकै स्वरमा भने, ‘बुढेसकाल लाग्यो। धर्मकर्ममा रहर जागेको छ। भागवान्को आस्थाले तानेर ल्याउँछ।’

पशुपतिमा दर्शनका लागि बाहिर तीन र भित्र पाँचवटा लाइनको व्यवस्था गरिएको थियो।  देशैभरिका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना गरी शिवरात्री बनाइयो।

शंकराचार्य आकर्षणको केन्द्र

पशुपतिनाथको मन्दिर राजधानी काठमाडौंमा छ। ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले यो मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छ। बागमती सभ्यताको नदीको किनारमा अवस्थित पशुपतिनाथ २४० हेक्टर जग्गामा फैलिएको छ। यो क्षेत्र काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित छ। अतिप्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू एवं प्राचीन अभिलेखहरू धनी हो, पशुपतिनाथ मन्दिर। जसलाई खुला संग्रहालयको रूपमा चिनिन्छ। शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। जहाँ महाशिवरात्रिका लागि भारतको जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती स्वामी १० सदस्यीय टोलीले पाशुपत क्षेत्रमा भक्तजनको भीड बढाएको छ। 

शंकराचार्यले पाशुपत क्षेत्रमा वेद, पुराण, वैदिक गणित र संस्कृत आचरण आदिबारे प्रवचन दिइरहेका कोषका प्रवक्ता अधिकारीले बताए। शंकराचार्यको स्वागत र अभिनन्दन गर्न उपसमिति बनाइएको छ। आज (आइतबार) साढे ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा शंकराचार्यलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको छ। कोषले यस वर्षको महाशिवरात्रि व्यवस्थापनमा ८० लाख रुपैयाँ खर्चिएको भएको अधिकारीको भनाइ छ। महाशिवरात्रिमा देश–विदेशबाट झण्डै ५ हजार साधुसन्त पाशुपत क्षेत्रमा आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.