‘ब्रोकर’लाई शाखा खोल्न सहज
काठमाडौं : नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई नयाँ शाखा खोल्न सहज बनाइदिएको छ। बोर्डले निर्देशिका जारी गर्दै १५ दिनभित्रै स्वीकृति पाउने व्यवस्था गरेको हो।
ब्रोकर कम्पनीहरूले आवेदन दिएको १५ दिनभित्रै शाखा कार्यालयका लागि अनुमति पाउनेछन्। यस अघिसम्म ब्रोकरले बोर्डमा आवेदन दिएर स्वीकृतिको प्रक्रियामा महिनौं कुर्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाअनुसार ब्रोकर कम्पनीले दिएको निवेदनउपर बोर्डले १५ दिनभित्रै जाँचबुझ गरेर स्वीकृति दिनेछ।
तर, नयाँ शाखा खोलेर कार्यालय सञ्चालन गर्नु पूर्वबोर्डमा जानकारी गराउन अनिवार्य छ। सञ्चालनमा आएका शाखा बोर्डले आवश्यक ठानेमा निरीक्षण गर्ने छ। निरीक्षणको क्रममा तोकिएका मापदण्ड पूरा नगरेका, कारोबार गर्न नसक्ने शाखा कार्यालयको स्वीकृति बोर्डले रद्द गर्ने पनि निर्देशिकामा उल्लेख गरिएको छ।
बोर्डका अध्यक्ष रमेश हमालले अनुमति पाउन वर्षौं समय लाग्ने गरेकामा नयाँ निर्देशिका जारी भएसँगै सजिलो र छिटो हुने बताए। अध्यक्ष हमालले कम्तीमा डेढ करोड रुपैयाँ चुक्तापुँजी भएको ब्रोकरले एउटा शाखा खोल्न पाउने व्यवस्था गरिएको बताए।
ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा प्रतिशाखा १ करोड ५० लाख रुपैयाँका दरले चुक्ता पुँजी कायम गर्नुपर्छ। ‘४ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी भएको एउटा ब्रोकरले एउटा मुख्य कार्यालय र ३ शाखा राख्न पाउने व्यवस्था गरेका छौं,’ अध्यक्ष हमालले अन्नपूर्ण पोस्ट्सँग भने। हालसम्म शाखा विस्तार गरेका ब्रोकर व्यवसायीले पनि प्रतिशाखा यही दरमा चुक्तापुँजी पु¥याउनुपर्ने छ। पुँजी कायम गर्न ६ महिनाको समय दिइएको छ।
यसअघि बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै ब्रोकरको न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरेको थियो। उनीहरूलाई यो पुँजी पु¥याउन २०८२ असारसम्मको समयसीमा तोकिएको छ।तर, शाखा खोल्न चाहने ब्रोकरले भने ६ महिनाभित्र शाखाअनुसारको पुँजी कायम गर्न अनिवार्य छ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले एउटा शाखा खोल्न डेढ करोड रुपैयाँ पुँजी आवश्यक रहने व्यवस्था भएको स्पष्ट पारे। ‘न्यूनतम २० करोडमा पुँजी थप्नुपर्ने होइन,’ उनले भने, ‘२० करोड चुक्तापुँजी भएको कम्पनीले १३ शाखा खोल्न पाइने छ।’
सापकोटाले २० करोड रुपैयाँ चुक्तापुँजी नेपाली ब्रोकरको कार्यक्षेत्र र क्षमताभन्दा बढी रहेको बताए। ‘टी प्लस टु’ मा काम गर्न यत्तिको पुँजी आवश्यक छैन,’ उनले थपे, ‘शाखा विस्तारसम्बन्धी निर्देशिकाको केही व्यवस्था पुँजीबजारको पहुँच विस्तारमा बाधा पुग्ने प्रकृतिको छ।’
उनले यसका बारेमा छलफल र परिमार्जन हुन जरुरी रहेको जनाए। बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको हो। ब्रोकर कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन निर्देशिका जारी गरेको बोर्डले जनाएको छ।निर्देशिकाले ब्रोकर व्यवसायमा हुने वित्तीय जोखिमको न्यूनीकरण गर्ने बोर्डले अपेक्षा गरेको छ। निर्देशिका अनुसार ब्रोकरले मुख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्ने भने पाउने छैनन्।
त्यस्तै, काठमाडौं उपत्यका बाहिर कम्तीमा तीन शाखा खोलेपछि मात्र उपत्यकामा खोल्न पाइने व्यवस्था गरिएको छ। ब्रोकर कम्पनीले एक पटकमा एउटा मात्र शाखा खोल्नका लागि बोर्डमा निवेदन दिनुपर्नेछ। शाखा कार्यालय खोल्न अनुमति पाएको तीन महिनाभित्र कार्यालय सञ्चालनमा ल्याइसक्नुपर्नेछ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाएका ब्रोकर कम्पनीले भने त्यस्तो सजाय पाएको एक वर्षसम्म शाखा बिस्तार गर्न पाउने छैनन्। त्यस्तै, शाखा खोल्न स्वीकृति पाए पनि कार्यालय नखोली स्वीकृति रद्द भएमा सो मितिले एक वर्षसम्म अर्को शाखा खोल्न नपाउने व्यवस्था गरिएको छ।
धितोपत्रको प्राथमिक बजार देशका सबै जिल्लामा पुगिसकेकाले दोस्रो बजारको पहुँचलाई विस्तार गर्न आवश्यक देखिएकाले उक्त निर्देशिका लागू गरिएको बोर्डले जनाएको छ। हाल धितोपत्र बोर्डबाट ५० कम्पनीले ब्रोकरका रूपमा लाइसेन्स लिएर कारोबार गरिरहेका छन्। शाखा कार्यालय खोल्ने ब्रोकर कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्नेछ।