करोडौं लगानीका खेलमैदान अलपत्र
प्रतियोगिता जारी रहेको निर्माणाधीन खेल मैदानमा ८० लाख खर्च भइसकेको छ तर सम्पन्न हुन सकेको छैन।
बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकामा एक सय मिटरको छोटो दूरीको दौड कच्ची सडकमा गरियो। पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगितामा पञ्चेश्वर ३ को कुलाउ मावि र वडा कार्यालयनजिकै रहेको निर्माणाधीन खेल मैदानमा सञ्चालन गरिएको थियो। भलिबललगायत अन्य एथलेटिक्सका खेलहरू निर्माणाधीन खेल मैदान र कुलाउ माविको मैदानमा खेलाइएको भए पनि छोटो तथा लामो दूरीको दौड प्रतियोगिता भने कच्ची सडकमा गराइएको हो।
खेल मैदानको अभावमा छोटो दूरीको दौड प्रतियोगितासमेत सडकमा गर्नुपर्ने बाध्यता रहेको खेल प्रशिक्षक हरि भण्डारीले जानकारी दिए। ‘निर्माणाधीन खेल मैदानमा सय मिटरको दौडसमेत गराउन सकिएन। छोटो तथा लामो दूरीका दौडहरू कच्ची सडकमै गरायौं। अन्य एथलेटिक्सका खेलहरू मैदानमै खेलायौं’, खेल प्रशिक्षक भण्डारीले भने।
प्रतियोगिता जारी रहेको निर्माणाधीन खेल मैदानमा ८० लाख खर्च भइसकेको छ तर सम्पन्न हुन सकेको छैन। वडा नं ३ का वडा अध्यक्ष मीनबहादुर चन्दका अनुसार संघीय सरकारबाट प्राप्त ८० लाख बजेटबाट ५० प्रतिशत मात्रै काम भएको छ। थप बजेट नआएकाले निर्माण सम्पन्न नभएको वडा अध्यक्ष चन्दले बताए।
वडा नं ४ मा पनि दुइटा खेल मैदान निर्माणाधीनको क्रममा थिए तर सम्पन्न भएनन्। वडा नं ४ को जवलपुर मावि करिब ७ लाख र कैलपाल मन्दिर नजिकै बन्न लागेको खेल मैदानमा पनि करिब १० लाख बढी बजेट विनियोजन गरी काम भएको भए पनि अपुरो रहेको वडा अध्यक्ष जनकबहादुर चन्द बताउँछन्।
पञ्चेश्वर–५ को धिर्मडा देउथला खेल मैदानमा १० लाख खर्च भइसकेको छ। ८ लाख बजेट यस वर्ष पनि विनियोजन गरेको छ। यसरी लाखौं रकम खर्च गरेर निर्माण सम्पन्न गर्न नसकेको गाउँपालिकाले यस वर्षको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एक सय मिटरको दौड प्रतियोगितासमेत कच्ची सडकमा गर्नुपर्ने बाध्यता रहेको छ।
संघीय सरकारबाट प्राप्त भएको बजेटअनुसार खेलमैदान निर्माणको काम गरिएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन्। ‘वडा नं ३ को खेल मैदानका लागि संघीय सरकारबाट बजेट प्राप्त भएको हो। बजेटअनुसार काम भएको छ। केही खेलहरू पनि खेलाइएका छन्’, उनले भनिन्, ‘सबै खेल खेलाउन उपयुक्त भने छैन।’
पञ्चेश्वर गाउँपालिकामा मात्रै होइन जिल्लाका १० वटै पालिकामा स्तरीय खेल मैदानको सुविधा छैन। एक सयदेखि तीन हजार मिटरका दौडहरू सबै सडकमा गरिने गरिएको छ। पुर्चाैडी नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको कमल विशाल पार्क खेल मैदानमै यस वर्ष रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको थियो। वडा नं १ स्थित कमल विशाल पार्कमा निर्माणाधीन खेल मैदानमा २० लाखभन्दा बढी बजेट खर्च भइसकेको छ। उक्त मैदान सम्पन्न गर्नको लागि नगरपालिकाले यस वर्ष थप २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगर प्रमुख दीपकबहादुर बमले जानकारी दिए। ‘यस वर्ष निर्माणाधीन खेल मैदानमै खेल सम्पन्न गरेका हौं। २ करोड ५ लाख बजेट विनियोजन गरेका छौं। अर्को वर्ष स्तरीय खेल मैदान बन्छ’, नगर प्रमुख बमले भने।
बैतडीको दोगडाकेदार गाउँपालिकामा बन्न लागेका पाँचवटा खेल मैदानले पनि पूर्णता पाएको छैन। संघीय सरकार र गाउँपालिकाको बजेट गरी ५० लाख रुपैयाँ लगानी गरे पनि खेल मैदान तयार भएका छैनन्। यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्माणाधीन चनैराज खेल मैदानमा सम्पन्न गरेको पालिकाले जनाएको छ। पछिल्ला आर्थिक वर्षमा खेल मैदानमा बजेट विनियोजन नगरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन्। बजेट अभावले नै खेल मैदान निर्माण सम्पन्न हुन नसकेको पालिकाले जनाएको छ। वडा नं ७ मा दुई, वडा नं ५, ६ र ८ मा एक एक खेल मैदान गरी पाँचवटा खेल मैदान निर्माणाधीनको क्रममा रहेका छन्।
मेलौली नगरपालिकामा बन्न लागेको नगर स्तरीय खेल मैदान निर्माणले समेत पूर्णता पाएको छैन। आर्थिक वर्ष २०७४÷०७५ देखि हालसम्म १ करोड ८ लाख खर्च भइसकेको छ। यस वर्ष पनि प्रदेश सरकारबाट थप ८ लाख रुपैयाँ प्राप्त भएको छ। आर्थिक वर्ष २०७४/०७५ मा डीपीआर गरी ३० करोड लागतमा निर्माण सम्पन्न हुने अगुमान गरिएको थियो। ६० तर हालसम्म १० प्रतिशत पनि प्रगति भएको छैन।
जिल्लाको सुर्नया गाउँपालिकामा पनि दुइटा खेल मैदान अलपत्र परेका छन्। वडा नं २ मा प्रदेश सरकारबाट प्राप्त बजेटबाट बन्न लागेका दुइटा खेल मैदान अलपत्र अवस्थामा परेका छन्।
यसैगरी सिगास गाउँपालिकामा पनि दुइटा खेल मैदान अलपत्र परेका छन्। प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा बन्ने भनिएका दुइटा खेल मैदान अलपत्र अवस्थामा रहेका छन्। सिगासमा यस वर्षको रनिङ शिल्ड अर्जुन माविको मैदानमा गराइएको थियो।
यसैगरी डिलासनैनी गाउँपालिकामा १ करोड १० लाखभन्दा बढी रुपैयाँ खेल मैदानमा खर्च गरेर दुइटा खेल मैदान तयार भएका छन्। स्थानीय, प्रदेश र संघीय सरकारबाट गरी ९० लाख लागतमा पन्सेरा खेल मैदान सम्पन्न भएको छ भने २० लाख लगानीमा वडा नं ५ को हरिनगर खेल मैदान निर्माण सम्पन्न भएको छ। अन्य वडाहरूमा पनि खेल मैदान निर्माणको तयारी भइरहेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए।
बैतडीका सबैजसो पालिकामा स्तरीय खेल मैदान नहुँदा खेलकुद प्रतियोगिता प्रभावित हुने गरेको छन्। खेल मैदान अभावकै कारण मापदण्डअनुसार खेलकुदका प्रतियोगिताहरू सञ्चालन गर्न नसकिएको जिल्ला खेलकुद विकास समितिको कार्यालय बैतडीका प्रमुख तर्कराज जोशीले जानकारी दिए। ‘जिल्लाका सबै जसो पालिकामा खेल मैदान अभाव छ।
सबै खाले दौडहरूसमेत सडकमा गर्नु परेको छ। कामचलाउ प्रतियोगिताहरू गरिरहेका छौं,’ प्रमुख जोशीले भने।
जिल्लाका १० स्थानीय तहमा बन्न लागेका दर्जन बढी खेल मैदानमा करोडांै बजेट विनियोजन गरिएको भए पनि पूर्णता पाउन सकेको छैन। तीनै तहको सरकारको लगानीमा करोडौं बजेट बिनियोजन गरिएको भए पनि खेल मैदान तयार भएका छैनन्। आर्थिक वर्ष २०७४÷०७५ देखि निर्माण सुरु गरिएका खेल मैदानसमेत तयार भएका छैनन्।
स्थानीय तहहरूले खेल मैदान निर्माणको सुरुवात गरेको भए पनि लामो समयसम्म पूर्णता दिन नसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताए। उनले भने, ‘स्थानीय तहलाई बेलाबेला आग्रह गर्दै आएका छौं। खेल मैदान अझै पूर्णता पाउन सकेको छैन। पूर्वाधार बिना खेलकुदको विकास सम्भव छैन।’