अरुण चौधरी रिहा, स्वागत गर्न पुगिन् रञ्जिता
कैलाली कारागारमा रहेका चौधरीलाई राष्ट्रपतिको कार्यालयले प्रजातन्त्र दिवसका अवसरमा कैद मिनाहा गरेपछि उनी छुटेका हुन्।
कैलाली : प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुण कुमार चौधरी जेलमुक्त भएका छन्। कैलाली कारागारमा रहेका चौधरीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गरेकी थिइन्।
आममाफी पाएसँगै चौधरी कारागारबाट आइतबार बिहान छुटेका हुन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलका अनुसार ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को अवसरमा माफी भएको छ ।
सांसद चौधरी पक्राउपछि निलम्बनमा परेका थिए। रिहाई भएसँगै चौधरीलाई स्वागत गर्न नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठसहित समर्थक कारागार पुगेका थिए।
प्रहरीले कैलाली-२ बाट निर्वाचित सांसद चौधरी माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो। करिब १२ वर्षअघि उनलाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो। सोही आदेशअनुसार उनी जेल २० गते चलान भएका थिए।
बाँकेको बैजनाथ गाउँपालिका-१ को चिसापानी क्षेत्रमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका थिए। उनी नागरिक उन्मुक्ति पार्टीको प्रतिधितित्व गर्दै संसदमा प्रवेश गरेका हुन्।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा चौधरी २१ हजार ८७१ मत ल्याएर विजयी भएका थिए।