तस्बिरमा टुँडिखेलको प्रजातन्त्र दिवस
काठमाडौं : काठमाडौंको टुँडिखेलमा आज ७३ औँ प्रजातन्त्र दिवस मनाइएको छ। जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए। प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो। फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गर्दै आएको छ।
७३ औँ प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संवैधानिक निकायका पदाधिकारीलगायतको सहभागिता थियो।
तस्बिर : अभिषेक महर्जन