शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक मेला
ढल्केवर(धनुषा) : शैक्षिक गुणस्तरलाई सुधार गर्न शैक्षिक मेला सम्पन्न भएको छ। जनता राष्ट्रिय आधारभूत विद्यालय जमुनिवासले आयोजना गरेको शैक्षिक मेला सम्पन्न भएको हो।
सिकाइ निरन्तर अभियानअन्तर्गत शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि विद्यार्थीहरूलाई भौतिक ज्ञान बढाउने र अभिभावक विद्यार्थीहरूमा आआफ्नो जिम्मेवारीको बोध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक जगजिवन महतोले जानकारी दिए।
उनका अनुसार युनिसेफ र एनसेटको सहयोगमा मिथिला नगरपालिकामा पहिलो पटक पढाइ मेला आयोजना गरिएको थियो।
उक्त मेलामा शैक्षिक सामग्रीहरूको प्रस्तुति, घरमा अभिभावकको जिम्मेवारी, सामाजिक सञ्जालको दुरुपयोगसम्बन्धी जनचेतना, पढ्ने पढाउने तरिका, मनोरञ्जनात्मक नाटक एवं नृत्य लगायतका सामग्रीहरूको प्रदर्शनी गरिएको विद्यालयका शिक्षक राजुकुमार सिंहले बताए।