मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
जोमसोम : मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथमा दर्शनार्थीको चहलपहल बढ्न थालेको छ।
अनुकुल मौसम र सडक यातायात सहज भएकाले मुक्तिनाथमा दर्शनार्थीको संख्या बढ्दै जान थालेको हो। यो वर्ष हिमपात नभएकाले दर्शनार्थीले सहजै मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किन सक्ने अवस्था छ।
मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले फागुन महिना लागेपछि नेपाली पर्यटक मुक्तिनाथ दर्शनका लागि आउने क्रम सुरु भएको जानकारी दिए।
उनका अनुसार पुस र माघपछि नेपाली पर्यटकका साथै आशिंक रुपमा भारतीय पर्यटक पनि आइरहेका छन्। उनका अनुसार फागुनदेखि दैनिक करिव ७ सय दर्शनार्थी आइरहेका छन्।