जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो ।
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी चैतमा विधान अधिवेशन गर्ने भएको छ। आइतबार जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो।
बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिले आफ्नो काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिए।
पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्नका लागि जसपाले आफ्नो कार्यकारिणी समितिको बैठक बसेको हो।
राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा
जसपाको बैठकमा फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि छलफल भइरहेको छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभए पनि त्यस सम्बन्धमा बैठकमा छलफल भएको जसपाका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिए।
बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने कुरामा छलफल भएको बताइएको छ। जसपाले उपराष्ट्रपति पद आफूले पाउनुपर्ने माग गर्दै अन्य दलसँग पनि छलफल गरिरहेको छ।
जसपाले नेकपा (एकीकृत समाजवादी) पार्टी लगायत अन्य दलहरुसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको जनाएको छ।
- राससको सहयोगमा