सहिद सम्झाउने सहिद स्मृति उद्यान
भक्तपुर :भक्तपुरमा धेरै सार्वजनिक उद्यान (बगैचा)हरू छन् । ती धेरै उद्यानहरूमध्ये सहिदलाई सम्झाउने उद्यान हो,सहित स्मृति उद्यान । यहाँ प्रत्येक वर्ष फागुन ८ गते सहिदको सम्मानमा माल्यापर्ण गरी सम्मान कार्यक्रम गरिन्छ ।
यो उद्यान भक्तपुर नगरपालिका वडा नं २ मा पदर्छ । भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले सहिदको सम्मानमा २०५८ साल फागुन ८ गते भक्तपुर नगरपालिकाले सहिद स्मृति उद्यान बनाएको बताए ।
उद्यान झन्डै चार रोपनी क्षेत्रफलमा फैलिएको छ । उद्यानको बीचमा २०४६ सालको जनआन्दालनको क्रममा भक्तपुरबाट सहादत प्राप्त सहिदहरू राजकुमार सुवाल, हरिकृष्ण भुजु, निर्मलकुमार शाक्य, कृष्णराम दुवाल, पुष्परत्न शाक्य र महेश श्रेष्ठ ६ जना सहिदहरूको संयुक्त शालिक राखिएको छ । २०४६ सालको जनआन्दोलनमा भक्तपुरका राजकुमार सुवाल, हरिकृष्ण भुजु, निर्मलकुमार शाक्य, कृष्णराम दुवाल,पुष्परत्न शाक्य र महेश श्रेष्ठ गरी ६ जनाले सहादत प्राप्त गरेका थिए ।
उद्यानको बीचमा पोखरी पनि छ । उद्यानको सबैतिर फुलबारीले रंगीन बनाइएको छ । यही कारण यहाँको शान्त वातावरणमा रमाउन आउनेहरूको संख्या पनि उत्तिकै हुन्छ । उद्यानको बीचमा एउटा पाटी पनि बनाइएको छ । साथै ठाउँठाउँमा आरामका लागि बस्ने व्यवस्था पनि मिलाइएको छ ।
उद्यानको हेरचाहका लागि भक्तपुर नगरपालिकाले एकजना महिला र एकजना पुरुषलाई खटाउँदै आएको छ । महिलाले दैनिक फूलहरूमा पानी दिने,घासपात सफा गर्नेलगायतका काम गर्छन् भने पुरुषले पानी तान्नेलगायतका बलका कामहरू गरी उद्यानको हेरविचार गर्दछन् ।
उद्यानलाई चारैतिर फलामको बार लगाई सुरक्षित गरिएको छ । प्रत्येक दिन बिहानदेखि बेलुकीसम्म उद्यान खुल्ला हुन्छ । रातको समयमा भने उद्यानको मुख्य गेटमा ताला लगाइ बन्द गराइएको हुन्छ ।
नेपालमा २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भएको थियो। त्यसपछि फेरि २०४६।०४७ सालमा दोस्रो जनआन्दोलन भइ दोस्रो पटक प्रजातन्त्र पुनस्थापना भएको थियो । यो क्रममा भक्तपुरका ६ जना सहिद भएका थिए ।
जनआन्दोलन २०४६ फागुन ७ गतेबाट सुरु भएको थियो ।