१३ वर्ष अभियान चलाउँदा पनि नियन्त्रण भएन हात्तीपाइले
बेंसीशहर : लमजुङमा हात्तीपाइले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको छ।
लगातार ६ वर्षसम्म औषधि सेवन गरेमा रोग निको हुने स्वास्थ्यकर्मी बताउँछन्। तर, लमजुङमा १३ वर्षसम्म औषधि सेवन गर्दा समेत रोग निको नभएपछि नियन्त्रण अभियान चुनौतीपूर्ण देखिएको हो।
जिल्लामा रोग नियन्त्रणका लागि सन् २००९ देखि अभियान चलाएर औषधि खुवाउँदै आइएको छ। सन् २००९ देखि २०१५ सम्ममा हात्तीपाइले रोग नियन्त्रण कार्यक्रम सञ्चालन गरे तापनि न्यूनीकरण हुन सकेन।
सन् २०१६ देखि पुनः अभियान चलिरहेको छ। स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीकाअनुसार लमजुङमा सन् २०१८ मा गरिएको सर्वेक्षणमा हात्तीपाइले रोग प्रकोप दर २ दशमलव ८४ प्रतिशत थियो।
२०१६ मा गरिएको सर्वेक्षणमा प्रकोप दर ५ दशमलव ३२ प्रतिशत थियो भने २०१४ मा प्रकोप दर ५ दशमलव ६६ प्रतिशत थियो।
सन् २०१८ सम्ममा रोग प्रकोप दर १ प्रतिशतभन्दा कम ल्याउने सरकारको लक्ष्य थियो। सरकारले सन् २०२० मा देशभर हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको थियो। तर, लमजुङसहित १५ जिल्लामा अझै निवारण हुन सकेको छैन।
लमजुङमा २०२० मा सर्वेक्षण गर्दा राइनासस्थित चक्रतीर्थमा चार दशमलव ९ र धमिलीकुवामा दुई दशमलव ९ प्रतिशत भेटिएपछि पुनः दुई वर्षका लागि औषधि खुवाउने अभियानले निरन्तरता पाएको थियो।
पछिल्लो पटक २०२२ मा गरिएको सर्वेक्षणमा भने एक प्रतिशतभन्दा कममा हात्तीपाइलेको जीवाणु भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांक छ।
जिल्लामा अहिले ३९ जना खुट्टा सुनिने र ९१ जना हाइड्रोसिलका बिरामीहरू रहेका छन्। जसमध्ये राईनासमा मात्रै ३० जना रहेका छन्। हाईड्रोसिल भएकामध्ये राईनासमा मात्रै ७६ जना रहेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ।
यसवर्ष गण्डकी प्रदेशका लमजुङ, पर्वत, बाग्लुङ सहित देशभरका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन हुँदैछ।
नियमित अभियान सकिएर पुनः दोस्रो अभियान चलाउँदा पनि लमजुङमा रोग नियन्त्रण हुन नसकेपछि स्वास्थ्य कार्यालयले अभियान असफल हुनुको कारण खोज्न थालेको छ।
यसअघि औषधि वितरण प्रभावकारी बन्न नसकेको भन्ने गुनासो आएपछि तीन वर्षदेखि स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खुवान थालिएको छ। यो वर्ष फागुन ११ गतेदेखि औषधि खुवाउने अभियान सञ्चालन हुँदैछ।