काठमाडौं : विसं २०७१ फागुन १० गते। बिहान ६:१५ बजे। वसन्तपुरको झोछेंस्थित ए पल्स ट्युसन सेन्टरबाट सीमा बस्नेत र संगीता मगर चिच्याउँदै निस्किए। पोल्यो पोल्यो भन्दै रूँदै कराउँदै भाग्दैगर्दा उनीहरूले पहिरिएका कपडाबाट धुँवा उडिरहेको थियो। आसपासका मानिसहरूले केही ठम्याउन सकेनन्। न कसैबाट सहयोग नै पाए उनीहरूले। भाग्दै घर पुग्दा उनीहरूका परिवारले शरीरमा पानी खन्याई तुरुन्तै वीर अस्पताल पुर्याए। अस्पताल पुगेपछि बल्ल थाहा भयो, उनीहरूमाथि एसिड आक्रमण भएको रहेछ।
जीवन विक, जसले हानेका थिए एसिड
रामेछाप फुलासीका स्थानीय बासिन्दा जीवन विक परिवारसहित वसन्तपुरमा बस्थे। संगीत मगरको परिवार र जीवनको परिवार एकै घरमा बस्दै आएका थिए। संगीता ७ कक्षादेखि नै जीवनसँग ट्युसन पढ्थिन्। ट्युसन पढ्ने बेलादेखि नै उनीहरूबीच प्रेम बसेको थियो। विवाह गर्नेसम्म उनीहरूको योजना थियो। तर केही वर्षमै त्यो योजना तुहिएनमात्र, दुई परिवारबीचको झगडाले उग्र रूप लियो। त्यसको कारण थियो, जीवनको थर। जीवन खड्का भनी चिनाएका उनको थर विक रहेको थाहा पाएपछि झगडाले उग्र रूप लिएको थियो। पारिवारिक झगडा रहे पनि केही समय जीवन र संगीता बाहिर भेट्थे। त्यो भेट पनि लामो समय रहेन। पारिवारिक दबाबबीच संगीताले भेट गर्न छाडेकी थिइन्।
त्यहीँबाट जीवन तनावमा आएको र मार्नेसम्म योजना बनाएका थिए। सुरूमा जीवनले संगीता उनको परिवारलाई रडले हात खुट्टा भाँच्ने योजना बनाएका थिए। तर त्यो समभ्व हुन सकेन। योजना सफल नबन्दा जीवनले हिन्दी क्राइम सिरियलहरू हेर्थ थाले। त्यहीबाट प्रभावित भएर उनले एसिड आक्रमण गर्ने योजना बनाए।
उनले न्युरोडको प्रकाश ब्याट्री पसलबाट कडा खालको एसिड किनेर ल्याए। बियरको बोतलमा ल्याएको एसिड उनले हर्लिक्सको बट्टामा खन्याएका थिए। त्यसबीचमा जीवन परिवारलाई छाडेर काठमाडौंकै टोखामा गई डेरा लिएर एक्लै बस्न थालेका थिए। त्यहीँ बस्दा उनले संगीताको दैनिकी पछ्याएका थिए। दैनिकी पछ्याउने बेला उनले बिहानको समयमा एसिड आक्रमण गर्ने योजना बनाएका थिए। २०७१ फागुन १० गते एकाबिहानै टोखाबाट वसन्तपुर आइपुगेका थिए। ५:१५ बजे आइपुगेका उनले ट्युसन सेन्टरमै गई एसिड आक्रम गर्न चाहे पनि नसकेर बाहिर निस्किएका थिए। उनी पुनः ६:१५ मा ट्युसन सेन्टरमा गई संगीतालाई एसिड हानेका थिए। एसिड हान्दा संगीतासँगै सीमा बस्नेत पनि गम्भीर घाइते हुन पुगेका थिए भने अन्य केही विद्यार्थीहरू पनि सामान्य घाइते भएका थिए।
एसिड हानेपछि जीवन वसन्तपुर हुँदै ठमेल हुँदै माइक्रो चढेर टोखा पुगेका थिए। त्यसपछि उनले समाचारहरू पछ्याइरहे। समाचारले उनलाई झन् तनाव भयो। त्यसपछि झापा हुँदै उनी सिक्किमसम्म पुगे। तर धेरै दिन बस्न सकेनन्। फागुन २२ गते सिक्किम हिँडेका जीवन २८ गते काठमाडौं आइपुगेका थिए। त्यसको हप्ता दिनपछि प्रहरीले चैत ५ गते जीवनलाई डेराबाटै पक्राउ गरेको थियो। प्रहरीले उनको डेराबाट बयानका क्रममा आएका प्रमाणहरू पनि बरामद गरेको थियो।
पूर्ण फैसला आउन लाग्यो साढे ६ वर्ष
काठमाडौं जिल्ला अदालतले संगीता मगर र सीमा बस्नेतको मुद्दामा २०७२ पुस ५ गते फैसला सुनाउँदै अभियुक्त जीवन विकलाई दस कैद सजाय सुनाएको थियो। ज्यान लिने मनसायले एसिड आक्रमण गरेको ठहर गर्दै जिल्ला अदालतले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं विपरित ए. १५ नं महलअन्तर्गत दस वर्ष कैद फैसला सुनाएको थियो।
२०७३ जेठ १४ गते अभियुक्तका तर्फबाट उच्च अदालत पाटनमा उक्त मुद्दा पुनरावेदन गरिएको थियो। ज्यान मार्ने उद्योगको १५ नम्बरमा एसिड भन्ने शब्द उल्लेख नभएको अवस्थामा संवैधानिक प्रावधानबमोजिम अपराधिको परिभाषाभित्र नपर्ने कार्यलाई समेत अपरा मानी सजाय गरेको भन्दै फैसला उल्टी गरी सफाइको माग गरिएको थियो।
उक्त मुद्दामा पाटन उच्च अदालतले २०७३ फागुन २३ गते जिल्ला अदालत काठमाडौंको फैसलालाई सदर गरेको थियो। प्रतिवादीले संगीता मगरको रूपको घमण्ड तोड्नको लागि मात्र एसिड प्रहार गरेको नभई निजको ज्यानै लिने मनसायले निजउपर एसिड प्रहार गरी ज्यान मार्ने उद्योगको कसुर गरेको भन्ने तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन आएको फैसलमा उल्लेख गरिएको छ।
सोही मुद्दाको पुनरावेदन सर्वोच्च अदालतमा पनि गरिएको थियो। जीवन विकको तर्फबाट अधिवक्ताहरू मोहन साशंकर, श्यामकुमार विश्वकर्मा र बद्रीप्रसाद भुसालले ज्यानसम्बन्धी महलको १५ नं मा एसिड भन्ने शब्द उल्लेख नभएको भन्दै उक्त महलअन्तर्गत कसुर नपर्ने र सजाय गर्नसमेत नमिल्ने भन्दै अभयोग दाबी खारेजीको माग गरेका थिए।
सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले २०७८ असार २९ गते जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको फैसला सदर गरेको थियो। जीवन विक हालः सुनसरीको जिल्ला करागारमा रहेका छन्।
एसिडसम्बन्धी कानुन नहुँदा सर्वोच्चले गरेको व्याख्या
- मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. अनुसार 'ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरू जुनसुकै कुराको उद्योग गरी मर्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेन छ भने पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद गर्नुपर्छ' भन्नेसमेतको व्यवस्थाले ज्यान मार्ने उद्योगको कसुरको परिभाषाका साथै सजायको व्यवस्था गरेको पाइन्छ।
- उल्लिखित कानूनी व्यवस्थाले ज्यान मार्ने मनसायले जुनसुकै कार्य गरेको भनी ऐनमा उल्लेख भएबाट नै गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्नेदेखिबाहेक अन्य रीतसँग पनि मानिस मार्ने कार्य हुन सक्दछ भन्ने विधायिकी मनसाय रहेको देखिन्छ । ऐनमा भएको 'मार्नको लागि अरू जुनसुकै कुराको उद्योग गरी' भन्ने बेहोरा उल्लेख भएबाट नै यसको दायरा फराकिलो रहेको स्पष्ट छ। तसर्थ, एसिड प्रहार भन्ने शब्द ऐनमा नपरेकै कारणबाट यसलाई ज्यान मार्ने उद्योगको कसुरअन्तर्गत पर्दैन भन्नु न्याय र कानूनसम्मत देखिँदैन। एसिड जलनशील रासायनिक पदार्थ भएको हुँदा सो पदार्थ संवेदनशील अङ्गमा परेमा ज्यानै जान सक्ने भन्ने विशेषज्ञको रायसमेत भएको हुँदा एसिड प्रहारको कार्य ज्यान मार्ने उद्योगको परिभाषाअन्तर्गत पर्ने नै देखिन्छ।
- प्रस्तुत मुद्दामा प्रतिवादीले पीडिताको अनुहारमा एसिड छर्किएको मात्र नभई किनिएको एसिड हर्लिक्सको सिसिमा हाली पीडिताको अनुहारमा हर्लिक्सको सिसीबाट एसिड खन्याई गम्भीर चोट पुर्याई ज्यान नै जान सक्ने अवस्था सिर्जना गरेको मिसिल संलग्न कागजातबाट देखिएको छ। यस्तो कार्यबाट प्रतिवादीको घातक मनसाय प्रस्ट भएको देखिन्छ। यसरी ज्यान मार्ने उद्योगको कसुर हुनको लागि ज्यान मार्ने मनसायले गोली चलाएको वा बम हानेको वा घातक हतियारले काटेको वा मार्नका लागि अरू जुनसुकै कार्य गरेको भनी स्पष्ट उल्लेख भएबाट अव एसिड प्रहार सम्बन्धमा ज्यानसम्बन्धी १५ नं.मा कहीँकतै उल्लेख नगरिएको हुँदा एसिड प्रहारको कार्य ज्यान मार्ने उद्योगको कसुरअन्तर्गत पर्दैन भनी मान्न मिल्दैन।
- एसिड आक्रमणका कारण पीडितमाथि पर्ने जीवनपर्यन्तको गम्भीर शारीरिक र मानसिक क्षतिलाई हेर्दा यसलाई अक्षम्य, असभ्य र हृदयविहीन व्यक्तिले घटाउने अपराध मान्नुपर्दछ। समयमा उपचार नपाएमा ज्यानै जान सक्ने एसिड आक्रमणको घटनाबाट बाँचेका व्यक्तिहरू बाँकी जीवन लज्जा, अपहेलना र भेदभावपूर्ण व्यवहारको बिच बाँचेका छैनन् भनी भन्न नसकिने हुँदा एउटा व्यक्तिको समग्र भविष्यलाई नराम्रोसँग असर पारी असामान्य चरम पीडाको अवस्थामा पुर्याउने एसिड आक्रमणका कसुरदारलाई क्रूर अपराधी नै मान्नुपर्दछ। सामान्य जीवन बाँचेको व्यक्तिलाई आफैँले चिन्न नसक्ने अवस्थामा पुर्याई उसको हत्या गर्ने वा आत्मसम्मान र मनोबल नै भाँच्ने कुत्सित मनसायका साथ घटाइने एसिड आक्रमणका घटनाले मुलतः भर्खरै नयाँ भविष्यको मार्गमा अघि बढिरहेका कैयौं युवतीहरूको जीवन क्षत विक्षत बनाएको पाइन्छ । तसर्थ, दोषी व्यक्ति कानूनले तोकेको उच्चतम सजायको भागी हुन योग्य मानिनुपर्छ ।
- माथि विवेचित आधार, कारणसमेतबाट प्रतिवादी जीवन विकलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम कसुरमा सोही महलको १५ नं.बमोजिम १० (दश) वर्ष कैद हुने ठहराई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०७२/९/५ मा भएको फैसलालाई सदर हुने गरी उच्च अदालत पाटनको मिति २०७३।११।२३ को फैसला मिलेको नै देखिँदा सदर हुने ठहर्छ। पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन।
- नेपाल कानुन पत्रिकाबाट