कोरला कनेक्टिभिटी जोड्ने लोमान्थाङ रिङरोड सडक अलपत्र
जोमसोम– लोमान्थाङ गाउँपालिकाका ५ वटै वडा जोड्ने रिङरोड सडक विगत ७ महिनादेखि अलपत्र परेको छ। गण्डकी प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडक’ निर्माण सुरु गरेको थियो। निर्माण कम्पनीको ढिलासुस्ती र वेवास्ताले रिङरोड सडक निर्माणको कामले गति लिएको छैन।
१० दशमलव ५ किमी लामो सडक निर्माणको म्याद दुई पटक म्याद थप्दा पनि भौतिक प्रगति ६० प्रतिशत मात्रै छ। पछिल्लो पटक थपिएको म्याद असोज २८ गते नै सकियो।
लोमान्थाङ, ठिङ्गर, किमलिङ, चुमजुङ, न्याम्डो हुँदै नेचुङ जोड्ने सडक निर्माणको जिम्मा ईमोटल कन्ट्रक्सन प्रालिले लिएको छ। ०७५ सालमा रिङरोड सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार भई २०७६ साल असार २६ गते २४ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो।
पुलको सुरुवाती सम्झौता अवधि २ वर्षको रहेपनि रिङरोड सडकको काममा निर्माण कम्पनीले ढिलासुस्ती गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख विवेक सिक्देलले जानकारी दिए। रिङरोडको १० दशमलव ५ किमी ग्राभेल सडकमा ८ मिटर फराकिलो मोटर बाटो निर्माण गर्ने योजना रहेको सिक्देलले बताए।
निर्माण कम्पनीले ठेक्का मोविलाइजेसन वापत लिएको ९७ लाख रुपैया पूर्वाधार विकास कार्यालय मुस्ताङले ३ महिना अघिनै फिर्ता लिइसकेको छ। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले रिङरोड सडकको काम निर्माण कम्पनीका कारण अलपत्र परेको बताए।
उनले सडक निर्माण गर्दा निर्माण कम्पनीले गुणस्तर र मापदण्ड अनुसार काम नगरेको बताए । लोमान्थाङ रिङरोड अन्तर्गत वडा १,२ र ५ लाई राष्ट्रिय गौरवको राजमार्ग सडकले जोड्दछ ।पालिकाको वडा ३ र ४ लाई पनि सडक सञ्जालले जोड्न सकेमा रिङरोड सडक अवधारणा पुरा हुने छ भने उत्तरी कोरलानाकालाई समेत सडक कनेक्टिभिटीले जोड्ने योगदान पुग्नेछ।