बंगलादेशमा विपक्षी दलको पत्रिका बन्द
ढाका : बंगलादेशले प्रमुख प्रतिपक्षी दलको पत्रिका बन्द गरेको छ। बंगाली भाषामा छापिने ठूलो आकारको दैनिक दिनकल पत्रिकामाथि सरकारले निलम्बनको आदेश दिएपछि प्रकाशन बन्द भएको हो। सरकारको यो कदमबाट बंगलादेशमा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लागेको छ।
प्रधानमन्त्री शेख हसिनाको सरकारले आलोचनालाई दबाउन गरेको उक्त निर्णयको विरोध भएको छ। अमेरिकालगायत पश्चिमा देशले सरकारी कदमप्रति चिन्ता व्यक्त गरेका छन्। तीन दशकभन्दा लामो समयदेखि बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) नजिक मानिने उक्त पत्रिका बन्द हुँदा सयौँ पत्रकार एवम् प्रेस कर्मचारी वेरोजगार भएका छन्।
गत डिसेम्बर २६ मा ढाका जिल्ला अधिकारीले अखबार बन्द गर्न दिएको आदेशविरुद्ध उच्च अदालतका न्यायाधीश नेतृत्वको प्रेस काउन्सिलमा अपील गरिएपछि पत्रिका प्रकाशन जारी थियो।
जिल्ला अधिकारीको आदेशलाई काउन्सिलले आइतबार अनुमोदन गरेपछि बाध्य भई प्रकाशन बन्द गर्नुपरेको अखबारका प्रबन्ध सम्पादक शमसुर रहमान शिमुल विश्वासले बताएका छन्। पत्रिकाले देशको मुद्रण तथा प्रकाशन ऐन उल्लंघन गरेकाले पत्रिकाको प्रकाशन अनुमति खारेज गरिएको बंगलादेश प्रेस काउन्सिलले एएफपीलाई बताएको छ।