अस्ताए सामुदायिक चिकित्साका अगुवा
दम रोग र उच्च रक्तचापबाट पीडित श्रेष्ठको स्वास्थ्य अवस्था निमोनिया, पोस्ट कोभिड लक्षणका कारण नाजुक बन्दै गएको थियो।
काठमाडौं : सामुदायिक चिकित्साका अगुवा एवं पूर्वस्वास्थ्यमन्त्री प्रा.डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ। उनी माघ २९ गतेदेखि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत थिए।
दम रोग र उच्च रक्तचापबाट पीडित श्रेष्ठको स्वास्थ्य अवस्था निमोनिया, पोस्ट कोभिड लक्षणका कारण नाजुक बन्दै गएको थियो। अस्पतालका अध्यक्ष डा. बसन्त पन्तका अनुसार कोभिड–१९ संक्रमणपश्चात् श्रेष्ठलाई छातीको समस्याले सताएको थियो। भेन्टिलेटरमा उपचाररत रहेकै अवस्थामा सोमबार बिहान ४ बजेर २० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।
प्रा.डा. श्रेष्ठ ०४७ सालमा गठित कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बनेका थिए। तत्कालीन मन्त्रिपरिषद्मा कानुन तथा न्यायमन्त्री रहेका नीलाम्बर आचार्यले प्रजातन्त्र पुनःस्थापना र मानव अधिकारको पक्षमा निरन्तर आवाज उठाउने अगुवालाई गुमाउनुपरेको बताए। ‘एउटा राम्रो जीवन अस्तायो’, आचार्यले भने, ‘प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदान स्मरणीय रहिरहनेछ।’ श्रेष्ठले ०४७ सालमा संविधान लेखनका बेला गठित संविधान सुझाव सुधार आयोगलाई व्यावहारिक सुझाव दिएका थिए।
‘संविधान निर्माणका बेला छलफल गरेका थियौं’, आचार्यले अन्नपूर्ण पोस्ट्सँग भने, ‘वामपन्थी र कांग्रेसबीच समझदारी हुनुपर्छ भन्नेमा जोड दिनुहुन्थ्यो।’
मानवअधिकारका रक्षक एवं सामुदायिक चिकित्सा क्षेत्रका अगुवाको निधन भएकामा पूर्वप्रधानमन्त्री, चिकित्सकले शोक व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘मानवअधिकार आन्दोलनका अगुवा वरिष्ठ वामपन्थी बुद्धिजीवी डा. मधुराप्रसाद श्रेष्ठको निधनको खबरले दुःखी छु। केही दिनअघि प्राप्त भएको उहाँलाई सम्मान गर्ने अवसर नै अन्तिम भेटको रूपमा स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनमा गहिरो समवेदना।’
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्यन संस्थान (आईओएम)का पहिलो प्राध्यापक डा. श्रेष्ठको अग्रसरतामा महाराजगन्ज मेडिकल कलेजमा सामुदायिक चिकित्सा (कम्युनिटी मेडिसिन)को पढाइ सुुरु भएको थियो। आईओएमका पूर्वडीन प्रा.डा. जगदीश अग्रवालका अनुसार सामुदायिक चिकित्सा क्षेत्रमा प्रा.डा. श्रेष्ठको अग्रणी योगदान छ। ‘सामुदायिक चिकित्सा विभागमा पहिलो प्राध्यापकका रूपमा योगदान गर्नुभएको थियो।
समुदायमा गएर चिकित्सा शिक्षा अध्ययनको अवधारणा ल्याउनुभएको थियो’, प्रा.डा. अग्रवालले भने, ‘चिकित्सा विषयमा समुदायमा आधारित पाठ्यक्रमको अवधारणामा प्रा.डा. श्रेष्ठको धेरै ठूलो योगदान छ।’
सन् १९७८ को पाठ्यक्रममा सामुदायिक चिकित्सालाई पनि समेटिएको थियो। प्रा.डा. अग्रवालका अनुसार समुदायमा आधारित पाठ्यक्रम आजको समयमा झन् सान्दर्भिक देखिएको छ।
वरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तका अनुसार प्रा.डा. श्रेष्ठले नेपालमा सरकारी मेडिकल कलेजको आवश्यकतामा व्यापक अनुसन्धान गरेका थिए। प्राध्यापक मोहिन शाहसँग मिलेर अनुसन्धान गरिएको थियो। त्यसपछि जाइकाले नेपालको चिकित्सा शिक्षालाई सहयोग गरेको थियो। फलस्वरूप त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा स्थापना भएको थियो।
‘सामाजिक चिकित्सा क्षेत्रको सशक्त वकालत गर्नुहुन्थ्यो’, डा. पन्तले फेसबुकमा लेखेका छन्, ‘सामुदायिक चिकित्साको महत्वलाई जोड दिनुहुन्थ्यो। आईसीयूमा रहेर पनि दुई दिनअघि मात्र नेपालमा अनुसन्धानको महत्व र चीनले गरिरहेको प्रगतिबारे व्याख्यान दिनुभएको थियो।’
नागरिक अगुवाको पहिचान बनाएका श्रेष्ठले २०४६ र २०६२÷६३ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए। लोकतन्त्रका लागि सम्झौताहीन संघर्ष गरेका उनी प्रगतिशील सामाजिक रूपान्तरणमा लागेका थिए। पूर्वसभामुख एवं अधिकारकर्मी दमननाथ ढुंगानाका अनुसार प्राडा श्रेष्ठ चिकित्सा पेसामा निपूर्ण थिए। त्यसका साथै उच्च राजनीतिक चेतना थियो। ‘मुलुकको विकास होस र राजनीतिक स्वच्छ होस् भन्ने देशभक्तिको भावना भएको व्यक्ति हुनुहुन्थ्यो’, ढुंगानाले भने ।
प्राडा श्रेष्ठको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज राखिएको छ। अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार प्राडा श्रेष्ठको पार्थिव शरीरमा मंगलबार विहान ८ बजेदेखि श्रद्धाञ्जली कार्यक्रम राखिएको छ। त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।