भाषा, कला, संस्कृति, सभ्यता हाम्रा साझा राष्ट्रिय सम्पत्ति हुन् : प्रचण्ड
ग्याल्बो ल्होसारले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबूत बनाउने विश्वास व्यक्त गरेका छन्।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्बो ल्होसारले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबूत बनाउने विश्वास व्यक्त गरेका छन्। ग्याल्बो ल्होसारको शुभकामना दिँदै उनले देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति भएको उल्लेख गरेका छन्।
प्रचण्डले भनेका छन्,‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक हो। देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति हुन्। तिनीहरूको रक्षा रप्रवद्र्धन गर्नु हामी सबैको साझा जिम्मेवारीसमेत हो। ’
उनले विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवद्र्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्ध भएको उल्लेख गरेका छन्।
सन्देशमा भनिएको छ, ‘ग्याल्बो ल्होसार नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष हो, ऐतिहासिक र प्रेरणादायी दिन हो। विभिन्न मिष्ठान्न भोजनका साथै शेर्पा समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउने गरिन्छ। यस पर्वमा मान्यजनहरूबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार र आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा रहिआएको छ। ’