उपप्रधानमन्त्री श्रेष्ठले दिए काम नगर्ने ठेकेदारलाई चेतावनी

सद्धिसाई, कान्छाराम, स्वच्छन्द, बज्रगुरु, पप्पु, रौताहा, शैलुङ र आत्रेय निर्माण कम्पनी उपस्थित भएनन्।

उपप्रधानमन्त्री श्रेष्ठले दिए काम नगर्ने ठेकेदारलाई चेतावनी

निर्माण व्यवसायीको धारणा बुझेपछि मन्त्री श्रेष्ठले सबै आयोजनाका निर्माण व्यवसायीलाई आफ्नो आयोजनाको काम कहिले सक्ने हो ? भन्ने प्रश्न गर्दै भने, ‘काम सक्ने मिति दिनोस्, होइन भने ठेक्का तोडिन्छ।’

काठमाडौं : निर्माण कम्पनीको चरम लापरबाहीका कारण रुग्ण बनेका देशभरका ३८ परियोजनाका निर्माण कम्पनीले समयमै काम सक्ने प्रतिबद्धता गरेका छन्। सडक विभागअन्तर्गतको ४ निर्देशनालयले सडक तथा पुल परियोजना रुग्ण बनाएका निर्माण कम्पनीले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसामु यस्तो प्रतिबद्धता गरेका हुन्।

अन्नपूर्ण पोस्ट्मा माघ २४ गते ‘ठेकेदारको बेइमानीले अल्झिए १३० आयोजना’ शीर्षकमा कभर स्टोरी सम्प्रेषण भएको थियो। रुग्ण भन्नाले जति सुरुको अवधि तोकिएको छ, त्यति नै अवधि थप्दा पनि नसकिएका परियोजना भन्ने बुझिन्छ। ठेक्कामा दिएको परियोजनाका धेरैसो साइटमा ठेकेदार नै नहुँदा अलपत्र छन्। कुनैको काम सुस्त छ। यसरी दर्जनौंको संख्यामा पुल र सडक १४ वर्षदेखि बनिरहेका छन् तर सम्पन्न हुने कुनै टुंगो छैन।

देशभरको विभिन्न सडक डिभिजन कार्यालय, पुल सेक्टर, निर्माणाधीन राजमार्ग निर्देशनालय तथा सडक योजनाअन्तर्गत भइरहेका काममध्ये १३० को संख्यामा रुग्ण परियोजना छन्। सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहलमा तीन दर्जनको संख्यामा निर्माण कम्पनीका प्रतिनिधिको उपस्थिति थियो। समयमै काम नसक्ने ठेकेदारको लहररमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहसमेत थिए। सिंहको महादेव खिम्ती निर्माण सेवा पनि समयमै काम नसकेर कालोसूचीमा पर्न लागेको छ।

उपप्रधानमन्त्री श्रेष्ठल हुलाकी राजमार्ग निर्देशनालय, पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्देशनालय, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गत व्यवसायीको लापरबाहीका कारण रुग्ण बनेका निर्माण कार्यका ठेकेदारका प्रतिनिधिलाई सोमबार बोलाएर छलफल गरे।

छलफलमा धुलिखेल निर्माण सेवाका टंकप्रसाद चौलागाईं, मैनाचुली कन्स्ट्रक्सनका मदन अधिकारी, लुम्बिनी बल्डिर्सका विष्णू शर्मा, गौरीपार्वती निर्माण सेवाका रामकुमार थापा, बिरुवा कन्स्ट्रक्सनका पेम्बा लामा, मृग सञ्जिवनी निर्माण सेवाका गौरी उप्रेती, सूर्य कन्स्ट्रक्सनका डा. सूर्यबहादुर खड्कालगायत निर्माण व्यवसायी सहभागी थिए। उपप्रधानमन्त्री श्रेष्ठले उनीहरूलाई मन्त्रालयमा डाकेर समस्या बुझ्दै तोकेको समय र गुणस्तरमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए।

मन्त्रालयका अनुसार हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत ७ ठेक्का रुग्ण बनेका छ। यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्गनिर्देशनालयअन्तर्गत १७, सडक सुधार तथा विकास आयोजना निर्देशनालयअन्तर्गत ५ र उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गत ९ ठेक्का व्यवसायीको लापरबाहीका कारण रुग्ण बनेका छन्।

कसको कस्तो प्रतिबद्धता ?

हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत मोहना खेला–डोकेबजार–बेलौरी–कञ्चनपुर सडकमार्गको जिम्मा पाएको शर्मा राजेन्द्र जेभीले असार मसान्तसम्म निर्माण सक्ने प्रतिबद्धता गरेको छ। यसैगरी धाँधर खोला पुल र पतरी खोला पुल निर्माणको जिम्मा पाएको लोहनी ब्रदर्सले १० दिनमा कामलाई गति दिनेछ। नत्र कम्पनीले ठेक्का तोड्ने सहमत भएको छ।

हुलाकी राजमार्गअन्तर्गत नै गोपीगन्ज–नारायणचोक–परासीचोक सडकखण्ड निर्माणको जिम्मा पाएको कञ्चनजंघा बिरुवा शवशक्ति जेभीले २५ दिनमा काम सक्ने बताउँदा कमला नदी पुल बनाउने जिम्मा लिएको पप्पु–लुम्बिनी जेभीले नयाँ डिजाइन प्राप्त भएपछि काम थाल्ने प्रतिबद्धता गरेको छ। हुलाकी राजमार्गअन्तर्गतको मनमत–कलैया–मतिरर्वा सडक बनाउने ठेक्का लिएको सप्तकोसी जलाधार ओमसाई जेभी र मोहना–डोकेबजार–बेलौरी सडकको निर्माणको जिम्मा पाएको बाबाहंश शिद्धिसाई सम्पर्कमा आएको छैन।

सडक सुधार तथा विकास आयोजनाअन्तर्गत ५ रुग्ण परियोजनामध्ये भेडेटार–राँके सडक निर्माणको जिम्मा पाएको आप्को इन्फ्रा इन्डियाले चालू आवमा २५ किलोमिटर र आगामी वर्षको अन्त्यसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता गरेको छ। लमही–घोराही–तुल्सीपुर सडकखण्ड बनाउने जिम्मा पाएको तथ्य इन्जिनियरिङ कम्पनीले ८ मार्चसम्म उल्लेख्य प्रगति नगरे ठेक्का तोड्न सहमति दिएको छ।

मुडे–चरीकोट सडक बनाउने काम चैतसम्म सक्ने निर्माण कम्पनी सुनौला खिम्तीले जनाएको छ। यसैगरी एआईपीएल शैलुङ जेभीले बनाइरहेको भक्तपुर नगरकोट सडकको निर्माण कार्य चैतसम्म सम्पन्न हुनेछ। दिनेशचन्द्र शंकर माली जेभीले निर्माण गरिरहेको बसन्तपुर–पपरादी सडकको काम असार मसान्तसम्म ४५ प्रतिशत सकिनेछ।

यता पुष्पलाल राजमार्गअन्तर्गत ५ वटा परियोजना रुग्णको सूचीबाट हटेका छन्। रुग्णमध्ये आरुघाट–ओख्ले सडक असार मसान्तसम्म सकिने निर्माणको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सनले जनाएको छ। जोरसाल–तमोर–संक्रान्ति–म्याङलुङ सडकका विभिन्न खण्ड विभिन्न निर्माण कम्पनीले आउने असार मसान्तसम्म काम सक्ने जनाएका छन्। यो खण्डमा भरत, मैनाचुली, सिद्धिसाई, कन्टेक, गौरीपार्वती, कोशीलगायत निर्माण कम्पनीले काम गरिरहेका छन्।

मध्यपहाडीअन्तर्गत हिले–लेगुवा सडक निर्माणको जिम्मा पाएको रौतामाई सन्तोषी बिरुवा जेभीले जेठसम्म काम सक्ने जनाएको छ। यसैगरी खण्डुवा खोलामा पुल निर्माण कार्य वैशाख १५ मा सकिने बिरुवा गल्वा जेभीले जनाएको छ। भोजपुर दित्तेल सडकको काम असारभित्र सकिने भरत मैनाचुली सिद्धिसाई जेभीको दाबी छ। सिरुवा कन्स्ट्रक्सनले बनाइरहेको पंखु खोला पुल जेठसम्म निर्माण सम्पन्न हुनेछ। यसैगरी देउरी सामरी भञ्ज्याङ कटुञ्जे सडकको जिम्मा पाएको लुम्बीनी मृत सञ्जीवनी जेभीले असारसम्म काम सक्ने प्रतिबद्धता गरेको छ।

पाटीहाल्ने–रुकुमकोट सडकको काम असारसम्म सकिनेछ। सो कामको जिम्मा मरत महादेव खिम्ती जेभीले पाएको हो। ओख्ले–घ्याम्पेसाल–खहरे सडक बनाउँदै गरेको एमपी एसपी एफईसीसी जेभीले असारसम्म र र पिपलटार–देउडी सडकको जिम्मा पाएको गौरी पार्वती महालक्ष्मी नागार्जुन जेभीले पनि असारभित्रै काम सक्ने बताएका छन्। उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गत ९ वटा रुग्ण परियोजनामध्ये ३ वटा पुल छन्। 

खहरे खोला पुल र रुप्से खोला पुल बनाइरहेको सिरुवा कन्स्ट्रक्सन र गजुरमुखीसँगको ठेक्का तोडिसकिएको छ। यांगर खोलाको पुल धुलिखेल निशान जेभीले चीनबाट सामान आइसकेको र असारभित्र काम सक्ने बताएको छ। झैते–कोरोला सडक बनाइरहेको तामाङ गौरी पार्वती कोसी न्यौपाने जेभी, घासा–जोमसोम कोरोला बनाइरहेको पप्पु गौरी पार्वती कोसी न्यौपाने जेभी, मिर्मि–फलेबास–कुस्मा सडकखण्ड निर्माण गरिरहेको सूर्य कन्स्ट्रक्सनले असार मसान्तसम्म काम सक्ने बताएका छ।

हिल्सा–सिमिकोट–सल्लीसल्ला सडक र सिमिकोट–खर्बु–हुम्ला बनाइरहेका अनक कविन्द्र माउन्टेनले जेभीले जग्गा विवाद समाधान भए काम सक्ने प्रतिबद्धता गरेका छन्। बुटवल–बेलहिया सडक कञ्चनगंघा बिरुवाजेभीले असारसम्म काम सक्ने बताएका छ। रुकुमपूर्वको काँक्री–मैकोट खण्डको ३८ किमि सडक चौडा गरी ग्राभेल स्तरमा उन्नति गर्ने काम जिम्मा पाएको न्यौपाने जेभीको ठेक्का तोडिएको छ भने जोमसोम कोगबेनी बनाइरहेको रौता आत्रेय सारस जेभी सम्पर्कमा आएको छैन।

सम्पर्कमा आएनन् यी कम्पनी 

उपप्रधानमन्त्री श्रेष्ठ, सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक, निवर्तमान महानिर्देशक, निर्देशनालय प्रमुखले आमन्त्रण गर्दा पनि आधा दर्जन निर्माण व्यवसायी उपस्थित भएनन्।

सद्धिसाई, कान्छाराम, स्वच्छन्द, बज्रगुरु, पप्पु, रौताहा, शैलुङ र आत्रेय निर्माण कम्पनी उपस्थित भएनन्। उनीहरूलाई निर्देशनालय प्रमुखले बैठकबाटै टेलिफोन गरेका थिए। तीमध्ये सिद्धसाई र कान्छाराम सम्पर्कमा आएनन्। सम्पर्कमा आएको शैलुङले २५ दिनमा कालोपत्रे सक्ने प्रतिबद्धता गरेको छ। यस्तै, बज्रगुरुले तमोर सडकमा असारमा गाडी चलाउन मिल्ने बनाउने र रौताहाले आफ्नो काम अर्का वर्षको मध्य अवधिसम्म सक्ने बतायो।

काम सक्ने मिति दिनुहोस् नत्र, ठेक्का तोडिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले काम सम्पन्न हुन ढिलाइ तथा कम गुणस्तरका काम भएका आयोजनाको निर्माण व्यवसायीलाई समयमै र गुणस्तरीय कार्य गर्न प्रतिबद्धता गराए।  उनले निर्माण व्यवसायीलाई आफ्ना समस्या राख्न पनि सुझाव दिँदै रुग्ण परियोजना कहिले सम्पन्न हुने भन्ने लिखित प्रतिबद्धता गराए। श्रेष्ठको प्रश्न थियो, ‘काम ओगटेर बसेकाले काम नभएको हो वा मन्त्रालयले सहजीकरण नगरेर वा भुक्तानी र कर्मचारीको समस्या हो ?

निर्माण व्यवसायीको धारणा बुझेपछि मन्त्री श्रेष्ठले सबै आयोजनाका निर्माण व्यवसायीलाई आफ्नो आयोजनाको काम कहिले सक्ने हो ? भन्ने प्रश्न गर्दै भने, ‘काम सक्ने मिति दिनोस्, होइन भने ठेक्का तोडिन्छ।’ श्रेष्ठका अनुसार अबका हरेक १५–१५ दिनमा निर्देशनालय प्रमुखबाट रुग्ण आयोजनाको प्रगति विवरण लिइनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.