बेवारिसे युवकको उद्धार
लामो समयदेखि ढल छेउमा कष्टकर जीवन बिताउँदै आएका ती युवकलाई उद्धार गरिएको हो।
वीरगन्ज : वीरगन्जको सडकमा कष्टकर जीवन व्यतित गरिरेहका एक युवकलाई मानव सेवा आश्रमले उद्धार गरेको छ। वीरगन्जको मुर्ली चोकस्थित ढल छेउमा लामो समयदेखि बस्दै आएका मानसिक अवस्था कमजोर भएका अन्दाजी ३५ वर्षीय युवकलाई आश्रमले आइतबार राति उद्धार गरेको हो।
फोहोरको ढलछेउमा अत्यन्त कष्टपूर्ण अवस्थामा बस्दै आएका ती युवकलाई आश्रमको टोलीले सामाजिक अभियन्ता र प्रहरीको सहयोगमा राति उद्धार गरि आश्रममै राखेको छ।
उद्धार गरिएका ती युवकको मानसिक अवस्था ठिक नरहेकाले उनले आफ्नो नाम पनि बताउन नसकेको आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले बताए। आइतबार राति सडकबाट उद्धार गरि आश्रममा राखिएका ती युवकको सोमबार बिहान कपाल दाह्री काट्नुका साथै नुहाइदिएर सफासुग्घर पारिएको गुप्ताले जानकारी दिए।
अब आश्रममै स्वास्थ्यकर्मीको टोली बोलाएर उनको उपचार पनि सुरु गरिने भन्दै गुप्ताले भने, ‘स्वास्थ्य र मानसिक अवस्था ठिक भएपछि उनको परिवारको सोधिखोजी गर्नेछौं, त्यसपछि पारिवारिक पुनर्मिलन गराइदिनेछौं।’ यसअघि गत सोमबार ‘भ्यालेन्टाइन डे’का दिन पनि वीरगन्जमै रात्रि गस्ती गरेर आश्रमको टोलीले खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका दुईजनाको उद्धार गरेको थियो।
उनीहरूलाई पनि आश्रमकै संरक्षणमा राखिएको छ। वीरगन्ज महानगरपालिका–२५ सिर्सिया छोटी भन्सारस्थित मानव सेवा आश्रममा हाल १ बालक, ३ बालिका, ७ पुरुषसहित ५२ जना आश्रित छन्।