दैलेखको राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने
दैलेख (राकमकर्णाली): जिल्लाको आठबीस नगरपालिकाको केन्द्र राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणको प्रक्रिया अघि बढेको छ । २०७६ फागुन १० गते नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो ।
नगरपालिका र प्रतिष्ठानबीचको सम्झौता अनुसार राकमकर्णालीमा सय शैयाको शिक्षण अस्पताल निर्माण गरि नागरिकलाई गुणस्तरिय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ ।
कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माण हुनेछ । अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा प्रतिष्ठानले लिनेछ ।शिक्षण अस्पताल निर्माणका लागि आठबीस नगरपालिका–३ मा ४० रोपनी (दुई हजार एक सय ३० वर्गमिटर) क्षेत्रफल जग्गा व्यवस्थापन भइसकेको नगरका प्रमुख तर्कबहादुर बडुवालले बताए ।
उक्त जग्गा नगरपालिका र प्रतिष्ठानको संयुक्त स्वामित्वमा छ । अस्पताल निर्माणको लागि डीपीआर निर्माणको काम भइरहेको नगरप्रमुख बडुवालले बताए । अस्पताल निर्माण तथा सञ्चालनका लागि नगरप्रमुखको संयोजकत्वमा समिति समेत गठन भइसकेको छ ।
हाल नगरले राकमकर्णालीस्थित आधारभूत अस्पतालबाट नागरिकलाई सेवा प्रवाह गरिरहेको छ । उक्त अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरूमा प्रतिष्ठानले चिकित्सक खटाएको छ ।
अस्पतालमा आधारभूत भौतिक व्यवस्थापनहरू एक्सरे,भीडीयो एक्सरे,इसिजी ल्याबसहित अस्पताल फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ । विशेषज्ञ सेवा सञ्चालनका लागि अपरेशन कक्ष तयार तथा आवश्यक भौतिक सामग्री व्यवस्थापन भएको नगरप्रमुख बडुवालले बताए । २०७८ माघ १६ गते नगरप्रमुख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टारबीच भएको सम्झौता अनुसार प्रतिष्ठानले हालको आधारभूत अस्पतालमा थप विशेषज्ञ सेवाका लागि जनशक्ति परिचालन गर्ने नगरले बजेट व्यवस्थापन गर्न बाँकी छ ।
प्रतिष्ठानले राकमकर्णालीको आधारभूत अस्पतालका लागि अक्सिजन प्लान्ट प्रदान गरिसकेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट प्राप्न अक्सिजन प्लान्ट प्रतिष्ठानले आठबीस नगरपालिकाको आधारभूत अस्पताललाई उपलब्ध गराएको हो । अक्सिजन प्लान्ट जडानका लागि नगरपालिकाले ट्रस्ट निर्माण,विद्युतीय प्रशारण ट्रास्फर्म खरिदमा ३२ लाख पाँच हजार रुपैयाँ खर्च गरेको नगरका जनस्वास्थ्य निरीक्षक देवराज तिमिल्सेनाले जानकारी दिए ।
हालै जडान भएको अक्सिजन प्लान्ट सोमबार उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिनोदकुमार शाह, प्रतिनिधिसभा सदस्य सोविता गौतम,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललगाएतको उपस्थितीमा अक्सिजन प्लान्ट उद्घाटन गरिएको हो । अक्सिजन प्लान्ट उद्घाटन गर्दै मन्त्री शाहले कर्णालीमा स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताए ।
राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्न तयार रहेको मन्त्री शाहले बताए ।
पहिलो पटक राकमकर्णाली पुगेकी प्रतिनिधिसभा सदस्य सोविता गौतमले अब दोस्रो पटक राकमकर्णालीमा आउँदा अस्पताल निर्माण भईसक्ने विश्वास लिएको बताइन् ।
उनले कर्णालीको सबैखाले समस्या संघीय संसदमा दृष्य वा अदृष्य रुपमा निरन्तर उठाउने बताइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल जति सक्दो छिटो निर्माण गर्ने बताए । डा.रावलले आगामी दुईवर्षभित्रै ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याइने दाबी गरेका छन् ।
अक्सिजन प्लान्ट उद्घाटन गर्न पुगेका आर्थिक मामिला तथा योजना मन्त्री बिनोदकुमार शाह। तस्बिर : हिक्मतबहादुर नेपाली