वीरगन्जमा १० हजार बढीको घरमै निःशुल्क उपचार
वीरगन्ज: वीरगन्ज महानगरपालिकाले सञ्चालन गरेको मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रमबाट महानगरका १० हजारभन्दा बढी बिरामीले घरदैलोमै स्वास्थ्य उपचार सेवा पाएका छन्।
महानगरले भदौ अन्तिम सातादेखि चार महिनासम्म सञ्चालन गरेको मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रममार्फत महानगरको ग्रामीण भेगको वडाका १० हजार ८८५ जनाले स्वास्थ्य उपचार सेवा लिएका हुन्।
महानगरले जनताको घरदैलोमै पुगेर उपचार सेवा दिने उद्देश्यले गत भदौ २६ गतेदेखि कार्यक्रम सञ्चालन गरेको थियो।
महानगरपालिकाले वडा वडामै विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीलाई टोली पठाएर स्वास्थ्य उपचार सेवा प्रदान गरेको हो ।
सहरको पहुँचबाट टाँढा रहेका महानगरका ग्रामीण भेगका १२ वटा वडामा सञ्चालित कार्यक्रममार्फत उनीहरूले उपचार सेवा पाएका महानगरका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताए।
तीमध्ये २ हजार १७२ जनाले ल्याब सेवा (रगत , खकार , दिशा , पिसाबको जाँच), ४ सय ५३ जनाले युएसजी (अल्ट्रा साउण्ड) र ६७ जनाले इसिजी सेवा पनि लिएका महानगरका स्वास्थ्य महाशाखा प्रमुख जयसवालले जानकारी दिए।
ओपिडी, ल्याब, युएसजी र इसिजि सेवा लिएका बिरामीहरूलाई रोग अनुसारको निःशुल्क औषधी पनि वितरण गरिएको जयसवालले बताए।
शिविरमा विशेषज्ञ चिकित्सक (मेडिकल अफिसर) तीन जनाका साथै स्टार्फ नर्स, हेल्थ असिस्टटेण्ट, ल्याब टेक्निसियन र अनमी गरि २५ जना स्वास्थ्यकर्मी खटिएका थिए।
मेयर राजेशमान सिंहले हरेक नगरवासीको घरदैलोमै स्वास्थ्य उपचारको सेवा पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको बताए।
मेयर सिंहले भने ,‘महानगरका ग्रामीण भेगका वडाहरुमा सहरको जस्तो सुविधा सम्पन्न अस्पताल र स्वास्थ्य संस्था छैनन्, त्यहाँ कोही बिरामी परे उपचारका लागि सहर नै धाउनुपर्ने बाध्यता छ, त्यसैले ग्रामीण भेगका जनतालाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरेका थियौं।