एमालेको ‘मिसन ग्रासरुट’ अभियान : उपलब्धि के हुन्छ ?
एमाले महासचिव शंकर पोखरेलले मिसन ग्रासरुट केन्द्रीय नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड्ने अभियान भएको जानकारी दिएका छन्।
काठमाडौं : नेकपा एमालेले दुईमहिने पार्टी सुदृढीकरण तथा विस्तारका लागि ‘मिसन ग्रासरुट’अभियान गरिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली आफैं अभियानको संयोजक बनेका छन्।
पार्टीका पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूलाई अभियानको केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा खटाइएका छन्। उनीहरूलाई दुई महिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गरिएको छ भने उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरूको टिमले अभियानको अनुगमन र संयोजन छन्।
अभियानमा एमालेले पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तक्रिया र स्थानीय तहको समस्याहरू बुझ्ने, पार्टीभित्रको अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको कार्यक्रम सञ्चालन गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले मिसन ग्रासरुट केन्द्रीय नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड्ने अभियान भएको जानकारी दिएका छन्। उनले भने, ‘मिसन ग्रासरुट अभियान समग्रतामा सिंगो पार्टीलाई आम जनतासँग जोड्ने अभियान हो।’भविष्यमा एमालेलाई बहुमत प्राप्त बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नेगरी पार्टीको सदस्यतालाई भौतिक उपस्थितिमा व्यवस्थित गर्ने अभियान भएको उनको भनाई छ।
अभियानले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सक्ने गरी एकल बहुमत प्राप्त गर्न सक्ने बलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीको सुदृढ हुने महासचिव पोखरेलको विश्वास छ। उनले मिसन ग्रासरुटलाई पार्टी सुदृढीकरण र विस्तार अभियानका रुपमा सिर्जनात्मक ढंगले अघि बढाउन निर्देशन दिएका छन्।
महासचिवले दिए 'मिसन ग्रासरुट'का १२ बुँदे उपलब्धि
- पार्टी सदस्यको वास्तविक अभिलेख प्राप्त हुनेछ। पार्टी सदस्यहरुको विशिष्टिकृत क्षमताको पहिचान हुनेछ।
- नयाँ पुस्तालाई पार्टीमा जोड्ने काम हुनेछ। नेतृत्व विकासको सम्भावना बोकेका युवा नेतृत्वको पहिचान हुनेछ।
- सबै टोल र बस्तीमा पार्टी कमिटी विस्तार गरिनेछ। आधारभूत तहका कमिटीहरुको पुनर्गठनको आधार तयार हुनेछ।
- पार्टी सम्बद्ध सबै जनसंगठनका आधारभूत तहसम्म कमिटीको सञ्जाल तयार हुनेछ। सबै वर्ग र समुदायका बीचमा जनसंगठनमार्फत पार्टीको प्रभावलाई विस्तार गरिनेछ।
- स्थानीय तहमा पार्टी एकताबद्ध र सुदृढ हुनेछ र स्थानीय तहमा विद्यमान अन्तरविरोध समाधानमा सहजिकरण गरिनेछ।
- पार्टीमा उत्पन्न जटिल समस्याको पहिचान गरी त्यसको समाधानको उपाय खोजिनेछ।
- स्थानीय तहका जनप्रतिनिधिहरुको कामलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ। पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध समधुर हुनेछ।
- वैचारिक र राजनीतिकस्तर माथि उठाउन सहयोग पुग्नेछ। आधारभूत तहदेखि नेतृत्व विकासको आधारसिला तयार हुनेछ।
- वर्तमान सन्दर्भमा सामाजिक र जनसरोकारका विशिष्टिकृत मुद्दाहरु पहिचान हुनेछ। मुद्दामा आधारित जनपरिचालनको काममा तीव्रता आउने छ।
- आन्दोलन र समाजमा विशिष्ट योगदान गरेका भूईंतहका व्यक्तित्वहरुको पहिचान र सम्मान गरिनेछ।
- यस अभियानको सफलतासँगै अवसरवाद र अराजकतावादमाथि विजयको आधार तयार हुनेछ।
- समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न सक्ने गरी एकल बहुमत प्राप्त गर्न सक्ने बलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीको सुदृढ हुनेछ।