कुलेश्वरको फलफूल पसलमा भारतीय नागरिकको हुण्डि कारोबार
काठमाडौं: कुलेश्वरमा फलफूल व्यवसाय गर्ने व्यापारी हुण्डि कारोबार मा संलग्न भएको पाइएको छ। 'माँ चामुण्डा फ्रुट सेन्टर' सञ्चालन गर्दे आएका ४९ वर्षीय भारतीय नागरिक विजयकुमार गुप्तालाई हुण्डि कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
गुप्ता नगद ७१ लाख ८० हजार र चेकसहित प्रक्राउ परेका हुन्। काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार गुप्ता लामो समयदेखि हुण्डि कारोबारमा संग्लन थिए।
सूचनाको आधारमा काठमाडौ उपत्यका अपराध महाशाखाबाट खटिएको विशेष टोलीले गुप्तालाई नियन्त्रणमा लिएको हो। नेपाल राष्ट बैंकले जारी गरेको सूचना विपरित हुने गरी इजाजतपत्र नलिइ वित्तीय कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।
भारत हिमान्चल प्रदेश सिमलाथाना घर भएका उनी ०७५ साउन ७ गते २ लाख भारतीय रुपैया र ३१ लाख नेपाली रुपैयासहित सोही पसलबाट प्रक्राउ परेका थिए। त्यसबेला राजस्व छलि कसुरमा कारबाही भएको थियो।
गुप्तालाई अहिले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।