व्यक्तिगत स्वार्थले देश दुर्घटनातिर जाने सम्भावना बढ्यो : अध्यक्ष बिजुक्छे
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शासक दलहरूले सिद्धान्त र दर्शनलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा देश दुर्घटनातिर जाने सम्भावना रहेको उल्लेख गरेका छन्।
भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा उनले विदेशीको इसारामा चल्ने र विदेशीको हितमा काम गर्नेले कहिल्यै पनि देशको हितको निम्ति नसोच्ने बताए।
व्यक्तिगत स्वार्थबाट टाढा रही सिंगो समाजलाई अगाडि बढाउने नीति नै समाजवादी नीति भएको उनको भनाइ थियो।
शासक दलहरूबाट गरिब जनतालाई शिक्षाको पहुँचबाट टाढा राख्ने अनेक षड्यन्त्र भइरहेकाले यसतर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए।
उनले सरकारको नीतिगत खोटको विरोध र आलोचनालाई देशभक्त जनताले निरन्तरता दिनुपर्ने बताए।