रूससँग एक वर्षदेखि भिड्दै युक्रेन

रूससँग एक वर्षदेखि भिड्दै युक्रेन
फाइल तस्बिर।
सुन्नुहोस्

संयुक्त राष्ट्रसंघका अनुसार कम्तीमा ७ हजार २ सय सर्वसाधारण मारिएका छन्। १२ हजार घाइते भएका छन्।

किभ (एजेन्सी) : २४ फेब्रुअरी २०२२ को बिहान युक्रेनको राजधानी किभमा विस्फोटको आवाजले धेरै स्थानीयवासी अपर्झट ब्युँझिए। जुन दिन रूसले युक्रेनविरुद्ध व्यापक आक्रमण सुरु गरेको थियो। हजारौंले ज्यान गुमाइसकेको यो युद्धले एक वर्ष पूरा गरे पनि रोकिने कुनै संकेत देखिँदैन। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम लेख्छन्, ‘एक वर्षअघि रूसले युक्रेनमा सुरु गरेको आक्रमण दोस्रो विश्वयुद्धपछि अर्काको देशमा गरिएको सबैभन्दा ठूलो आक्रमण थियो।’ रूसी हमलापछि युक्रेनमा तत्कालै मार्सल कानुन लागू गरियो। आक्रमणमा नागरिकका आवासीय क्षेत्रलाई पनि निशाना बनाइयो। छोटो समयमै मृत्युको संख्या उकालो लाग्दै गयो। तर, एक वर्ष बिते पनि कतिले ज्यान गुमाए भन्ने स्पष्ट तथ्यांक छैन। संयुक्त राष्ट्रसंघका अनुसार कम्तीमा ७ हजार २ सय सर्वसाधारण मारिएका छन्। १२ हजार घाइते भएका छन्। संयुक्त राष्ट्रसंघ नै भन्छ, ‘यो तथ्यांकभन्दा धेरै पनि हुन सक्छ।’

मारिएका युक्रेनी सैनिकको संख्या पनि स्पष्ट छैन। युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले भने दुवैतर्फ कम्तीमा १ लाख सैनिकको मृत्यु भएको हुन सक्ने आकलन गरेको छ। डिसेम्बरमा युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले मृतकको संख्या १३ हजारसम्म पुग्न सक्ने बताएका थिए। एक वर्ष अवधिमा पनि अझै गोलमटोल तथ्यांक मात्रै छन्।

युक्रेनका लाखौंं नागरिकले यस अवधिमा रूसी हवाई आक्रमणबाट आफूलाई बचाउन कुनै न कुनै ठाउँमा शरण खोज्नमै गुजारे। 

युद्ध मोर्चानजिकै बस्नेहरूका लागि भूमिगत आवास दोस्रो घरजस्तै भयो। ठूला सहरमा बस्नेले पनि मिसाइलबाट बच्न भागदौडमै वर्षदिन गुजारे। किभ र खार्किभका सबवे स्टेसनले पनि सुरक्षित आश्रयस्थानका रूपमा सेवा प्रदान गरे। यस्तै भागदौड र रूसको आक्रमणमा हजारौं हताहत भए। 

युक्रेन युद्धले जबरजस्त आप्रवासन निम्त्यायो। जुन युरोपले दोस्रो विश्वयुद्धपछि पहिलो पटक भोग्नुपर्‍यो। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार ८० लाखभन्दा बढीले युक्रेन छाड्नुपर्‍यो। पोल्यान्डले मात्र १५ लाख जनालाई शरण दिएको छ।

युद्ध केही महिना मात्रै चल्ला भन्ने धेरैको अनुमान थियो। तर, रूस रोकिएन, युक्रेनले अन्य शक्ति राष्ट्रको साथमा युद्ध गर्ने बल घटाएन। सेप्टेम्बर सुरुमा युक्रेनी सेनाले खार्किभमा एउटा काउन्टर अपरेसन सुरु गर्‍यो। रूसी सेना तुरुन्तै पछि हटे। युक्रेनी सेना दक्षिणमा पनि खेरसनलाई मुक्त गर्न सफल भयो। त्यहाँ बसोबास गर्ने बासिन्दाले युक्रेनी सैनिकलाई स्वागत गरे। 

युद्धका समयमा रूसले सामान्य नागरिकप्रति पनि दया नदेखाएको घटनाक्रमले प्रस्ट देखाउँथ्यो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विशेष सैन्य कारबाही’को कुरा गरे र उनीहरूको लक्ष्य युक्रेनको डोनेस्क र लुहान्स्क क्षेत्रहरू कब्जा गर्ने भएको बताए। डोनेट्स्कको मारियोपोल सहरका नागरिक धेरै सातासम्म तहखानामा लुक्नुपर्ने अवस्था आएको थियो। त्यस क्रममा धेरैको भग्नावशेषमा पुरिएर मृत्यु पनि भयो। 

मार्चमा हजारौंले शरण लिएको थिएटरमा रूसी हवाई हमला भयो। युद्ध सुरु भएको केही सातापछि युक्रेनी सेना रूसी सेनालाई देशको उत्तर र उत्तर–पूर्वी क्षेत्रबाट धपाउन सफल भएको थियो। त्यसपछि किभ कब्जा गर्ने रुसी योजना असफल भएको थियो। यी क्षेत्रको मुक्तिपछि रूस अझै आक्रामक बन्यो। त्यति बेला किभ नजिकैको बुचा सहरमा यातना दिएर मारिएका व्यक्तिका शवका तस्बिर विश्वभर देखिएका थिए। उक्त घटनामा मात्रै ४ सय ६७ जनाको ज्यान गएको थियो। 

युक्रेनका लागि युद्ध ‘टर्निङ प्वाइन्ट’ पनि बन्यो। युक्रेनलाई पश्चिमी हतियार आपूर्ति युद्धको प्रारम्भिक दिनदेखि नै छलफलको विषय बन्यो। तर, किभले सुरुमा थोरै संख्यामा हतियार मात्र प्राप्त गर्‍यो। हिमर्स नामको अमेरिकी रकेट लन्चरबाट उसलाई राहत मिलेको थियो। यसले गर्दा युक्रेनको सेनाले रूसी तोपलाई हुने गोला बारुदको आपूर्ति रोक्न सक्यो। 

यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युक्रेन द्वन्द्वलाई शान्तिपूर्ण रूपमा समाधान गर्न चाहेको बताएका छन्। युक्रेन युद्धको एक वर्ष पुगेको अवसरमा रूसी संघीय संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको डोनबास क्षेत्रको द्वन्द्वलाई शान्तिपूर्ण माध्यममार्फत समाधान गर्न चाहेको बताए। साथै पुटिनले युक्रेनले जैविक र आणविक हतियार जम्मा गरेको पनि आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.