राष्ट्रपतिको विषय आज पाँच बजे टुंग्याउँछौँ: गगन थापा (भिडियो)
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको विषय आज पाँच बजे टुंग्याउँने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको चार दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले दलहरूबीच आन्तरिक छलफल गरी फेरि पाँच बजे संयुक्त बैठक बस्ने र राष्ट्रपतिको विषय टुंग्याउँने बताए।
शुक्रबार बिहान लामो सयम चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका नेताले छलफलल गरेका थिए। छलफल सकारात्मक रहेको बताउँदै थापाले राष्ट्रपतिको उम्मेदवार र विकल्पका धेरै विषयमा छलफल भएको बताए।
दलहरूबीचको छलफल सकारात्मक भएको भन्दै कांग्रेस महामन्त्री थापाले दलहरूबीच आन्तरिक छलफल गरेर संयुक्त छलफलल गर्न साँझ पाँच बजे फेरि भेला हुने जानकारी दिए।
थापाले भने, 'आज बिहान चार दल एक ठाउँमा बसेर लामो छलफल गर्यौँ। राष्ट्रपति निर्वाचनका विभिन्न विकल्पका विषयमा छलफल भयो। फरक फरक प्रस्ताव पनि आए। छलफल सकारात्मक भएको छ। आन्तरिक छलफल पछि आजै साँझ पाँच बजे फेरि बैठक बस्नेछौँ।'