सात वर्ष बित्दा पनि बनेन पुल
बाजुरा : बुढीगंगा नगरपालिका-८ को बेतालमाण्डौ डेल्टा सडक खण्डको बार्जुगाड नदीमा निर्माणाधीन पक्की पुल ७ वर्षदेखि अलपत्र छ।
खप्तड छेडेदह गाउँपालिका-३ र बुढिगंगा नगरपालिका-४ को बीचमा रहेको बार्जुगाड नदीमा निर्माण भएको पुलको काम अझै सकिएको छैन।
तत्कालीन जिल्ला विकास समितिले २०७३ सालमा २ वर्षभित्र पुल सम्पन्न गर्ने गरी ठेक्का गरेको थियो। २ करोड २९ लाखमा भएको ठेक्का अछामको साउद एडभेन्चर जेभीलाई ठेक्का परेको थियो।
सम्झौताअनुसार २०७५ सालमा सक्नुपर्ने थियो। निर्माण कम्पनीले २ वटा पिल्लर हालेर बेखबर बनेको स्थानीयले बताए।
ठेकेदार कम्पनी काम नगरेपछि पुल निर्माणको जिम्मा सडक पूर्वाधार विकास कार्यलय साँफेबगर अछामले लिएको थियो।
कार्यलयले जिम्मा लिएको भएपनि पुल निर्माण अलपत्र अवस्थामा रहेको छ। स्थानीय दिपक रावतले ठेकेदारको कमजोरीका कारण समयमै काम नभएर अलपत्र अवस्थामा रहेको बताए।
पूर्वाधार विकास कार्यलय अछामका प्रमुख रुद्ध बोगटीले यो आर्थिक वर्षभित्रै पुल निर्माण गरिसक्ने बताए।