सजिलो प्रश्नबाट परीक्षालाई स्तरीकृत बनाइँदै
काठमाडौं : परीक्षा सरलीकरण गरेर कक्षाकोठालाई पनि सुधार गर्न राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षाको योजना अघि सारेको छ।
जुनसुकै देशमा कुनै तह पास गरेपछि स्तरीकृत परीक्षा हुने भएकाले यसलाई उपयुक्त ठानिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए।
उनका अनुसार अहिले बोर्डले कक्षा १०–१२ सम्मको जिम्मा लिएकोमा अब स्तरीकृत परीक्षाले कक्षाकोठामा दिएको गुणस्तर परीक्षामा पनि देखिने छ।
यद्यपी अहिलेको परीक्षाभन्दा स्तरीकृत परीक्षा फरक भने होइन। तर यसमा शिक्षकहरूले अभ्यास गरेर पढाएकोमा पहिले नै परीक्षा गर्दा विद्यार्थीले प्रश्नको उत्तर दिन सक्छन की सक्दैन भन्ने खालको कुरा पहिला नै जाँच हुनेछ।
शिक्षा पत्रकार समूहले बिहीबार आयोजना गरेको सिकाइ र मूल्यांकन विषयक अन्तर्क्रियामा बोल्दै उनले भने, ‘यदि शिक्षकले बनाएको प्रश्न अफ्ठेरो भएर विद्यार्थीले उत्तर दिन नसके त्यसलाई हटाउने र उत्तर दिन सक्ने प्रश्नलाई प्रश्न बैंकको रूपमा राख्दा विद्यार्थीलाई सरल हुने देखिन्छ।‘
अहिलेसम्म प्रश्नपत्रमार्फत विद्यार्थीको ज्ञान मात्र नापिरहेको उनले बताए। तर अब ज्ञानसँगै विद्यार्थीको सिकाइको बुझाई क्षमता, बोध र त्यसको प्रयोगदेखि उच्च क्षमता नाप्न जरुरी भएको उनको भनाइ छ।
पहिलो फेजमा बोर्डले तीन विषयको प्रश्नपत्र निर्माण सिट र विकासका लागि स्तरीकृत परीक्षा तयार गर्न लागेको उनले जानकारी दिए।
स्थानीय तहसम्म जान राष्ट्रिय स्तरका विज्ञहरू तथा प्रशिक्षकहरू तयार भइसकेका छन्।