रूसलाई युद्ध रोक्न राष्ट्रसंघको निर्देशन

रूसलाई युद्ध रोक्न राष्ट्रसंघको निर्देशन

७५ भन्दा बढी देशका विदेशमन्त्री र कूटनीतिज्ञहरूले महासभालाई सम्बोधन गरेका थिए। धेरैले युक्रेनको क्षेत्रीय अखण्डतालाई समर्थन गर्ने प्रस्तावको समर्थन गर्न आग्रह गरे।

किभ (एजेन्सी) : संयुक्त राष्ट्रसंघको महासभाले रूसी सेनालाई युक्रेनबाट तत्काल हटाउन आह्वान गरेको छ। शुक्रबार युक्रेनमाथि रूसी आक्रमणको एक वर्ष पूरा भयो। यसको पूर्वसन्ध्यामा बिहीबार राष्ट्रसंघको महासभामा ल्याइएको शान्ति प्रस्तावसमेत बहुमतले पारित गर्दै रूसलाई सेना हटाउन आह्वान गरेको हो। 

युक्रेनमा रूसले आक्रमण गरेयता राष्ट्रसंघीय महासभा, सुरक्षा परिषद् र मानवअधिकार परिषद्‍मा विभिन्न प्रस्ताव पारित भएका छन्। तर, भारत, चीनलगायतका मुलुक भने उक्त प्रस्तावको मतदानबाट बाहिरै रहेका छन्। युक्रेनबाट तत्काल रूसी सेना हटाउनुपर्ने प्रस्तावको पक्षमा नेपालसहित १ सय ४१ राष्ट्रले मतदान गरेका थिए। 

रूस, बेलारूस, उत्तर कोरिया, माली, इरिट्रिया र निकारागुवाले भने प्रस्तावको पक्षमा मतदान गरेका थिएनन्। चीन र भारतसहितका ३२ देश भने मतदानमा अनुपस्थित थिए। दक्षिण एसियाली मुलुकमध्ये पाकिस्तान, श्रीलंका र बंगलादेश पनि मतदानमा सहभागी भएनन्। अफगानिस्तान, भुटान र मालदिभ्स भने नेपालसँगै प्रस्तावको पक्षमा उभिए। भारत र चीनले भने युक्रेन–रूस द्वन्द्व वार्ता कूटनीतिक माध्यमबाटै समाधान हुनुपर्ने बताउँदै आएका छन्। 

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले यो मतदानले आफ्नो देशलाई पश्चिमले मात्र नभई धेरै राष्ट्रले समर्थन गरेको थप प्रमाण भएको बताएका छन्। ‘यो मतले धेरै राष्ट्र दक्षिण युक्रेनको पक्षमा उभिँदैन भन्ने तर्कलाई अस्वीकार गर्छ,’ उनले भने, ‘ल्याटिन अमेरिका, अफ्रिका र एसियाको प्रतिनिधित्व गर्ने धेरै देशहरूले पक्षमा मतदान गरेका छन्।’

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मतदानले युक्रेनको समर्थनको एक ठूलो प्रदर्शन र सबै ठाउँका मानिसको स्वतन्त्रताको स्पष्ट रक्षा भएको उल्लेख गरेका छन् भने, ‘महासभा युक्रेनसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको सबैभन्दा महŒवपूर्ण निकाय बनेको छ। किनभने अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने सुरक्षा परिषद् रूसको भिटो शक्तिले पक्षाघात भएको छ। महासभाको प्रस्तावहरू सुरक्षा परिषद्को प्रस्तावहरूको विपरीत कानुनी रूपमा बाध्यकारी छैनन्। तर, विश्व रायको ब्यारोमिटरको रूपमा काम गर्छ।’

७५ भन्दा बढी देशका विदेशमन्त्री र कूटनीतिज्ञहरूले दुई दिने बहसको क्रममा सभालाई सम्बोधन गरेका थिए। धेरैले युक्रेनको क्षेत्रीय अखण्डतालाई समर्थन गर्ने प्रस्तावको समर्थन गर्न आग्रह गरे। युद्धले दुबै पक्षका हजारौंको ज्यान लिइसकेको छ। पूरै युक्रेनी सहरहरूलाई भग्नावशेषमा परिणत गरेको छ। यसको प्रभाव उच्च खाद्यान्न र इन्धन लागत र बढ्दो मुद्रास्फीतिमा विश्वव्यापी रूपमा परेको छ। 

बीबीसीका अनुसार दोस्रो विश्वयुद्धपछि रूसी आक्रमणमा सबैभन्दा बढी सैनिक संलग्न भएका हुन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई लाखभन्दा बढी सैनिक पठाएको बीबीसीको समाचारमा उल्लेख छ। राष्ट्रसंघको अनुमान अनुसार रूसी आक्रमणमा करिब सात हजार युक्रेनी नागरिक मारिएका छन्। युद्ध सुरु भएयता दुवैतर्फ मानवीय तथा भौतिक क्षति भएको छ। क्षतिको स्वतन्त्र पुष्टि भने भएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.