दिदीबहिनीको न्यायिक लडाइँ
चुरे संरक्षणमा लागेका दाजु दिलीपको हत्यापछि शोकाकुल बहिनीहरू संगम र लक्ष्मी तीन वर्षदेखि न्यायको लडाइँ लडिरहेका छन्। दाजुको पथ पच्छ्याउँदै न्यायालयको ढोका घचघच्याउँदै छन्।
दाजु दिलीप (ओमप्रकाश) महतोको हत्यापछि शोकाकुल दिदीबहिनी संगम र लक्ष्मीले के गरेनन् ? न्यायको लागि राजमार्ग अवरुद्ध गरे। जिल्ला प्रहरी कार्यालयदेखि सिंहदरबार धाए। न्यायालयको दैलोपानी, पधेंरोजस्तो भयो। तीन वर्ष भौंतारिरहे । शुक्रबार फैसला हुँदा गहभरि आँसु पारे।
दिलीप परिवारकै सहारा थिए। उनको हत्यापछि घरको खम्बै टुट्यो। छोराको हत्याले शोकमा डुबेका रामजीवन दमले थलिँदै गए। तर, दिदीबहिनीले हिम्मत गरे। तीन वर्षपछि बल्ल जिल्ला अदालत धनुषाले तीन जनालाई कैद सजाय सुनाएको छ। न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले क्रसर सञ्चालक विपिन महतो र कामदार टिपरचालक मुनिन्द्र महतोलाई दोषी ठहर गरेको छ। उनीहरूलाई २५-२५ वर्ष कैद र जनही ५-५ लाख रुपैयाँ पीडित परिवारलाई क्षतिपूर्ति भराउने फैसला गरेको हो।
घटनामा मतियार थिए, लोडर चालक जितेन्द्र महतो। उनलाई १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने फैसला भएको अदालतका शाखा अधिकृत हेटनारायण रम्तेलले बताए। क्षतिपूर्ति रकम प्रतिवादीहरूको जायजेथाबाट असुलउपर नभएमा पीडित राहत कोषबाट पीडित परिवारलाई क्षतिपूर्ति रकम भराउने निर्णय भएको हो।
प्रहरीले सात जनामाथि अनुसन्धान गरेको थियो। उनीहरूविरुद्ध दिलीपका बुवा रामजीवन महतोले मुद्दा दायर थिए। तर, धनुषा जिल्ला अदालतले तीन जनालाई मात्रै दोषी ठहर गरेको छ। क्रसर सञ्चालक विपिन, टिपर चालक मुनिन्द्र र लोडर चालक जितेन्द्रलाई दोषी ठहर गरेको छ। घटनाका योजनाकारहरू अझै बाहिर घुमिरहेकोमा उनीहरूको दुःखेसो छ।
जिल्ला अदालतको फैसलाप्रति दिदीबहिनीहरू पूर्ण रूपमा सन्तुष्ट देखिँदैनन्। उच्च अदालत जाने लक्ष्मी बताउँछिन्। सात जना मिलेमतो रहेको र अन्य चारजनालाई पनि कानुनी दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ।
दुर्घटना बनाउने प्रपञ्च
२५ पुस २०७६ को मिरमिरे बिहानी। घर नजिकैको औरही खोलामा दिलीपको शव थियो। धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका महतोको हत्याले गाउँ नै शोकाकुल थियो।
क्रसर डनहरूले योजनाबद्ध ढंगले हत्या गरेको आंशका थियो। किनकि उनी चुरे तथा पर्यावरण संरक्षणमा दिलोज्यान दिएर लागेका थिए। अवैध उत्खनन रोक्न जाँदा टिपरले किचाएर हत्या गरेको घटनास्थलबाटै पुष्टि हुन्थ्यो।
तर, हत्यालाई सडक दुर्घटनातर्फ मोड्ने प्रपञ्च रचियो। क्रसर सञ्चालकले जालझेल गर्न योजना बनाउन थाले। घटनालाई अन्यतिर मोड्न सञ्चालकले टिपरचालक, लोडर चालकसहित क्रसरका अन्य कर्मचारीहरूलाई प्रलोभन देखाएर प्रपञ्च रचेका थिए। हत्याको घटनालाई दुर्घटना बनाउन कामदारहरूलाई प्रतिव्यक्ति ५० हजार दिने प्रलोभनसमेत दिइयो।
दिलीप मारिएको अवैध क्रसर देखाउँदै उनका बहिनीहरू संगम महतो र लक्ष्मी महतो।
हत्याजस्तो जघन्य घटनामा प्रहरीले पनि ‘एसम्यान’को भूमिका निभाएको संगमको आरोप छ। ‘त्यसैका लागि त हो प्रहरीले मुचुल्कै नउठाई खोलाबाट दाइको लास उठाएर पोस्टमार्टम गर्न लग्यो,’ उनी भन्छिन् , ‘हामी दुर्घटना मान्न तयार भएनौं।’
मान्नु पनि कसरी ? लक्ष्मी, संगम र उनका बुवा रामजीवनले क्रसर परिसरदेखि खोलाको बगरसम्म रगत बगेको प्रत्यक्ष देखेका थिए। इलाका प्रहरी कार्यालय ढल्केवरका तत्कालीन इन्स्पेक्टर रामकुमार यादवले घटनाको मुचुल्का नगरी घटनास्थलबाट पोस्टमार्टम गर्न शव उठाएका थिए।
त्यसलगत्तै परिवारले विरोध जनाए। पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे। सञ्चारकर्मीहरूले पहरेदारी गरे। गाउँलेहरूले भरपूर साथ दिए। उनीहरूकै नेतृत्वमा पूर्वपश्चिम राजमार्गमा पाँच घण्टासम्म प्रदर्शन भयो। प्रहरीले आन्दोलन बिथोल्न अन्तिमसम्म बल प्रयोग गरे। आक्रोशपूर्ण भीडले भरिएका सडक युद्धमैदान बन्यो। विरोधपछि प्रहरीले घटनाको मुचुल्का बनायो। अनि बल्ल पोस्टमार्टम गर्न सहमति दिए, दिलीपका परिवारले।
प्रहरीको व्यवहारप्रति शोकाकुल परिवार सशंकित थियो। ‘सुरुमा हामीले ढल्केवरबाट आन्दोलन सुरु गर्यौं। त्यसपछि आन्दोलनलाई क्रमगत रूपमा महोत्तरीको बर्दिबास, सर्लाहीको लालबन्दी, पर्साको वीरगन्ज हुँदै जिल्ला जिल्लामा फैलायौं,’ संगम भन्छिन्, ‘आन्दोलनमा मिडिया र अभियानकर्ताहरूको अद्भुत साथ पायौं।’
संगमले स्नातक पढेकी छिन्। उनकी बहिनी लक्ष्मी स्नातक चौथो वर्षमा अध्ययनरत छिन्। पढाइकै कारण उनीहरूलाई न्यायको लडाइँमा आँट आएको छ। कहिल्यै काठमाडौं नदेखेका दिदीबहिनीलाई न्यायको लडाइँले सिंहदरबार पस्ने आँट दिलायो। तीन वर्षको अवधिमा उनीहरूले कयौं पटक काठमाडौंमा प्रदर्शन गरिसकेका छन्। आफ्नो माग र मुद्दाबारे गृहमन्त्रीसम्मलाई भेटिसकेका छन्।
‘हामी दर्जनौंपटक काठमाडौं धायौं। तर अझैसम्म न्याय पाएको अनुभूति भएको छैन,’ लक्ष्मी भन्छिन् , ‘प्रहरीले दोषी देखाएका सातै जनालाई जेल पुगेको देख्न चाहन्छौं। दाइले चुरे तथा पर्यावरण संरक्षणका लागि हाँसेरै आफ्नो जीवन समर्पण गर्नुभयो। त्यसैले सरकारले हाम्रो दाइलाई पर्यावरण सहिद घोषणा गर्नुपर्यो।’ माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनी बताउँछिन्।
२०–२२ वर्षको उमेर हुँदासम्म संगम र लक्ष्मीले अदालत देखेका थिएनन्। दिलीपको हत्यापछि कसरी अगाडि बढ्ने भनेर पनि उनीहरू अनभिज्ञ थिए। ‘सुरुसुरुमा त मलाई यो अदालतकोे बारेमा केही थाहा थिएन ,’ लक्ष्मी भन्छिन्, ‘हाम्रो परिवारमा अदालत धाउने अवस्था नै आएको थिएन। आफन्तहरूले सल्लाह दिएअनुसार नै अगाडि बढ्यौं।’
पीडित पक्षबाट एकजना मात्र बहसकर्ता थिए। घटनाको तथ्य मोडिने हो कि उनीहरूमा भय थियो। ‘हामीले एकजना वकिल राखेका थियौं। विपक्षीको तर्फबाट भने १४ वटा वकिल थिए,’ संगम भन्छिन्, ‘हामीले सोचेको जस्तो बहस भएन।’ त्यही समयमा मुद्दा मिलाउन भनेर विपक्षी तर्फबाट धेरैले प्रलोभन देखाएको संगम सुनाउँछिन्। ‘हामीलाई धेरै लोभ देखाइयो। तर, हामी न्यायको लागि अडिग रह्यौं। हामी आफ्नो बाटोबाट अलिकति पनि विचलित भएनौं’, उनले सुनाइन्।
ऋण लिँदै, मुद्दा लड्दै
मुद्दा लड्न आर्थिक अभाव झेल्नु परिरहेको लक्ष्मी सुनाउँछिन्। अदालत धाउन लाग्ने खर्चले थप पिरोलिएको उनको भनाइ छ। ‘अदालत जाँदा पनि धेरै पैसा लाग्ने। ऋण पनि टन्नै छ। दाजु पढेको पनि ऋण छ। त्यसमाथि बुवा बिरामी। हाम्रो पढाइलेखाइ। दिदीहरूको बिहे। अहिले त ४० लाख जति ऋण छ,’ लक्ष्मी भन्छिन्, ‘त्यो ऋणले सताइरहेको छ।’
दिलीपलाई इन्जिनियर बनाउन बुवा रामजीवनले ऋण लिएका थिए। अहिले बैंकले उनको जग्गा लिलामीमा राखेको छ।
पैसाको अभावमा अदालत धाउन नसकिने निष्कर्षमा पुगेका थिए। तर, अचानक कानुन व्यवसायी र वातावरण अभियन्ताहरूले आश्वासन दिए। ‘पहिला आन्दोलनको लागि काठमाडौं गएको बेला त्यहाँका केही वकिलहरूले हामी सहयोग गर्छौं भनेर भन्नुभयो। तर सुरुमा विश्वास लागेन,’ विगत सम्झँदै लक्ष्मी भन्छिन्, ‘त्यसपछि उहाँहरू काठमाडौंबाट आएर धनुषा जिल्ला अदालतमा बहस गर्न थाल्नु भयो। उहाँहरूको सहयोग सम्झनलायक छ।’
को थिए दिलीप ?
दिलीप पढेर मेकानिकल इन्जिनियर बन्न चाहन्थे। उनी भारतको भूपालमा इन्जिनियरिङको अन्तिम परीक्षा दिएर घर आएका थिए। घर आएको ११ दिनमै उनको हत्या भएको थियो। हत्या भएको केही महिनापछि उनको घरमा कलेजबाट फोन आएको थियो। त्यो खबरले पीडित परिवार झनै पिरोलियो। पिरोलिनुको कारण थियो, दिलीप प्रथम श्रेणीमा उत्तीर्ण भएको खबर।
एसएलसी पास गरेदेखि नै चुरेदोहन रोक्ने अभियानमा लागेका थिए। इन्जिनियरिङ अध्ययनका लागि चितवनदेखि भारतको भूपालसम्म पुगे। ‘छुट्टीमा आउँदा चुरेदोहन रोक्न जानुहुन्थ्यो’, लक्ष्मीले भनिन्, ‘गाउँका युवाहरूलाई पनि चुरेदोहनबाट उत्पन्न हुने समस्यालाई दर्शाएर उत्खनन रोक्न उत्प्रेरित गर्नुहुन्थ्यो।’ दिलीपको यो सक्रियता क्रसर डनलाई टाउको दुखाइको विषय भइरहेको थियो।
दिलीपकै बाटोमा दिदीबहिनी
संगम र लक्ष्मी दाजुकै अभियानलाई आत्मसात् गरेर अघि बढिरहेका छन्। दिलीपको सपनालाई पच्छ्याइरहेका छन्। चुरे र पर्यावरण जोगाउने सपना बोकेका दिलीपको अभियानमा इँटा थपिरहेका छन्। चुरे संरक्षणको मुद्दा स्थापित गराउन प्रतिष्ठान दर्ता गराएर अभियान सञ्चालन गरिरहेका छन्। ‘दाजु त अब हुनुहुन्न। उहाँको सपना र अभियानलाई जीवित राख्न हामी लडिरहन्छौं,’ लक्ष्मी भन्छिन्, ‘अवैध रूपमा हुने चुरे दोहनलाई रोक्ने अभियानमा दाइ लागिरहनु भएको थियो। उहाँको हत्यापछि न्यायको लागि र दाजुको सपना साकार पार्न हामीले आन्दोलनको बाटो रोज्नुपर्यो।’
अवैध क्रसरविरुद्धको आन्दोलन होस् या पर्यावरण जोगाउने अभियान। दिदीबहिनीहरू सहभागिता जनाइरहन्छन्। चुरे अभियानकर्ताहरूसँग मधेसका विभिन्न जिल्लामा दौडिन्छन्। खोला उत्खनन भइरहेको देख्नेबित्तिकै उनीहरू प्रहरी र सरोकारवाला निकायहरूमा फोन घुमाउँछन्। ‘प्रहरी प्रशासनकै मिलोमतोमा उत्खनन हुन्छ। अनि कसरीे रेस्पोन्स दिन्छन् ?,’ प्रतिप्रश्न गर्दै संगमले भनिन्।
लक्ष्मीका अनुसार, औरही खोलामा अहिले पनि अवैध उत्खनन भइरहेको छ। उनले थपिन, ‘निर्वाध रूपमा चुरेदोहन भइरहेको छ। अहिले खोलामा मान्छे पस्यो भने बाहिरकाले देख्दैनन्। अहिले पनि गिट्टी, बालुवाको लुट मच्चिरहेको छ। क्रसरवाला गुन्डाहरूले अहिले खोलामा डकैती गरिरहेका छन्। दोहन नियन्त्रण नभएसम्म दाइलाई न्याय हुन सक्दैन। खोलाको अवैध दोहनले बर्सेनि खेतीयोग्य जमिन कटान गरिरहेको छ नै, अब त खोला घरसम्मै पस्ने जोखिम छ। बाढीको बेला नदेखिने खाल्डोमा डुबेर ज्यान लिने खतरा छ। लक्ष्मी भन्छिन्, ‘अहिलेको अवस्थाले गाउँबस्ती नै कहाँ जान्छ भनेर अनुमान गर्न सक्ने स्थिति छैन।’
अहिले पनि रातरातभर क्रसर चल्ने गरेको उनी बताउँछिन्। ‘रातभरि क्रसर चल्छ, हामी सुत्न सक्दैनौं। क्रसर भनेको खोलाभन्दा पाँच सय मिटर टाढा रहनुपर्छ भनेर नियममा छ। तर ज्यान मार्ने त्यो क्रसर एक सय मिटरको दूरीमा पनि छैन।’
मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले चुरेजस्तो संवेदनशील विषयमा पनि राजनीति गरेको लक्ष्मीको आरोप छ। ‘अहिलेका मेयरले चुनावताका खोलाहरूको अवैध उत्खनन पूरै बन्द गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। अहिले यतिका उत्खनन हुँदा उहाँको आँखामा पट्टी बाँधेको छ,’ आक्रोश पोख्दै उनी प्रश्न गर्छिन्, ‘खोलामा मान्छे मार्ने गरी खाल्डो खनेको छ। हामीले प्रहरी प्रशासनलाई फोन गर्यो भने यो नगरपालिकाको जिम्मामा छ भन्छ। नगरपालिकाको नगरप्रमुखको के जिम्मा छ त ? नगरप्रमुखले बन्द गर्नुपथ्र्यो नि। किन बन्द नगरेको ?’
कहिल्यै काठमाडौं नदेखेका दिदीबहिनीलाई न्यायको लडाँईले सिंहदरवार पस्ने आँट दिलायो। तीन वर्षको अवधिमा उनीहरूले कयौं पटक काठमाडौंमा प्रदर्शन गरिसकेका छन्। आफ्नो माग र मुद्दाबारे गृहमन्त्रीसम्मलाई भेटिसकेका छन्।
अहिले पनि गिट्टी बालुवाको लुट मच्चिरहेको छ। क्रसरवाला गुन्डाहरूले अहिले खोलामा डकैती गरिरहेका छन्। दोहन नियन्त्रण नभएसम्म दाइलाई न्याय हुन सक्दैन।