प्रेम उत्सव हो यात्राको

प्रेम उत्सव हो यात्राको

प्रेमको न कुनै समय हुन्छ, न कुनै उमेर। यो त हाम्रो गाउँघरमा निस्किने मूलको पानी जस्तै हो। चोखो, अति पवित्र सधैँ निःसृत भइरहने। फोहर पार्ने काम पनि मनले नै गर्ने हो। ब्रह्माण्ड अटाउने त्यो मनमा जे पनि र जति पनि फोहोर मैला अटाउन सक्छ।

फेब्रुअरी १४, २०२३ तत्अनुसार फागुन २, २०७९। समयः बिहानको ७ बजे। हामी चिया पिउँदै थियौं। हातमा मोबाइल। यो कताकता एक किसिमको अम्बल नै बनेको हाम्रो पनि। असाध्यै तातो पिउनुपर्ने मेरो श्रीमान्लाई। ‘कफी टाइम’ मा कफी अर्डर गर्दा पनि उहाँले भन्ने पहिलो वाक्य– लाटे, नो फोम, एक्स्ट्रा हट। यसमा अभ्यस्त भएकी मैले सकेसम्म तातो चिया बोकेर ल्याएकी थिएँ। मोबाइलबाट आँखा नहट्दा चिया चिसो हुने क्रम सुरु भइसकेको थियो। अति भएपछि मैले भनें– होइन, के गरेको ? चिया चिसो हुन लाग्यो। यति भन्दै गर्दा मेरो आफ्नै आँखा पनि मोबाइलमै टाँसिएको थियो। तर चिया चाहिँ पिइरहेको थिएँ। बल्ल चियाको पहिलो चुस्की लिएर श्रीमानले भन्नुभयो– आज ‘भ्यालेन्टाइन डे’ रहेछ नि त ! मैले पनि गुलाफको फूल र मुटुको आकारका चित्रहरूले रंगिएका भरिभराउ फेसबुक पोस्टहरू देखिरहेकी थिए।

 ‘हो नि !’, भने मैले। न उहाँको जबाफ आयो त्यसमा, न मैले अरू कुरा थपे। म सोच जगत्मा पुगे यसबारेको। भ्यालेन्टाइन, एउटा व्यक्तिको नाम क्रिश्चियन धर्मसँग आबद्ध। जिजस अर्थात् येशु जसको नामबाट यो धर्म आयो, ऊभन्दा करिब तीन सय वर्षपछिका मानिन्छन् भ्यालेन्टाइन। इतिहास पारिका कुराहरू जति व्यक्त भएका छन् धर्म र संस्कृतिसँग लयबद्ध भएर समयको यो बिन्दुमा आई पुग्दासम्म, त्यसमा मिथकको मात्रा धेरै बढी हुन्छ होला। मिथकले रोमान्स दिन्छ। अर्थात्, मान्छेलाई रोमाञ्चित पार्दछ। यसका विभिन्न छाया या आयाम छन्। करिब ४० भन्दा बढी होलान्। यस्तै एउटा बलियो रोम्यान्टिसिजमको आयामले राजनीतिलाई चलायमान गर्दछ। खैर, राजनीतिबाट म टाढाकी मान्छे। रोम्यान्टिसिजमको एउटा प्रकारको सन्दर्भमा मात्र उल्लेख गरेकी हुँ। 

इतिहास वारिका कुराहरू निकै हदसम्म सत्य र मिथकको लुकामारी नै हो। या, यी दुईको सम्मिलन नै हो। कुन कति मात्रामा हुन्छ त्यो बदलिँदै जान्छ। भ्यालेन्टाइनको बारेमा जति धेरै कुरा प्रचारमा छ प्रेम प्रतीकको रूपमा त्योभन्दा धेरै नै कम, अझ नगण्य रूपमा, उनीबारेको आधिकारिक कुरा थाहा छ इतिहासलाई। उनीलाई सन्त भनिन्छ र यो पनि भनिन्छ कि प्रेमको हिफाजत गर्दा उनीलाई जेल हालियो र मृत्यु दण्ड दिइयो। यसरी उनी सहिद भए। उनको एउटै मात्र कसुर थियो। त्यो थियो– रोमन साम्राज्यले लखेटेको मानिसलाई उनले प्रणय सूत्रमा बाँधिदिएका थिए। भ्यालेन्टाइन नाम गरेको मान्छेको कथा इतिहास पारिको होइन। वारिकै हो। त्यसैले यसमा मिथकको मात्रा किन बढी भयो भन्ने प्रश्न अनुत्तरित नै बनेको छ।  मिथकीय दोसाँधका यस्ता कथा अरू पनि छन्। तर जुनसुकै दोसाँधका भए पनि प्रेम त शाश्वत हो नि ! के फरक प¥र्यो र ?

प्रजातन्त्र आइसकेपछि मुलुकलाई विश्व समुदायबाट अलग राख्ने राणाकालीन नीतिको अन्त्य भयो। त्यसपछि जन्मिएकी भए पनि हेक्का भएसम्म मलाई सन्त भ्यालेन्टाइनबारे जानकारी थिएन। सायद त्यति बेलाको अभावग्रस्त समाज, चेतनाको स्तर र ‘एक्सपोजर इफेक्ट’ पनि नआइसकेको कारणहरूले होला। विश्वविद्यालयमा पढ्दाको बेलामा समेत मलाई थाहा थिएन। साँच्चिकै भन्नुपर्दा विगत केही वर्षदेखि यसको चर्चा र प्रणय दिवस मनाउने चलन ह्वात्त बढेको छ हामी कहाँ। यसका धेरै कारणहरू छन्। एउटा प्रमुख कारण चाहिँ भनिहालौँ। प्रमुख कारण हो विश्व समुदाय अब जोडिइएको छ विश्व नै एउटा गाउँ बनेर जुन ४० वर्षअगाडि नै केनेडेली प्राध्यापक मार्सल म्याकुहनले देखिसकेका थिए। 

प्रेमको न कुनै समय हुन्छ, न कुनै उमेर। यो त हाम्रो गाउँघरमा निस्किने मूलको पानी जस्तै हो। चोखो, अति पवित्र सधैँ निःसृत भइरहने। प्रेम र स्नेह भनेको मनभित्र निसृत हुने हो। फोहर पार्ने काम पनि मनले नै गर्ने हो। ब्रह्माण्ड अटाउने त्यो मनमा जे पनि र जति पनि फोहोर मैला अटाउन सक्छ। असीम प्रेम अटाउन सक्छ भने त्योभन्दा बढी घृणा र छटपटी पनि। मनभित्र फोहोरको डुंगर बढ्दै जाने कारण चाहिँ बाहिरबाट नै हो। कानले के सुन्छ, आँखाले के देख्छ र चेतनाले के कस्तो आवेग र उत्तेजनाहरू मनभित्र भण्डारण गर्छन् त्यसैमा भर पर्दछ। जन्मदेखि नै सुरु हुने प्रक्रिया नै यही हो। मान्छेको यो यात्रामा प्रेम सधैँ सँगै हुन्छ।

केटा र केटी एक अर्कोप्रति आकर्षित हुने र कुतकुती लाग्ने उमेरमा पुगेपछिको आवेगलाई नै आम तौरमा प्रेमको रूपमा परिभाषित गर्ने गरिन्छ। अर्थात्, यौनको गन्तव्यमा यसलाई जोडेर हेरिने दृष्टिकोण। फ्राइडले त मान्छेको हरेक गतिविधि यौन प्रदत्त हो भनेर व्याख्या गरेका छन्। त्योसँग पूरा सहमति हुनुपर्ने म देख्दिनँ। यो धेरै हदसम्म सही भए पनि अतिशयोक्ति हो। प्रेम त्यसरी परिभाषित हुँदैन। लोग्नेस्वास्नी भएर जिन्दगी बिताएका मानिसले प्रेमको अनुभूति नै नगरेको हुन सक्छन्। यो कुरा रजनीशले ठोकेर भनेका छन्। लोग्नेस्वास्नीले यौन सुख प्राप्त गर्नु नै प्रेमको अनुभूति होइन। जबसम्म भित्री हृदयको द्वार एकआपसको खुलेको छैन तबसम्म जिन्दगीसँगै बिताउँदैमा प्रेमको अनुभूति गरेको हुन्छ भन्ने हुँदैन। प्रेमको लागि भित्री द्वार खुल्नु पर्दछ। 

कसरी खुल्छ भित्री हृदयको द्वार ? सोझो उत्तर हो जब मान्छे आध्यात्मिक हुन्छ। आध्यात्मिक हुनु भनेको धार्मिक हुनु भनेको होइन। स्वार्थरहित हुँदै जानु भनेको हो। लोग्नेस्वास्नी होस् या दाजुभाइ या दिदीबहिनीबीचको प्रेम सबै यही नै हो। तिनीहरूले एकअर्कोलाई अपार माया गरेको कुरा गरे पनि स्वार्थको गुरुत्वाकर्षणले गाँजिएसम्म प्रेम माथि उठ्न सक्तैन। झन् एक अर्कोलाई प्रेम गरेको कर्मकाण्डमा अल्झिरहँदा वाचाल मात्र तुल्याउँछ उनीहरूलाई।

आध्यात्मिक यात्राको थालनी नभइकन प्रेम हुन सक्तैन। अध्यात्मलाई जसरी धर्मसँग जोडिदिन्छन् त्योसँग म सहमत छैन। यसको आवश्यकता मान्छेलाई पर्दछ किनकि एउटा मान्छेले अर्को मान्छेलाई कजाउन चाहन्छ। त्यसैले यो राज्य शक्ति र राज्य सञ्चालनसँग जोडिएको छ। प्रस्ट र छोटो शब्दमा आध्यात्मिक हुनु भनेको स्वार्थ कम गर्दै लग्ने यात्रामा हिँड्नु हो। मैले धेरै अगाडि सुनेको एउटा भजनको बोल– मीरा के प्रभु गिरीधर नागर। पछि थाहा पाए १६औं शताब्दीको कवयित्री मीराको भगवान् कृष्णप्रतिको निस्वार्थ प्रेम भनेर। यो प्रेम, मलाई लाग्छ, स्वार्थरहित प्रेमको यात्राको उन्नयन या अन्तिम मुकाम हो।

लामो समय प्राणीशास्त्र पढाएको हुँदा म त्यताबाट यसलाई अझ प्रस्ट पार्ने प्रयास गर्न चाहन्छु। मान्छे पनि जनावर नै हो तर अरू जनावरभन्दा फरक। त्यो फरक भनेको मान्छेमा सोच्ने शक्ति छ। त्यसैले ऊ धेरै भोलिको कुरा गर्दछ। राजनीतिको कुरा होस् या समाजको या घर परिवारको। यस क्रममा उसको स्वार्थको तह बढ्दै गएको हुन्छ। त्यही अनुपातमा ऊ आध्यात्मिक हुन छोड्छ। जनावरको भोलि हुँदैन। जे गर्ने हो उसले आजैको मात्र गर्दछ। जे हामीले एसएलसीमा पढेका थियौं रसियन साहित्यकार लियो टल्सट्वायको ‘थ्री क्योस्चन्स्’ भन्ने कथा त्यसले दिएको सन्देश भनेको वर्तमान समय सबैभन्दा महŒवपूर्ण समय हो।

 जनावर भोलिको लागि बाँच्दैन। आजको लागि मात्र हो। परेवाको कथा हेरौं न। परेवा शान्तिको मात्र होइन प्रेमको पनि प्रतीक हो। उनीहरूले वंश वृद्धि गर्दछन् यौनको आनन्द भोगेर। मान्छेको भन्दा कुनै कम छैन उनीहरूको बच्चा हुर्काउने कथा। न भोलि जान्दछन् उनीहरू, न हिजो को बच्चा थियो उनीहरूको भन्ने। भोलिको लागि बाँच्ने हिसाबकिताब गर्ने मान्छे मात्र हो। किनकि ऊ सोच्छ र वाचाल पनि छ। यस क्रममा उसको आज भने सक्किँदै गइरहेको हुन्छ। उसको भोलि हुन्छ हुँदैन त्यो अर्को कथा हो। सोच्न सक्नु ठूलो तागत हो मान्छेको। तर यस क्रममा आफ्नो स्वार्थको रखबारी गर्दै जाँदा प्रत्येक दिन वाचाल बन्दै गइरहेको हुन्छ। ऊ मान्छेबाट यन्त्र बन्छ। र, आफैं स्वार्थको एउटा पोको बनिसकेको हुन्छ। ऊ आफूबाहेक अरू केही सोच्न सक्तैन। आफूबाहेक अरूलाई केही दिन सक्तैन। तर गफ प्रेमको मात्र गर्दछ। राष्ट्र प्रेम, मातृ प्रेम, पितृ प्रेम, प्रेममय प्रेम। लाग्छ ऊ अर्को सन्त भ्यालेन्टाइन बनिसकेको छ।

सोचको दुनियाँमा यसरी भौँतारिरहेका बेला म अकमक्क भए। र, जबर्जस्ती अवतरण गरे त्यो चिया पिइरहेको क्षणमा जब मेरो श्रीमान्ले भन्नुभयो– हिजोको दिन साह्रै रमाइलोसँग बित्यो। मैले बोल्नुअगाडि नै मेरो समर्थनको लागि प्रश्न गर्नुभयो– होइन ? श्रीमान्ले भनेको भनेर होइन कि म पनि साह्रै रमाएको कारणले स्फूर्त मुखबाट जबाफ निस्कियो– कुरै छैन। साह्रै रमाइलो भयो। हिजो माता दक्षिणकालीको दर्शन गरेर, अनि नेपालका दुवै पहिलो बनेका स्थलको अवलोकन गरेर फर्कंदा साह्रै नै रमाइलो भएको थियो। फेरि कुरा ग¥र्यौं हामीले हिजोको भ्रमणको। कुरा गर्दा प्रणय दिवस परेर होइन हाम्रो कुराकानी प्रेमिल नै हुन्छ।

हेर उषा, मेरो अगाडि दुइटा दृश्य झ्वाम्म एकै पटक आएको छ। फरक अन्तरालको। पहिलो हो बजेको पालको। पुरानो लहरीमा टममै सुकुल हालेको। बूढाबूढीदेखि  तन्नेरी र बच्चाबच्ची कोचाकोच गरेर बसेका। नअटाएका बच्चाबच्ची आमाको काखमा। बलि दिन लगिएका बोकाहरू साथमा। गफगाफ, हँसीठट्टा, बच्चाबच्चीको प्याँ प्याँसँग बोकाहरूको म्याँ म्याँ। संगीतजस्तै मीठो माहोल संयोजित भएको हुन्थ्यो। हरेक वर्ष यस्तै हुन्थ्यो माता दक्षिणकाली दर्शन गर्न जाँदा। कताकता नजानिँदो धार्मिक पर्यटन थियो मेरो लागि। 

दोस्रो थियो बाबुको पालामा। म अलि ठूलो तर अझै सानो नै थिए। बुवाले हालेको १६५५ नम्बरको कालो बिटल्स भक्सवागेनमा जाँदा अर्कै रमाइलो। दक्षिणकाली हाम्रो इष्टदेवी। त्यसैले हरेक वर्ष जानु पथ्र्याे। भाकल वा विवाह भागको पूजा गर्न जाँदा त दुईतीन पटक। पछि आफैंले हाँकेर जान थाले। धेरै पटक सुनेको कहिले नगएको दुई ठाउँ सधैं रहे बाटोमा पर्ने। पहिलो, फर्पिङ स्कुल, नेपालको पहिलो आवासीय विद्यालय। दोस्रो, फर्पिङ जलविद्युत्, नेपालको पहिलो जलविद्युत् परियोजना। 

कोभिडपछि पहिलो पटक दक्षिणकाली माताको दर्शन पछि हामी दुवै ठाउँमा गयौं। अचम्म परे म त्यतिबेला जब स्कुल बनेको भवनको त्यो कोठा देखेँ जहाँ पृथ्वी नारायण शाहको कान्छो छोरा नायब बनेका बहादुर शाहलाई बन्दी बनाएर राखिएको थियो। किन बन्दी बनाइए ? बहादुर शाह थुनिनु परेको कारण उनको सक्षमता थियो। त्यत्तिकै सक्षम थिइन् उनको भाउजू पनि। अर्थात्, प्रतापसिंह शाहको रानी राजेन्द्र राज्यलक्ष्मी देवी। दुवै नेपाल फैलाउन चाहन्थे तर रणनीतिक दृष्टिकोण फरक थियो। त्यसैले मिल्न सकेनन्। दुवैले नाबालक राजा रणबहादुर शाहको नायबी बनेर राज्य चलाए। तर एकले अर्कोलाई थुनेर या लखेटेर। 

अनि हामी गयांै फर्पिङ जलविद्युत् हेर्न। बाटो ज्यादै नै खराब रहेछ। धुन्मुनिएर गाडी नै पल्टेला जस्तो एक लेनको मुस्किलसँग। बल्लतल्ल पुग्यौं। चन्द्र शमशेरको शासनकालमा सन् १९११ मा फर्पिङस्थित नेपालको यो पहिलो जलविद्युत्को उद्घाटन राजा पृथ्वीवीर विक्रम शाहले गरेका थिए। चन्द्रकै नाममा नामकरण गरिएको थियो– चन्द्रज्योति जलविद्युत्गृह भनेर। डिजाइन गरेका थिए किशोरनर्सिङ र कुमारनर्सिङ राणाले। यी दुई दाजुभाइ इन्जिनियरिङ कलेजबाटै दीक्षित नेपालको पहिलो दुई इन्जिनियर थिए। र, चन्द्रशमशेरको आफ्नै काकाको छोराहरू थिए। तर पनि राणाशासनको शक्तिबाहिरका। किन यस्तो ? यसको कथा लामो छ र यो कथा भारतको  अलाहबादको किल्लाभित्रको जेलसम्म पुग्छ। 

पछि पनि म कल्पना गर्न थाले कसरी टर्वाइन घुमाउन पानी लगिएका ती अजंगका पेनस्टक पाइप र मेसिनहरू बोकाएर ल्याइएको थियो होला भीमफेदीदेखि त्यहाँ फर्पिङको खोंचसम्म। फर्पिङ भने पनि ललितपुरको पश्चिमी किनारा रहेछ। अचम्मदायी  विगतको कल्पना कतै नपुग्ने गोरेटोमा म कुदिरहेको थिए भने गाडी घर पुगिने मूल बाटोमा दौडिरहेको थियो। 

मेरो श्रीमान्को गहिरो चुपचापबाट मैले बुझे उहाँ मनको यात्रामा कतै अन्तै पुगिरहनु भएको छ। म भने सोचिरहेकी थिए हाम्रो यात्रा कति प्रेमिल छ भनेर – ‘कफी टाइम’ होस् या ‘टी टाइम’। हामीलाई प्रेमिल यात्राको लागि न ‘भ्यालेन्टाइन डे’ पर्खनु पर्दछ, न यो दिनले सम्झाउनै पर्दछ।​​​​​​​


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.