पौराणिक कथावाचन आधुनिक नारी स्वर

पौराणिक कथावाचन आधुनिक नारी स्वर

कृति : यशोधरा

लेखक : हरिबोल काफ्ले
प्रकाशक : लिपि बुक्स

२८६ पृष्ठको यशोधरा आख्यान पढ्ने हुट्हुटी दुई कारणले जगाएको थियो। पहिलो कारण, सिद्धार्थ गौतम र यशोधरा भइहाले। सिद्धार्थ गौतमलाई बुद्ध बनाउने नारी कस्ती होलिन् भन्ने कौतुहल सायद धेरैलाई हुन्छ नै। दोस्रो कारण, नयाँ लेखकको उत्कृष्ट आख्यान भन्ने प्रकाशकको दाबी। 

यी दुवै कारणलाई हरिबोल काफ्लेले लेख्नु भएको आख्यान यशोधराले जीवित राख्न सफल भयो कि भएन ? त्यो जिम्मा पाठकहरूलाई नै छोड्नु उपयुक्त हुन्छ। यो यशोधरा आख्यानको समीक्षा हैन। कथावाचक यशोधरा सँगसँगै यात्रा गर्न सफल एक पाठकको पाठकीय टिप्पणी मात्रै हो। 

कुनै पनि पुस्तक पढ्नलाई त्यो पुस्तकले उठाएको विषयवस्तु के हो भन्ने कुराले पनि आकर्षित भइँदो रहेछ। विषयवस्तुले नै हो पुस्तक किन्नलाई पुस्तक पसलसम्म डोहो र्‍याउने पनि। किनेर मात्रै पुस्तक पढिने हैन फेरि। पुस्तक पढ्नलाई हातमा लिएपछि प्रत्येक पाना पल्टाउँ पल्टाउँ लाग्ने चाहिँ भाषा र प्रस्तुति नै हो। 

यशोधरा आख्यान भाषाको पकडमा दह्रो उभिएको छ। छोटाछोटा वाक्य र पौराणिक, ऐतिहासिक शब्द चयनले रोचक बनाइदिएको छ। पढौँ, पढौँ लाग्छ। एक पाना पल्टाएपछि बुकमार्क लगाएर अरुतिर ध्यान नदिई पढ्नलाई भाषाले नै सहयोग गरेको हो। भाषा सहज नहुँदो हो भने यात्रामा, भीडभाडमा उभिएर पढ्न सम्भव हुने थिएन। मतलव यो पुस्तक हातमा लिएपछि पढ्नलाई कुनै विशेष समय छुट्याइराख्नु पर्दैन, जसले पनि जुनसुकै समयमा पढ्न सक्छन्।

सत्र अध्यायमा कुँदिएको यो आख्यानमा सुरुका केही अध्याए कोलीय राज्य, मल्लराज्य, कोशल राज्य, वैशाली, कपिलवस्तु, रोहिणी नदीलगायतका क्षेत्रको राजनीति, तिनीहरूको सम्बन्धको परिचय दिन खर्चिएको छ। कथावाचक यशोधरा आफैँ भएकी हुनाले उनको दृष्टिकोणबाट त्यो पौराणिक कालखण्डको विचरणमा आनन्दभोग हुन्छ। 

त्यसपछिका अध्याय भने यशोधरा सिद्धार्थको प्रेम, विवाह, यशोधराको सिद्धार्थ भोग गर्ने इच्छा, सिद्धार्थको वैराग्य, कपिलवस्तुको युद्ध, राज्यमा सिद्धार्थको आवश्यकता, सिद्धार्थको समाजका वास्तविक चरित्रहरूसँगको भेट, सिद्धार्थको गृहस्थी त्याग, गृहस्थी त्यागपछि यशोधराको छटपटी र एक्लोपन, सपनामार्फत सिद्धार्थको यात्रा वर्णन, यशोधराको राजकाज त्याग, तपस्यापश्चात् सिद्धार्थ बुद्ध भई सन्देश फैलाउन सुरु, बुद्ध संघको स्थापना, धेरै मानिसहरू बुद्धका भन्ते बनेका, बुद्ध माता, राहुल, यशोधराको पनि बुद्ध संघमा आबद्धता र समाजप्रति यशोधराको असन्तुष्टिसँग आख्यानको समापन हुन्छ।  

यशोधराको सुन्दरता, उनको प्रेमिल मन, यशोधराका साथीसंगातीहरू, बाल्यअवस्थादेखिनै उनको कपिलवस्तु आउजाउ, सिद्धार्थसँगको प्रेम प्रसंग, दरबारको जोखिमबाट बचेर बेलाबेलामा सिद्धार्थसँगको भेट अनि भेटसँगैका प्रेमिल पलले यो आख्यानलाई रोचक बनाइदिएको छ। आधुनिक प्रेमकथा पढिरहेका पाठकले खोज्ने नै यही प्रेम हो जस्तो लाग्छ। यशोधरा सिद्धार्थलाई औधी नै प्रेम गर्छिन्। आफ्नो सिद्धार्थसँगको प्रेमलाई महाभारतकालीन राधाकृष्णको प्रेमसँग तुलना गर्छिन्। भनौं न, सिद्धार्थ प्राप्तिलाई उनले आफ्नो लक्ष्य बनाएकी छिन्। 

जीवनमा वैराग्य अँगालेका, राजकाजको योग नभएका सिद्धार्थसँग आफ्नी पुत्री यशोधराको प्रेम पिताजीले रुचाउँदैनन्। यशोधरा जसरी पनि सिद्धार्थसँग विवाह गर्न चाहन्छिन्।

बालककालदेखिनै सिद्धार्थको वैराग्यसँग सबै परिचित छन्। सिद्धार्थका पिताजी शुद्धोधन पनि पुत्रमा छाएको वैराग्य दूर गर्न र राजकाजमा पुत्रलाई आकर्षित गर्न अनेक उपाय लगाउँछन्। सुन्दर युवतीहरूको भीड नै लगाउँछन्। कोही युवती अर्धनग्न भई सिद्धार्थलाई आफूतिर आकर्षित गराउन कोसिस गर्छन्। प्रेम र यौनमा सिद्धार्थको रुचि शून्य छ। 

सद्धार्थ सुन्दर युवतीहरूप्रति आकर्षित नहुँदा यशोधराका पिताजी सिद्धार्थप्रति झन् असन्तुष्ट हुन्छन्। कारण, यशोधरा सिद्धार्थ पे्रम नै हो। यशोधराको विवाहको प्रसंग पनि रोचक छ। मल्ल युद्धमा विजयी हुने पुरुषलाई आफ्नी पुत्रीको विवाह गर्ने घोषणा गर्दछन्। पिताजीको निर्णयमा बाधाव्यवधान खडा गर्ने आँट यशोधरामा छैन । 

एकतिर सिद्धार्थसँगको प्रेम, अर्कातिर पिताजीको घोषणा, यशोधरा चिन्तित भइन्। सिद्धार्थ युद्ध रुचाउने वीर पुरुष हैनन् सबैलाई थाहा भएकै कारण मल्ल युद्धको आयोजना गरिएको थियो। सिद्धार्थ युद्ध विरोधी थिए। सिद्धार्थको अगाडि यशोधरासँग विवाह गर्न आर्यवर्तका सारा वीर पुरुषहरूको चर्चा हुन थाल्यो। तर मल्ल युद्धमा सिद्धार्थ नै विजयी भए।

विवाह सिद्धार्थसँग नै भएपछि यशोधराको इच्छा पूर्ण हुन्छ। विवाहलगत्तै यशोधरामा यौनइच्छा औधी छ। सिद्धार्थ त्यसबाट टाढा भाग्दै जान्छन्। सिद्धार्थ जति टाढा भाग्छन् उति नै यशोधराको छट्पटी बढेको अनुभूति गर्न सकिन्छ। राज्यमा लडाइँ हुँदा सिद्धार्थ बेपत्ता हुन्छन्। बरु घाइते सैनिकको उपचारमा देखिन्छन्। 

विभिन्न कारणले सिद्धार्थमा वैराग्य चुलिन्छ। राहुलको जन्म हुन्छ। पिता, पुत्रको प्रेम पनि देखिन्छ। पत्नी, पुत्र, राजकाज केही कुराले पनि सिद्धार्थको वैराग्य कम हुँदैन। उनको इच्छा ज्ञान प्राप्तिमा देखिन्छ। दरबार छोडी जाने हो भने, म निदाएको बेला पारेर राति नै जानु भनेर सिद्धार्थलाई अनुमति दिन्छिन्। अनुमति मात्रै नदिएर यशोधराले सिद्धार्थका सारथिलाई बोलाएर रथबाट उनले इच्छाएको ठाउँमा छोडिआउने आदेश दिन्छिन्। भनौ न, सिद्धार्थको ज्ञान प्राप्तिको बाटो यशोधराले नै खोलिदिन्छिन्। 

सिद्धार्थले दरबार छोडेपछि शुद्धोधनले पुत्र खोजी कार्य बढाउँछन्। तर यशोधराले खोज्न दिन्नन्। अनेक तरहले सम्झाउँछिन्। यशोधराले सपनामार्फत सिद्धार्थको यात्रा वर्णन गरिरहन्छिन्। समाजले यशोधरालाई हेर्ने दृष्टिकोण पनि छर्लंग भइदिन्छ। यशोधराले पनि राजकाज त्यागेर सन्तको जीवनशैली अपनाउँछिन्। 

सिद्धार्थकै पथ रोज्छिन्।

कठोर तपस्याको अवधि सकिएपछि सिद्धार्थले आफूलाई नै बुद्ध घोषणा गरेर बुद्धबारे ज्ञान बाँड्न थाल्छन्। पतिसामु आफू नगएर यशोधराले पुत्र राहुललाई पठाउँछिन्। बुद्धत्व प्राप्त गरेर आइसकेपछि बुद्ध र अरू केही चर्चित प्रसंगमा कथा अघि बढ्छ। 

पौराणिक राज्यहरूको प्रसंग यो आख्यानको सबल पक्ष हो। माथि उल्लेखित दुईवटै कारणमा यो आख्यान उच्च अंकका साथ उत्तीर्ण छ। नयाँ लेखकले यति शक्तिशाली आख्यान कुद्न सक्नु चानचुने क्षमता हैन। अरू के के लेख्नु भएको रहेछ भनेर पटकपटक अन्तिम पाना पल्टाएर हेरेँ।
पहिलो कारणमा भाषा अवरोध रहेन भने यशोधरा संसारभरका धेरै मानिसले पढ्ने छन्, जसले बुद्धबारे सुने, पढे तिनीहरूले पढ्ने छन्। जसलाई बुद्ध धर्मप्रति चासो रहन्छ। तिनीहरूले पढ्ने छन्। यशोधरा कस्ती होलिन् भन्नेहरूका लागि पनि यो पुस्तक महŒवपूर्ण हुन जान्छ।

जहाँ जहाँ सिद्धार्थ वा बुद्धको उपस्थिति नभएर यशोधराको मात्रै उपस्थिति छ त्यो भाग अत्यन्तै उत्कृष्ट लाग्छ। सिद्धार्थ वा बुद्धको प्रसंग आएपछि भने सामान्य हुने भइगयो। किनभने बुद्धको बारेमा शदीयौँदेखि बालक बृद्ध सबैले सुन्दै पढ्दै आएका छन्। आख्यानको नामैले पनि धेरैले यशोधरा नै पढ्न चाहन्छन्। धेरै प्रसंगमा सिद्धार्थको मात्रै चर्चा गरिएको यो आख्यानमा सिद्धार्थको जीवनी ज्यादा छ। लाग्छ, सिद्धार्थको कथा भन्न यशोधरालाई कथावाचकको रूपमा उभ्याएका हुन्। कथावाचकको रूपमा आउने यशोधराको छट्पटी, इच्छा, आकांक्षा, त्याग अत्यन्त कम प्रतीत हुन्छ। 

पौराणिक कथालाई आधुनिक नारी स्वरको लेपन लगाउन सक्नु यो आख्यानको अत्यन्तै उत्कृष्ट पाटो हो। यही अन्त्यको अनुमान गर्दै पाठक लेखक र यशोधरासँगै यात्रा गर्न सफल हुन्छन्। जहाँजहाँ यशोधराले आफ्नै कथावाचन गरेकी छिन् सुरुदेखि नै पढ्दा लाग्छ यो पौराणिक कथा नभएर अहिलेको समाजको कथा हो। ‘स्त्रीको योगदानलाई संसारले कदर गरेको छैन।’ लेखकले अन्तिम पानामा भन्न खोजेको कुरा नभने पनि सुरुदेखि नै छर्लंग छ। 

‘म आफैँ ज्ञानसिद्ध नारी पात्र थिएँ’ यशोधरा भन्छिन्। यसो भन्न सक्ने नारीले सिद्धार्थको गाथा बुन्नु, बुद्ध धर्मबारे जानकारी, श्रावस्ती, कृषा गौतमी प्रसंगको सट्टामा आफ्नै घटनाहरू सिर्जना गरिदिएको भए हुन्थ्यो। यशोधरालाई ज्ञानसिद्ध नारी कम सुन्दर र यौनिक नारीका रूपमा ज्यादा महŒव दिइएको छ। हरेक पाठकलाई लाग्ने कुरा लेखकले गरिदिन सम्भव छैन पनि। 

कतिपय ठाउँमा यशोधराको कथावाचनमा लेखक हावी भएको भान पर्दछ। जस्तो कि, राधाकृष्णको प्रेम प्रसंगसँग, सीता, द्रौपदीसँग आफ्नो तुलना। राजा जनक, भात, जुवाजस्ता शब्द चयन आदि। हरदम सुसारेहरूसँग रहने राजकुमारीको जीवनशैली कतैकतै सामान्य मानिसको जस्तो लाग्छ। आफैंले सिद्धार्थलाई रातको प्रहरमै जान भनेकी हुन्। फेरि संगीहरूसँग सिद्धार्थले किन छोडिगए भनि रुन्चे बानी देखाउनु त्यति सहज लाग्दैन। रोगी, वृद्ध, मृत मानिस देखेपछि सिद्धार्थले गृहस्थी त्यागेको प्रसंग सबैलाई ज्ञात नै छ। यो आख्यानमा त्यसपछि पनि सिद्धार्थ घाइते सैनिकको उपचारमा लाग्छन्। त्यहीबेला शान्तिका दूत उपमा दिएको असामान्य लाग्छ। शुद्धाशुद्धिमा असाध्यै धेरै त्रुटि भेटिन्छ। 

पौराणिक पात्र, विषयमा बुनिएको गहकिलो यो आख्यानले भाषा अवरोध नरहेमा लेखकलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने पक्का छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.