गोसाइँकुण्ड गाथा
परापूर्वकालमा देवता र दानवबीच अमृत पान गर्ने इच्छा जाग्यो। त्यसका लागि देवता र दानवहरू मिलेर समुद्र मन्थन गरे। सबैभन्दा पहिला कालकुट विष निस्कियो। कालकुट विषले संसार नै ध्वस्त पार्न लाग्यो।
कालकुट विषले अत्याएपछि देव र दानवहरू भगवान् शिवको शरणमा परे। सम्पूर्ण देव र दानवहरूको अनुरोधलाई मनन् गर्दै भगवान् शिवले कालकुट विष पिए । लोकको कल्याण गरे। विषको असरले भगवान् शिवको कण्ठ नीलो हुन गयो। त्यसै बेलादेखि शिवलाई ‘नीलकण्ठ’पनि भन्न थालियो।
विषले पीडा दिन थाल्यो। पीडा कम गर्न भगवान् शिव हिमालयतिर लागे। त्यसरी जाँदै गर्दा हालको गोसाइँकुण्ड रहेको ठाउँमा पुगेर उनले त्रिशूल बजारे। त्यहाँबाट पानी निस्कियो। पानी पिएपछि पीडा कम भयो। उक्त त्रिशूल बजारेको ठाउँ अहिले त्रिशूल धाराको नामले परिचित छ। त्यहाँ जम्मा भएर बनेको कुण्ड गोसाइँकुण्डको नामले चर्चित छ। त्यही स्थान नै त्रिशूली नदीको उद्गमस्थल मानिन्छ। धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रख्यात छ। रसुवा जिल्लामा ४,३८० मिटरको उचाइमा छ, गोसाइँकुण्ड। यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन्। जसमध्ये गणेश कुण्ड, भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड आदि रहेका छन्।
फागुन ५ गते शुक्रबारको काम सकियो। दिउँसो साथीहरूसहित गोसाइँकुण्डतर्फ निस्कियौं। बेलुका ७ बजेतिर धुन्चेबजार पुगेर धुङ्देन कोदाब रिसोर्टमा बास बस्यौं। भोलिपल्ट बिहान ८ बजेतिर गोसाइँकुण्डको यात्रामा निस्कियौं। लौरीबिनासम्म पुग्ने लक्ष्य भए पनि हिँड्ने बानी हराएछ। चोलाङपाटीमा बास बस्न बाध्य भयांै। चोलाङपाटीबाट बिहान ८ बजे निस्कियौं। स्थानीयले हामीलाई तीन घण्टामा गोसाइँकुण्ड पुग्न सकिने अनुमान गरेका थिए। तर लौरीबिनाको उकालो काट्न नै निक्कै सकस प र्यो। करिब ५ घण्टाको हिँडाइपछि थकित मुद्रामा गोसाइँकुण्ड पुग्यौं। गोसाइँकुण्डकोे चिसोपानीमा स्नान गर्दा थकाइ हरायो। त्रिशूलधाराबाट जल लिएर एकछिन गोसाइँकुण्ड घुम्यौं। त्यसपछि पछि हामी लौरीबिना फर्कियौं। र, त्यसको भोलिपल्ट धुन्चे हुँदै काठमाडौं आयौं।