एमालेले गर्यो केन्द्रीय सदस्यबाट दुर्गा प्रसाईंलाई बर्खास्त
काठमाडौं : नेकपा (एमाले) ले केन्द्रीय सदस्यबाट दुर्गा प्रसाईंलाई कारबाही गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालयको बैठकले पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न रहेकाले प्रसाईंलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्बा गुरुङले जानकारी दिए।
प्रसाईंले केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारलाई निमन्त्रणा गरेर कार्यक्रम सुरुवात गरेका थिए। प्रसाईले देशमा हिन्दू राष्ट्र र राजतन्त्र फर्काउने पनि वकालत गरेका छन्।
आजको बैठकले पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागको सचिवमा दीपकप्रकाश भट्टलाई मनोनयन गरेको छ।
सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार
बैठकले राष्ट्रपतिको निर्वाचनमा पार्टीको तर्फबाट उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सत्ता साझेदार दलहरूबीच वर्तमान सरकार गठनको समयमा गत २०७९ पुस १० गते भएको सहमति बमोजिम पार्टीले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको गुरुङले बताए। बैठकले पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबै राजनीतिक दलसँग सहयोगका लागि आह्वान गर्दै समर्थनका लागि पहल गर्ने निर्णय गरेको छ।