देव र अर्जुनको सतकमा कुवेतलाई नेपालले दियो ३४४ रनको विशाल लक्ष्य
काठमाडौं: कप्तान देव खनाल र ओपनर अर्जुन कुमालको सतक प्रेरित यूएईमा जारि आईसीसी यू–१९ विश्वकप एसिया रिजन छनोटमा नेपालले कुवेतलाई ३४४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको योगफल तयार पारेको छ । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १२५ रनको अविजित इनिङ खेले । उनले १ सय १७ बलमा ९ चौका र तीन छक्का प्रहार गरे ।
ओपनर अर्जुन कुमालले १ सय १२ बल खेल्दै १ सय ८ रन योगदान गर्दा अर्का ओपनर दिपक बोहरा २७ बलमा २ चौकासहित १३ रन बनाएर आउट भए । विशाल विक्रम केसी २३ रन र दिपक बोहरा १९ रनमा पभेलियन फर्कँदा दिपक प्रशाद डुम्रे २० रनमा अविजित हरे ।
कुवेतका आर्स साहिल काज्मी र हेनरी थोमसले दुई–दुई विकेट लिँदा हाइबेर अली र जय महेशकुमार मेहेताले समान एक विकेट लिए ।
विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो ।