देखिन थाल्यो बदलिएको सत्ता समीकरणको असर
प्रधानमन्त्रीको निर्देशनमा परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रद्द
बदलिएको सत्ता समीकरणको असर देखिन थालेको छ। प्रधानमन्त्री प्रचण्डको निर्देशनमा परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रद्द भएको छ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्देशनमा परराष्ट्रमन्त्री बिमला राई पौडेलको जेनेभा भ्रमण रद्द भएको छ।
परराष्ट्रमन्त्री पौडेल मानवअधिकार काउन्सिलको कार्यक्रममा भाग लिन आज बेलुका जेनेभा जाने तयारी थियो। पौडेल नेकपा एमालेको तर्फबाट परराष्ट्रमन्त्री बनेकी थिइन्। राष्ट्रपति निर्वाचनका लागि बदलिएको सत्ता समीकरणका कारण प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोक्न निर्देशन दिएको हुनसक्ने स्रोतले बताएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको निर्देशनसँगै परराष्ट्रमन्त्री पौडेलले जेनेभा भ्रमण रद्द गरेकी छन्।
परराष्ट्र मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफ्नो भ्रमणबारे जानकारी गराएकी थिइन्। पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफ्नो जेनेभा भ्रमण रोक्न कसैबाट निर्देशन नआएको बताएकी थिइन्।
राष्ट्रपतिको निर्वाचनलाई लिएर एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेपनि एमाले सरकारबाट बाहिरिएको छैन। राप्रपाले भने शनिबार नै सरकार छाडिसकेको छ।
माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरिने अपेक्षा गरिएको थियो। तर शनिबारको एमाले सचिवालय बैठकले पुस १० को समझदारी कायम रहेको भन्दै सरकारबाट बाहिरिने कुनै योजना नरहेको निष्कर्ष निकालेको थियो।