राष्ट्रपति रनिङ शिल्डको उपाधि मुसिकोटलाई
गुल्मी : गुल्मीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मुसिकोट नगरपालिकाले प्राप्त गरेको छ।
गत बिहीबारदेखि सदरमुकाम तम्घासमा सञ्चालित प्रतियोगितामा सबैभन्दा बढी २२ स्वर्ण, १६ रजत र १२ कास्य पदकसहित मुसिकोटले उपाधि हाता पारेको हो।
त्यसैगरी इस्मा गाउँपालिकाले नौ स्वर्ण, चार रजत र तीन कास्य पदक प्राप्त गरेको छ भने मदाने गाउँपालिकाले तीन स्वर्ण, पाँच रजत र पाँच कास्य पदक हात पारेको छ।
गुल्मीदरबार गाउँपालिकाले तीन स्वर्ण, तीन रजत र पाँच कास्य पदक जितेको छ। रुरुक्षेत्र गाउँपालिकाले तीन स्वर्ण, एक रजत र तीन कास्य पदक जितेको छ। चन्द्रकोट गाउँपालिकाले दुई स्वर्ण, तीन रजत र नौ कास्य पदक जितेको छ।
प्रतियोगितामा रेसुंगा नगरपालिकाले दुई स्वर्ण, चार रजत र नौ कास्य पदक जितेको छ भने धुर्कोट गाउँपालिकाले दुई स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको छ।
छत्रकोट गाउँपालिकाले दुई स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको छ भने सत्यवती गाउँपालिकाले एक स्वर्ण र एक रजत पदक जितेको छ।
कालीगण्डकी गाउँपालिकाले एक स्वर्ण र दुई रजत पदक जितेको छ। जिल्लाको मालिका गाउँपालिका स्वर्ण पदकविहीन बनेको छ।
मालिकाले दुई रजत र तीन कास्य पदक जितेको छ। जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० जना खेलाडीले प्रतिस्पर्धा गरेका जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विकले जानकारी दिए।
उनका अनुसार ७६ जना खेलाडी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनौट भएका छन्। गुल्मीले भलिबल, कबड्डी, लङजम्प, तेक्वान्दो, कराते र उसु गरी छ विधाका खेलका लागि खेलाडीसमेत छनोट गरेको छ।