राष्ट्रपतिमा पौडेललाई मत माग्दै देउवाले पठाए ओलीलाई पत्र
राष्ट्रपति केवल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था भएकाले नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म बृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा रहेको उनको भनाई छ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। सोमबार सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोट पुगेर ओलीलाई पत्र बुझाएका हुन्।
राष्ट्रपति केवल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था भएकाले नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म बृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा रहेको उनको भनाई छ। पत्रमा लेखिएको छ, 'सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सुसंस्कृत अभ्यासको खोजी हुन्छ। विमतिबिच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छ। यही पृष्ठभुमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु।'
देउवाले भनेका छन्, 'सालिन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुन्छ नै संविधान प्रदत्त संवैधानिक दायित्व राजनैतिक आग्रहहरु भन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुन्छ। संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापुर्वक सम्पादन गर्दै देशको आर्थिक-सामाजिक रुपान्तरण तर्फ गतिशील ढंगले अघिबढ्नु हामी सबैको साझा दायित्व हो । यो दायित्व तपाईं हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु।'
एमाले अध्यक्ष ओलीले कांग्रेसबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई पत्राचार गर्दै राष्ट्रपतिका उम्मेदवार सुबास नेम्बाङलाई मत मागेका छन्। तर एकीकृत समाजवादीबाहेक अन्य दलका नेताहरुले भने सार्वजनिकरुपमा केहि बताएका छैनन्। शनिबार बिहानको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपति उम्मेदवार तय गर्दै कांग्रेस बाहेकका दललाई समर्थन गर्न आग्रह गर्ने निर्णय गरेको थियो।
आयोगको निर्वाचन कार्यतालिका अनुसार फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ।
राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्को ३३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको ५५० गरी ८८२ जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस पटक पनि संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ।
राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ। मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रपतिको निर्वाचनले वर्तमान सत्ता गठबन्धन टुटेको छ। पुष १० गते बालकोट बैठकमा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई दिने ‘सहमति’भएको थियो। तर, उक्त सहमतिविपरीत प्रचण्डले राष्ट्रपतिमा कांग्रेस नेता पौडेललाई साथ दिएका छन्। बालकोटमा बनेको गठबन्धन तोडेर प्रचण्डले फागुन १२ गते कांग्रेससहितको आठ दलको नयाँ समीकरण बनाएका हुन्।
नयाँ गठबन्धन बनेसँगै एमाले पनि सोमबार सरकारबाट बाहिरिएको छ। ओलीले पुस १० को सहमति कायम रहेको र त्यहीअनुसार नेम्बाङलाई उम्मेदवार बनाएको बताएका थिए।