मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ सार्वजनिक
काठमाडौं (अन्नपूर्ण) : नेपाल सरकारका पूर्वसचिव, समालोचक तथा निबन्धकार गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ (समालोचनासङ्ग्रह) कृति सार्वजनिक भएको छ । सुरभि साहित्य प्रतिष्ठानले ल्याएको उक्त कृति आइतबार साहित्यकार तथा पत्रकार विजय चालिसेको सभापतित्वमा राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा लेखक मैनालीले आफूले सानैदेखि कलम चलाए पनि साहित्यिक समालोचनाको सुरूआत एसएलसीपछि नै गरेको बताए । ‘अभिव्यञ्जना यात्राप्रति’ (समालोचनासङ्ग्रह) प्रकाशन गर्ने निधो भने झण्डै चार दशकअघि नै गरेको उनको भनाइ थियो । उनले भने, ‘यसमा २०४० देखि २०७९ सालसम्म लेखिएका समालोचनाहरू कृतिमा समावेश गरिएको छ । मेरो लेखन यात्रा निरन्तर चलिरहनेछ ।’ समालोचक मैनालीले यस कृतिमा विभिन्न विषयवस्तु, स्रष्टा तथा स्रष्टाका लेखबारे ३२ ओटा शीर्षकमा समालोचनात्मक लेख प्रस्तुत गरेका छन् ।
कार्यक्रममा कृतिबारे समालोचक डा. लेखप्रसाद निरौला र ठाकुर शर्माले समालोचनासङ्ग्रको विस्तृत समीक्षा गरेका थिए । समालोचक निरौलाले कृतिबारे बोल्दै यस कृतिमार्फत् मैनालीले नयाँ शिल्प, शैलीबाट पनि समालोचना गर्न सकिन्छ भन्ने देखाएको बताए । उनले भने, ‘यो विषयवस्तुका दृष्टिले मेघदूतदेखि अहिलेसम्मको लामो इतिहासलाई पनि समेट्नु भएको छ । लेखकले लेखकभन्दा पाठकलाई अझै माथिल्लो स्तरमा राखेर पाठकलाई अध्ययनशील बनाउने जमर्को गर्नुभएको छ ।’
समालोचक शर्माले यस कृतिमा समालोक मैनाली स्रष्टा र द्रष्टा दुवै भएको बताए । उनले भने, ‘यो कृतिमा लेखक स्रष्टा र द्रष्टा दुवै रूप रूपमा आउनु भएको छ । त्यसैले यो कृति विशिष्ट छ ।’ उनले समालोचनालाई शास्त्रीय रूपमा हेर्ने र प्राध्यापकीय कर्मका रूपमा लिने परम्पराबाट माथि उठेर पूर्वीय एवं पश्चात्य कला मान्यता, दृष्टिकोण, सिद्धान्त, प्रभाव र प्रयोजनको व्यापक आयाममा मैनालीले समालोचना गरेको बताएका थिए । त्यस्तै, कोइरालाले मैनालीका सिर्जना र पुुनर्सिर्जनामा समाजलाई मार्गदर्शन गर्ने ताकत रहेको, प्रज्ञा र अभिव्यञ्जनाको सन्तुलन रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा विद्वान, कूटनीतिज्ञ तथा भाषाविद् जयराज आचार्य, विशिष्ट अतिथिमा कवि तथा पूर्वमुख्य सचिव डा. विमल कोइराला, अतिथिमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेललगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण भने अच्युत घिमिरेले गरेका थिए ।