नदीमा फोहोर फाल्नेलाई कारबाही
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले सिर्सिया नदीमा फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ। उद्योगबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने तीनवटा ट्याक्टरलाई वीरगन्ज महानगरले नियन्त्रणमा लिएर कारबाही गरेको छ।
वीरगन्ज महानगरपालिका-२१ मा सिर्सिया नदीमा फोहोर फालिरहेको अवस्थामा फेला परेका ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो।
कारबाहीमा पर्नेमा प्र २-०३-००१ त ४८७, ना १८ त ६८८९ र ना ७ त ५३८९ रहेको महानगरपालिकाले जनाएको छ। तीनै वटा ट्याक्टरका चालकलाई पहिलो पटक एकेक हजार रुपैयाँ जरिवाना गरेर छाडिएको मेयर राजेशमान सिंहले जानकारी दिए।
महानगरपालिकाले सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियान चलाइरहेको छ। नदी तटमा रहेका उद्योगहरूले त्यहाँबाट निस्कने फोहोर जथाभावी फालिदिँदा सिर्सिया नदी प्रदूषित भएको छ।
महानगरले उद्योगहरूलाई पाँचवटा उद्योगलाई पत्र पठाएर चेतावनी पनि दिएको छ। वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा रहेका उद्योगकै कारण नदी प्रदूषण हुँदै आएको छ।