सगरमाथा आरोहणको त्यो ऐतिहासिक क्षण

सगरमाथा आरोहणको त्यो ऐतिहासिक क्षण
सुन्नुहोस्

काठमाडौं : उनले जीवनका ८९ वसन्त पार गरिसके तर हिमाल चढ्न छाडेका छैनन्। अक्सिजन बिना नै सगरमाथा आरोहण गरेका अष्ट्रियाका आरोही पिटर हाबेलर अझै पनि हिमालका चुचुरा चुम्न शारीरिकरूपमा सक्षम छन्। आफ्नो यो सक्षमतालाई उनी ‘युवावस्थाको स्रोत’ भन्न रुचाउँछन्। 

हाबेलर र उनका इटालियन साथी रेनहोल्ड मेस्नरले बिना अक्सिजन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रणलाई धेरैले असम्भव भनेर टिप्पणी गरेका थिए। तर उनीहरूले सन् १९७८ मा पूरक अक्सिजन बिना नै सगरमाथको चुचुरोमा पुगेर विश्वलाई नै चकित पारिदिए। जब उनीहरूका पाइला सगरमाथको शिखरमा पुगे आफूमा धेरै खुसी, केही दुःख र त्रासले घर गरेको हाबेलरले पश्चिमी अष्ट्रियाको आफ्नो निवासमा एएफपीलाई बताए। 

जीवनको नवौँ दशकमा प्रवेश गरेका हाबेलरले हिमाल आरोहणलाई निरन्तरता दिएका छन्। हिमाल र पहाडलाई उनी साथी भन्न रुचाउँछन्। हिमाल आरोहणबाट हीराका टुक्राभन्दा बहुमूल्य अनुभव आफूलाई प्राप्त भएको उनको भनाइ छ। जलवायु परिवर्तनले ठूलो समस्या खडा गरेकामा उनी चिन्तित छन्। आफ्नो जन्मभूमिका आल्पस हिमाल शृङ्खला हुन् वा अन्य महादेशका हिमाल बढ्दो तापक्रमका कारण हिमाल पग्लने कुराले उनलाई पोल्छ। 

दीगो पर्यटनका अभियन्ता हाबेलरले हिमाल पथप्रदर्शकका रूपमा काम थालेका थिए। उनका छोरो अहिले पनि आफ्नै जन्मभूमि मेरहोफेनमा स्थापना गरिएको स्की स्कूल सञ्चालन गरिरहेका छन्। दृढ संकल्प,लगन र परिश्रमका साथ प्रयास गरेमा कुनै पनि काम असम्भव केही छैन भन्ने देखाउन तथा अरुका निम्ति अवसरका ढोका खोल्ने उनको चाहना थियो। 

हाबेलर आफूलाई सामान्य मान्छे मान्छन्। सगरमाथा आरोहण गरेको केही वर्षपछिसम्म आफ्नै जन्मस्थानमा समय बिताएका उनलाई आठ हजार मिटरभन्दा माथिका हिमाल आरोहणको अभिलाषाले भने छाडेन। उनले अग्ला हिमालका टुप्पामा आफ्ना पाइला पुर्‍याए तर उनका साथमा सगरमाथा आरोही मित्र मेस्नर थिएनन्। 

अहिले ७८ वर्षीय मेस्नर विश्वका १४ वटा अग्ला चुचुरा चुम्ने पहिलो व्यक्ति बनेका छन्। अर्थात् उनले आठ हजार मिटरभन्दा अग्ला सबै हिमालको सफलतापूर्वक आरोहण गरेर कीर्तिमान कायम गरेका छन्। मेस्नरसँग मिलेर जे पनि गर्न सकिने हाबेलरको विश्वास छ। सगरमाथा शिखरमा उनले आफ्नो त्रास हटाउन र साहस भर्न गरेको सहयोगका निम्ति हाबेलरले कृतज्ञता व्यक्त गरे। 

आरोही मेस्नरले आफ्ना मित्र हेबलरसम्बन्धी पछिल्लो पुस्तकमा उनको प्रशंसा गरेका छन्। हेबलरलाई जस्तोसुकै परिस्थितिमा पनि संसारका जुनसुकै भू-भागका हिमाल सहजै चढ्नसक्ने क्षमता भएको व्यक्तिका रूपमा उनले चित्रण गरे। ७४ वर्षको उमेरमा हेबलरले स्विट्जरल्याण्डको इगर पर्वत उत्तरी मोहडाबाट सफल आरोहण गरेर सबैभन्दा वृद्ध पर्वतारोहीको कीर्तिमान पनि कायम गरे। उनले आफ्ना पूर्वशिष्य डेभिड लामासँग उक्त हिमाल आरोहण गरेका थिए। त्यतिबेला लामाको उमेर २६ वर्षमात्र थियो। 

क्यानडाको बान्फ राष्ट्रिय निकुञ्जमा हिमपहिरोमा परेर लामाको मृत्यु भएको थियो। लामाको निधनबाट दुःखित हेबलरका आँखा अहिले पनि रसाउँछन्। आरोही लामाले दुर्घटनामा ज्यान गुमाएपछि उनलाई थप सचेत बनाएको छ। यद्यपि उनले हिमाल आरोहणलाई जारी राखेका छन्। 

थोरै उपकरण र सामग्री अनि अतिकम बाह्य सहयोगबाटै उनी हिमालतर्फ हिँड्छन्। उनी आफूलाई सामान्य व्यक्तिका रूपमा प्रस्तुत गर्छन्। आफूसँग सधैं हिमाल आरोहणका निम्ति आवश्यक पर्ने आधारभूत सामग्रीमात्र हुने गरेको उनको भनाइ छ। आफ्नो झोलामा भारीभरकम सामान राख्न उनलाई मन लाग्दैन।   

आफ्ना मातापिता पर्वतारोही नभए पनि संसारको छानोमा बिना अक्सिजन पुग्न सफल भएकामा हेबलर गर्व गर्छन्। आफ्नो सफलताको श्रेय उनी पर्वतारोहणका पथप्रदर्शन र अन्यलाई दिन्छन्। अरुको सहयोगबाट पनि उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने दृष्टान्त उनले प्रस्तुत गरेका छन्। -रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.